टिप्पणीशनिवार, आषाढ १६, २०७५

हेलम्बुको सही बाटो

मिलन बगाले

पूर्वाधारजन्य कष्ट झेलेरै भए पनि धरमर, अलमल र अन्योलको भारी नबोकी हेलम्बु हिंड्नैपर्ने बाटोमा हिंड्दैछ ।

हेलम्बुको मेलम्चीघ्याङ । तस्वीरहरु सौजन्यः किरण जोशी

भूकम्प अति प्रभावित १७ जिल्लाका अधिकांश गाउँबस्ती डुल्दा भेटिने साझा विम्ब हो— ढलानका पटुका ठाउँ–ठाउँमा बाँधेका तर घर भन्नै नसुहाउने असाध्यै साना एक/दुई कोठे घर ।

च्यातिएको पाल र थोत्रिएको टहरोभित्र अलमल्ल परेका घरधनी । टीनका टहरामा हैरानी खेपेर पढिरहेका बालबालिका । यसबीच थरीथरी आयोजना र परियोजनाले गुल्जार बनिरहेका रिसोर्ट र होटलहरू । 

‘स्वर्गकै टुक्रा’ भन्न मिल्ने सुन्दर हेलम्बु गाउँपालिकाका बस्तीहरूमा भौतिक पूर्वाधार योजना बनाउने मेसोमा तीन दिनको पैदल यात्रामा भने मन अमिलो भएन । गाउँपालिकाकी सामाजिक परिचालक विमला गजुरेलको पथप्रदर्शनमा मित्र किरणमान जोशीसँग त्यहाँ पुग्दा भुइँचालोको हैन, स्थानीयवासी आफ्नै घर बनाइरहेका भेटिए ।

नाकोते—मेलम्चीघ्याङ सडकखण्डको चोक्फुमा बनाइएको फड्के ।

विद्यालय, धार्मिक संरचना (गुम्बादेखि गुफासम्म) उभिंदै गरेका, कति त उभिइसकेका पनि भेटिए । जनप्रतिनिधिले उनीहरूको होस्टेमा हैसे गरिरहेको महसूस भयो । र, त तङ्ग्रिंदैछ हेलम्बुको पर्यटन ।

साविकका हेलम्बु, किउल, पाल्चोक, महाँकाल र इचोक गाविस गाभिएर बनेको हेलम्बु गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको पश्चिममा पर्छ । समुद्री सतहबाट करीब १००० देखि ५००० मिटरसम्मको उँचाइमा रहेको यो गाउँपालिकाको कुल जनसंख्या १७ हजार ६७१ रहेको छ ।

गाउँपालिकाको माथिल्लो भू–भागमा ह्योल्मो र तामाङ जातिको बाहुल्य छ भने तल्लो क्षेत्रमा ब्राह्मण, क्षेत्री, दमाई, कामी आदि जातिको बसोबास छ । आमा याङ्री, मेलम्चीघ्याङ, तार्केघ्याङ, ककनी, घोप्टेघ्याङ यहाँका प्रमुख पर्यटकीय केन्द्र हुन् । यसबाहेक ऐतिहासिक महŒवका गुम्बा (घ्याङ), माने, गुफा पनि थुप्रै छन् ।

योल्मो (ह्योल्मो) जातिको मुख्य बसोबास थलो योल्मो क्षेत्र (हेलम्बु) को नामकरणबारे विभिन्न मत छन् । दावा साङ्वो लामा लिखित योल्मापा देवा ङ्येतोङ वंशको इतिहास (२०६२) पुस्तकका अनुसार, यो ठाउँ नेछेना वेयुल ह्योल्मो हो ।

नेछेनाको अर्थ महातीर्थस्थल, वेयुलको अर्थ अमूल्य चीज लुकेको ठाउँ, ह्योल्को अर्थ वरिपरि हिमालले घेरिएको स्थान र मोको अर्थ देवी अर्थात् आमा याङ्रीद्वारा रेखदेख गरिएको क्षेत्र भन्ने बुझ्न्छि । त्यसैबाट हेलम्बु हुन गएको भन्ने मत बलियो छ ।

