ब्लगशनिवार, आषाढ १६, २०७५

तपाइँलाई राजा कस्तो लाग्छ ?

भैरव रिसाल

विश्वेश्वरप्रसाद कोइरालालाई रासस प्रयोग गरौं भन्ने लागेछ क्यार, हाम्रो पुनर्लेखनलाई मानेर पोलिटिक्समा राजनीति घुसाइदिए । 

कुरा २०३६ साल माघको हो, विश्वेश्वरप्रसाद कोइरालाले एक जना पत्रकार आएर आफूलाई ‘तपाईंलाई राजा कस्तो लाग्छ ?’ भनेर सोधेको बताए । 

राजा वीरेन्द्रले २०३६ जेठ १० गते बिहान ‘सुधार सहितको पञ्चायत कि बहुदल’, जनताले केf चाहने हो रोज्ने भनी जनमत संग्रहको घोषणा गरेका थिए । त्यसपछि राजनीतिक पार्टीहरूउपर लगाइएको प्रतिबन्ध निकै खुकुलो भयो ।

प्रतिबन्धित वा प्र. लेखेर पार्टीहरूका समाचार र नेताहरूका भाषणका सार प्रसारण गर्न सकिने भएको थियो । त्यस्ता संक्षिप्त भाषण राससले पनि दिन पाउने भयो । रत्नपार्कको खुलामञ्चमा प्र. नेपाली कांग्रेसको आमसभा थियो । पार्टी सभापति विश्वेश्वरप्रसादले त्यही सभालाई सम्बोधन गर्दा यो पनि भने, ‘तपाईंलाई राजा कस्तो लाग्छ भनेर सोध्ने पत्रकार अहिले यहीं छन् ।’

विश्वेश्वरप्रसाद कोइराला ।

म राससको प्रमुख समाचारदाता थिएँ । २०३६ पुस १४ गते राजा वीरेन्द्रको जन्मोत्सवको मौकामा ‘श्री ५ को व्यक्तित्व’ विषयमा ‘अपञ्च’ नेताहरूको पनि अन्तर्वार्ता वा प्रतिक्रिया लिएर सार्वजनिक गर्ने क्रममा विश्वेश्वरप्रसादलाई मैले नै त्यो प्रश्न गरेको थिएँ ।

उनको उत्तर थियो, ‘मैले मेरो सानु घरको सानु झ्यालबाट हेर्दा नेपाल कस्तो देख्छु, राजाले ठूलो दरबारको ठूलो झयालबाट हेर्दा पनि उस्तै देख्छन् । नेपालको अवस्था उही हो, स्थिति राम्रो छैन । यो वस्तुगत अवस्था राजाले अवश्य बुझेका छन् । अवस्था राम्रो छ भन्छन् भने नदेखेको कुरा भन्छन्, जुन राम्रो होइन ।’

मैैले मेरा अतिथिले ‘नदिनू’ भनेको कुरा नदिने, ‘मैले भनेको नखुलाउनू’ भनेपछि त्यो कसैलाई नभन्ने आचारसंहिता बनाएको थिएँ । समाचार सूत्रलाई गोप्य र सुरक्षित राख्दा सबैले पत्याउने, सबैको विश्वासिलो हुनसकेको थिएँ । विश्वेश्वर, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी लगायत नेताले मलाई पत्याउने त्यसैले होला । विश्वेश्वर, टंकप्रसाद आचार्य, ऋषिकेश शाहहरूको अन्तर्वार्ता लिन निकै अप्ठेरो थियो ।

उनीहरूका राजनीतिक कुरा वा अडान राससले पचाउने भाषामा व्यक्त गर्न पनि असजिलो । राससका सम्पादक साथीहरूले राजा सम्बन्धी विश्वेश्वरको अन्तर्वार्ता यत्तिकै दिन सकिंदैन, पुनर्लेखन गर्नुपर्छ भनी अड्डी लिए । ‘उहाँको मन्तव्य त्यही हो, के लेख्ने त ? तपाईंहरू नै पुनर्लेखन गर्नोस्, मेरो बुद्धिले भ्याएन’ भनेपछि उनीहरूले नै लेखे ।

सम्पादकहरूले भरमारसँगले द्वैर्थक (दुई अर्थ लाग्ने) शब्दहरू प्रयोग गरे । अनि विश्वेश्वरप्रसादलाई मैले फोन गरेर ‘सम्पादकहरू त्यो अघिको भनाइ दुई/तीन ठाउँमा ‘टेक्निकल्ली’ मिलेन भन्छन् अनि फोन गरेको’ भनें । उनले कस्तो लेख्नु भो सुनाउनुस् त भनेपछि मैले पुनर्लिखित वाक्यहरू विस्तारै पढें । उनले एकपल्ट फेरि पढ्न भने । त्यसपछि हाँस्दै ‘अब टेक्निकल्ली मिल्ने भो त ?’ भनेर मलाई उडाए पनि ।

राससले ती दोहोरो अर्थ लाग्ने शब्दहरूको आफ्नो अनुकूल अर्थ लगायो । प्रेसले कटाक्ष गरेपछि विश्वेश्वरले पनि आफ्नै अर्थ लाउँदै स्पष्ट पारे ।

विश्वेश्वरप्रसाद जस्ता नेताले हाम्रो छल नीति नबुझने कुरै थिएन । मैले शब्दहरू ‘टेक्निकल्ली’ मिलेन भन्दा उनले बुझ्हिाले । हामीले राजनीतिमा पोलिटिक्स घुसाएका थियौं । विश्वेश्वरलाई पनि रासस प्रयोग गर्न मन लागेछ क्यार, पुनर्लेखनलाई मानेर पोलिटिक्समा राजनीति घुसाइदिएका थिए ।

खुलामञ्चको आमसभामा विश्वेश्वरप्रसादले मेरो नाम लिएनन् । म यति फुलेल भएँ, त्यसको वर्णनै नगरुँ । त्यो उमेरको आँखाले त्यत्रो भीडमा मलाई कसरी देखेर ठम्याए, म छक्क परें । यस्ता घटनाबाट पत्रकार हुन पाउँदाको गर्वानुभूति हुन्छ ।

मलाई अन्तर्वार्ता वा प्रतिक्रिया दिंदा विश्वेश्वरप्रसाद सकेसम्म राससले प्रयोग गर्न, पचाउन सक्ने सकभर दुई–तीन अर्थ लगाउन सकिने शब्द र वाक्य प्रयोग गर्थे । उनी पूरा राजनीतिक मान्छे भएकोले कसलाई के भन्दा सजिलो–असजिलो के पर्छ बुझथे । परिपक्व राजनेताहरूमा यस्तो गुण हुनु स्वाभाविक हो ।

प्रतिकृया दिनुहोस