नेपाल एसिया क्रिकेट कपमा छनौट
नेपाली राष्ट्रिय महिला क्रिकेट टिम एसिया क्रिकेट कपका लागि छनौट भएको छ । आईसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटका लागि हङकङ पुगेको टीम नेपाल समूह उपविजेता हुँदै एसिया कपका लागि छानिएको हो ।
आगामी नोभेम्बर–डिसेम्बरमा थाइल्याण्डमा हुने एसिया कपमा नेपालले आयोजक थाइल्याण्ड तथा टेष्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
२९ असोजमा भएको आफ्नो अन्तिम खेलमा चीनलाई चार विकेटले पराजित गरेर नेपालल समूह उपविजेता बनेको हो । तीन जित र तीन हार व्यवहोरेको नेपालले ६ अंक जोडेको हो ।
१० अंक सहित शीर्षस्थानमा रहेको थाईल्याण्डले भने आईसीसी महिला विश्वकप २०१७ विश्वव्यापी छनोटमा स्थान बनाउन सफल भएको छ । चीन र हङकङले समान चार/चार अंक जोडेको थियो ।
मोङ कोक मैदानमा टस जितेर ब्याटीङ रोजेको चीनले दिएको ८६ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा १५ रन बाँकी छँदै पुरा गरेको हो । प्लेर अफ दिन म्याच रुविना क्षेत्रीले तीन चौका सहित नट आउट ९ बलमा १३ रन जोडिन् । उनले दुई विकेट पनि लिएकी थिइन । यस्तै एक–एक चौका सहित नेरी थापाले २२ र सिता राना मगरले २० रनको योगदानले नेपालको जित सम्भव भएको थियो ।