शिक्षाको उज्यालो
हेलम्बु क्षेत्रको पुरानो बस्ती तिम्बु हो भने पछिल्लो मेलम्चीघ्याङ । तिम्बुस्थित गोल्मादेवी माविको भवन कारितास स्वीट्जरल्याण्डको सहयोगमा असाध्यै सुन्दर शैलीमा पुनर्निर्माण भएको छ ।

सर्कथली प्रावि भवन निर्माणाधीन अवस्थामा रहेकोले १ देखि ५ कक्षासम्मका विद्यार्थी अस्थायी सिकाइ केन्द्रको साँघुरो हलमा पढ्न बाध्य छन् ।

मेलम्चीघ्याङस्थित मेलम्चीघ्याङ आवासीय मावि जिल्लामा मात्र होइन, पढाइको गुणस्तर र व्यवस्थापनका लागि मुलुककै नमूना विद्यालय हो, भलै सरकारको नमूना विद्यालयको परिभाषामा यो विद्यालय अटाएको छैन । मोरङ, धनुषा, झापा, रसुवादेखि काठमाडौंसम्मका बालबालिका मेलम्चीघ्याङमा भविष्यको गोरेटो कोरिरहेका छन् ।

धेरै प्रख्यात रिम्पोछेको तपस्यास्थल हो, मेलम्चीघ्याङ । मेलम्चीघ्याङ माविका प्रअ पूर्ण गौतम यतिबेला ‘रिम्पोछे’ कै भूमिकामा छन् । काभ्रेका उनी यहींका बासिन्दा भएका छन्, रातो–दिन खटिन्छन् ।

अंग्रेजी, नेपाली र ह्योल्मो भाषा पढाइने त्यो विद्यालयमा शतप्रतिशत विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण हुन्छन् । २०६३ सालदेखिको यो उपलब्धि अहिलेसम्म जारी छ । अभिभावक यहाँ छोराछोरी पढाउन मरिहत्ते गर्छन् । छात्रावासमा बसेर पढेवापत मासिक करीब रु.२ हजार बाहेक अरु शुल्क लाग्दैन । भूकम्पले विद्यालय ध्वस्त भएपछि धेरै दाता जुटाएर अस्थायी होस्टल, भवनहरू बनाइएको छ ।

सुविधासम्पन्न नयाँ भवनको जग कारितास स्वीट्जरल्याण्डले हालिसकेको छ भने दुई वटा सुन्दर छात्रावास भवन तयार भइसके, कम्युनिटी एक्सन, नेपाल संस्थाको सहयोगमा । प्रअ गौतमसँग समर्पित शिक्षकहरूको टीम छ ।

तर सर्कथली आइपुग्दा चाहिं बेग्लै चित्र देखियो । भूकम्पले विद्यालय भवन भत्काएपछि प्रअ सोमहरि चौलागाईं सहित तीन जना शिक्षक असाध्यै सानो र कमजोर टहरामा १ देखि ५ कक्षासम्मका १८ जना विद्यार्थीलाई एकैठाउँमा राखेर पढाइरहेका थिए । धन्न सरर्र हावा चल्दो रहेछ, नत्र कसरी पढ्न, पढाउन सक्नु ?

हेलम्बुको तार्केघ्याङ ।

विद्यालयमा अस्थायी सिकाइ केन्द्र नबनेको हैन । तर केन्द्र निर्माण सामग्री राख्ने ठाउँ तथा निर्माणकर्मीको आवास बनेको छ । अब भदौदेखि भने शिक्षक र विद्यार्थीको कहर सकिनेछ र उनीहरू रहरलाग्दो नयाँ कक्षाकोठामा फर्कनेछन् ।

भूकम्पपछि धेरै अभिभावकले छोराछोरी पढाउन शहर पुर्‍याएका छन् । सर्कथली भन्दा केही घण्टाको दूरीमा रहेको तार्केघ्याङको गोरखनाथ प्राविमा २० जना विद्यार्थी छन् भने नागोतेको पेमाछोलिङ निमाविमा ५० जना । धाङयुलको प्रावि त विद्यार्थी अभावमा बन्द नै भयो ।

घट्दो विद्यार्थी, काटिंदो शिक्षक कोटाले चिन्तित गाउँपालिकाले व्यवस्थित संरचना र सक्षम टीममा धेनथाङमा नमूना आवासीय विद्यालय बनाउने खाका कोरिसकेको छ । गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, वडाध्यक्ष मिङमार लामा सहित यसका लागि कटिबद्ध देखिन्छन् ।

घरजस्ता र घरजत्रा
हेलम्बु सेरोफेरोका घ्याङयुल, तार्केघ्याङ, मेलम्चीघ्याङ आदि कैयन् प्राचीन बस्तीका घर (खाङ्बा) माहुरीको गोलाजस्तै थिए । १२—१४ हात चौडाइ र १८—२० हात लम्बाइ, डेढ हात मोटाइको गारो, टीनका छाना भएका एकनासका, मिलेका र लोभलाग्दा । जहाँ घरका झ्याल (कार्कुङ) र ढोका (घो) मा मिहिन तरीकाले बुट्टा खोपिएको हुन्थ्यो, जसलाई ह्योल्मो भाषामा ‘मिर्चा कुम्बा’ डिजाइन भनिन्छ ।

मेलम्चीघ्याङ माविको नवनिर्मित छात्रावास ।

भुइँतला होकाङ र माथिल्लो तला साकाङ । भुइँतलामा खाना खाने, सुत्ने र पूजापाठ गर्ने हल बनाइन्थ्यो । काठको भुइँ, काठको भित्ता र काठको सिलिङमा भाँडाकुँडा सजावट पनि उत्तिकै मनमोहक । भाँडा राख्ने दराज (छिटी) र खाना खाने होचो टेबुल (सोल्जो) ले मिठास थप्थ्यो ।

मौरीका घारजस्ता यस्ता घर भूकम्पमा पाताल भए । नयाँ अधिकांश घर ढलानवाला छन् ।

व्यक्तिगत घरलाई कित्ता, बित्ता र फित्ताले नापेर काठमाडौंको डिजाइन पछ्याउन थालिएपछि अन्यत्र जस्तै यहाँको मौलिकताको जग भने हल्लिएको छ । तर राम्रो चाहिं घर भन्नै नमिल्ने घर यहाँ बनेका छैनन् । स–साना एक कोठे घर यहाँ देख्न पाइँदैन । आवरण र आकार प्रकारको मौलिकता बचाउन नसके पनि ढलान होस् या परम्परागत घर, भित्रको वनावट र सजावटमा ह्योल्मो र रैथाने संस्कृतिको छाप भेटिन्छ ।

गाउँपालिकाले मौलिक वास्तुकला बचाउन प्रोत्साहन गरिरहेको छ । छरिएका बस्तीमा बाटो, बिजुली, विद्यालय जस्ता पूर्वाधार अभाव भएकोले गाउँपालिकाकै सहयोगमा पुरानै मिर्चा कुम्बा शैलीमा तेम्बाथाङमा एकीकृत बस्तीको निर्माण भइरहेको छ ।

मेलम्चीघ्याङका कामी शेर्पा गाउँमा बुट्टा कुँद्न सिपालु पुराना कालिगडको पनि अभाव भएको बताउँछन् । उनले आफ्नो नयाँ घर केही हदसम्म पुरानै शैलीमा बनाएका छन् तर चुली गारो हलुका बनाउने नाममा जस्तापाता ठोक्ने पुनर्निर्माण सम्बन्धी चलनले सुन्दरता खोसेको छ ।

बचेको एउटा पुरानो झ्याल भने नयाँ घरमा हालेका छन् । हेल्भेटासको प्राविधिक सहयोगमा बनेका घरमा चाहिं ढुंगाको गारो लगाएर काठको नस हालिएको छ । एककोठे वा दुई कोठे हैन, परिवारका सदस्य संख्या अनुसारको घर बनाइएकोले यहाँको पुनर्निर्माण गतिविधिले निराश चाहिं बनाउँदैन ।

निर्माण प्रविधि, समग्र तला संयोजन शैली, आकार–प्रकार र सामग्री नफेरेरै सिंगो हेलम्बु सेरोफेरोमै भूकम्पप्रतिरोधी घर बनाउन सकिन्थ्यो, तर अब यो बहस पुरानो भइसक्यो । अब बनिसकेका घर यथासम्भव सुधार गर्ने, नयाँ घर बनाउनेलाई मौलिकता बचाउने गरी प्रोत्साहन गर्नेमा गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र उनको टीम लागेको छ ।

अहिले किउल बगर (बजार) को भाडाको घरमा गाउँपालिका कार्यालय बसेको छ । तर, आफ्नै कार्यकालभित्रै ह्योल्मो संस्कृतिको प्रतिविम्ब झ्ल्कने व्यवस्थित बस्तीको समग्र गुरुयोजना निमासँग छ ।

र, यसका लागि किउल बगरबाट ३० मिनेट पैदल दूरीमा पुगिने बाहुन ढोडेनीको पाखा छनोटमा परेको छ । बेवारिसे तर रमणीय यो पाखोबाट हिमालका साथै, गाउँपालिकाका अधिकांश वडा पनि देखिन्छ । गुरुयोजना अन्तर्गत अहिले बाटो बनाउन डोजर पनि पुगिसकेको छ ।

बाटो–घाटोको हैरानी
काठमाडौंबाट तिम्बुसम्म दैनिक १०–१२ वटा बस चलिरहेका छन् । अधिकांश बाटा साँघुरा, ठाडा र भिराला भएकोले यात्रु जोखिमयुक्त यात्रा गर्न बाध्य छन् । कच्ची बाटोकै कारण तार्केघ्याङ, नाकोते, मेलम्चीघ्याङ, सकर्थली आदिमा बर्खामा मोटर चल्न सक्दैनन् । पक्की पुलको अभाव छ ।

स्थानीयको सहज जीवनयापन र पर्यटकको पहुँचका लागि राम्रो बाटोको विकल्प छैन । तर, त्यससँगै पदमार्ग पनि व्यवस्थित गरिनुपर्छ । ढुंगा छाप्ने, सार्वजनिक शौचालय र धाराहरूको व्यवस्था गर्ने, ओत लाग्ने, दृश्यावलोकन गर्ने स्थान, झेलुंगे पुल, संकेतपाटी बनाउने जस्ता काम गरिनुपर्छ ।

करीब एक साताको हेलम्बु बसाइमा थाहा भयो– आफ्नो थातथलो, सभ्यता र संस्कृतिलाई माया गर्ने जागरुक स्थानीयवासी, समर्पित जनप्रतिनिधिका कारण उसै पनि प्राकृतिक सौन्दर्यले पूर्ण हेलम्बु समृद्धिको बाटोमा हिंड्दैछ । शिक्षा, संस्कृति, पर्यटनको त्रिवेणी हेलम्बुमा असरल्ल पुनर्निर्माणको डोब र डाम हैन, राम्ररी उभिंदै र तङ्ग्रिंदै गरेको दृश्य देखिन्छ । फेरि पनि ह्योल्मो जातिको विशिष्ट निर्माण संस्कृतिको छाप चाहिं मेटिन नदिन बेलैमा सचेत हुनैपर्छ ।

प्रतिकृया दिनुहोस