खेलकुदशुक्रवार, आषाढ १५, २०७५

जब मैदानमा पेस्तोल तेर्स्याइयो

नवीन अर्याल

६० मिनेटसम्म गोलरहित नेपाल र अल्जेरियाबीचको खेल एकाएक शारीरिक भिडन्तमा परिणत भयो । अन्ततः मलेशियाली सुरक्षाकर्मी नै मैदानभित्र पसे र नेपाली खेलाडीलाई कञ्चटमा पेस्तोल ताकेर झगडा नियन्त्रणमा लिए ।

सन् १९८३ को मर्डेका कपमा भाग लिएको नेपाली टोली । घेरामा कप्तान रुपक शर्मा । सौजन्यः राजु शाक्य

सन् १९५७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि मलेशियाले फूटबलको ठूलो उत्सव गराउने घोषणा गर्‍यो । विदेशी टोली समेतलाई निम्त्याइने गरी आयोजना गरिने प्रतियोगिताको नाम थियो– मर्डेका कप । 

यही प्रतियोगिताको २७औं संस्करणमा भाग लिन नेपाली फूटबल टोली सन् १९८३ मा मलेशिया पुगेको थियो । जहाँ नेपाली टोलीले एकैसाथ तीन फरक अनुभव आत्मसात् गर्न पुग्यो ।

प्रतियोगितामा नेपालले सन् १९८२ मा पहिलोपल्ट विश्वकप खेलेको अफ्रिकी राष्ट्र अल्जेरियासँग मात्र होइन, अर्जेन्टिना र उत्तर कोरियाली टीमसँग पनि भिड्ने मौका पाएको थियो । यति ठूला देशहरूसँग नेपालको यो पहिलो जम्काभेट थियो ।

तर, धेरैको अनुमान विपरीत, नेपालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्‍यो, जुन आजसम्मकै अन्तर्राष्ट्रिय प्रतियोगितामध्येको अब्बल मानिन्छ । त्यही प्रतियोगिता अन्तर्गत अल्जेरियाविरुद्ध खेलको अनुभव सम्झेर अहिले पनि खेलाडीहरू उत्तेजित हुन्छन् । भन्छन्, “हैट ! यस्तो पनि भोगियो !”

२८ सेप्टेम्बर १९८३ । सिंगापुरको सीमा नजिकैको जोहर बारु रंगशाला । साँझ ६ बजे । अल्जेरिया विरूद्ध समूह चरणको अन्तिम खेलका लागि नेपाली खेलाडी मैदानतर्फ लाग्दा हल्का पानी परिरहेको थियो ।

मर्डेका कपको उद्घाटनको अवसरमा बेलुन उडाउँदै ।

नेपालले समूह चरणको पहिलो खेलमा आयोजक मलेशियासँग ७–० गोल खाएको थियो । नेपाली टोली मलेशियाको राजधानी क्वालालम्पुर पुग्दा रातको एक बजिसकेको थियो । भोलिपल्ट बिहानै उठेर खेलाडीहरू थप एक घण्टा हवाई यात्राबाट कोटा बारु पुगे । लगातारको हवाई यात्राले खेलाडीलाई ‘जेट–ल्याग’ भएको थियो । खेल शुरु हुनु अगाडि नै स्ट्राइकर गणेश थापा ‘चेन्जिङ रुम’ मै बेहोश भएका थिए ।

गोलकिपर लोकबहादुर शाही ‘बल नै तीन–चार वटा देख्छु’ भनिरहेका थिए । नेपाली टीमका चिकित्सक अजय राणा अहिले पनि त्यो घटना सम्झन्छन्, “जेट–ल्यागका कारण नरेन्द्र श्रेष्ठले हाफ टाइमपछि उल्टी नै गर्‍यो ।” थकानकै कारण नेपालले अपेक्षित प्रदर्शन गर्न नसकेको देखियो ।

दोस्रो खेल सेरेमबानामा बाङ्लादेश विरुद्ध थियो । तर, मौसम नेपालका खेलाडी प्रतिकूल बन्यो । मैदानको तापक्रम ४० डिग्री सेन्टिग्रेड थियो । फेरि आयोजकले खेलको समय दिउँसो दुई बजे जुराएका थिए । बंगालीहरू त्यसै पनि गर्मीमै खेल्ने बानी । अन्ततः नेपाल १–० गोलले पराजित भयो । 

नेपालको सबैभन्दा तारिफ भएको खेल थियो, तेस्रो– उत्तरकोरिया विरूद्ध । उत्तरकोरियाले त्यो वर्षको मर्डेका कपमा दुई वटा टीम उतारेको थियो । १९८८ को ओलम्पिकलाई लक्ष्य बनाएर तयार गरिएको युवा टोली, जुन अर्को समूहमा थियो । नेपालसँगको दोस्रो टोलीमा भने राष्ट्रिय र क्लबस्तरका खेलाडी सम्मिलित थिए ।

त्यसैले यो टीम बलियो मात्र थिएन, उपाधिको दाबेदार नै मानिएको थियो । तर, जोहर बारुमा भएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो, बलियो विपक्षीलाई ८७ मिनेटसम्म बराबरीमा रोक्न सफल भयो । नेपाल १–० ले पराजित भयो तर भोलिपल्ट स्थानीय अखबारमा नेपाली खेलाडीको प्रशंसामा समाचार नै छापियो, ‘टाइगर फ्रम नेपाल’ भन्दै ।

नेपालले चौथो खेल अर्जेन्टिनाको ब्युनर्सआयर्स शहरको टीम विरूद्ध खेल्यो । यस टीममा इङ्गलिस क्लब आर्सनलबाट खेल्ने डि लुइस, अर्जेन्टिनी क्लब डेपोर्टिभो इस्पानिओलका लियान्द्रो पेरेज, कार्लोस टेभेज र एरिएल ओर्टेगा जस्ता विख्यात खेलाडी जन्माएको अल ब्वाइज क्लबका मोरा, ब्युनर्सआयर्सका मार्सेलो भाज्क्युज जस्ता स्तरीय खेलाडी थिए ।

विख्यात टीम भएको हुनाले नेपाल धूलिसात् हुन्छ भन्ने लख काटिएको थियो । तर, नेपालले ३–० गोलमै रोक्यो । नेपाल विरूद्ध जितसँगै समूह ‘क’ बाट अर्जेन्टिना सेमिफाइनल पुग्ने पक्का भइसकेको थियो । तर, अर्को टोलीको हकमा निर्णय हुन बाँकी थियो । दोस्रो टोलीको रूपमा अल्जेरिया र दक्षिणकोरियाबीच कडा टक्कर थियो ।

विपक्षी टोलीविरूद्ध कम गोल गरेको हुनाले अल्जेरिया थप दबाबमा थियो । चार खेल हुँदासम्म दक्षिणकोरियाले ६ गोल गरेको थियो भने अल्जेरियाले ४ । त्यसैले सेमिफाइनल प्रवेशका लागि नेपाल विरूद्ध अन्तिम खेलमा कम्तीमा पनि आधा दर्जन गोल हान्ने उद्देश्य लिएर अल्जेरिया मैदानमा उत्रिएको थियो ।

तर, धीरेन्द्र प्रधान, श्रीराम रञ्जितकार र सुरेश पन्थी जस्ता रक्षापंक्तिले अल्जेरियाको अग्रपंक्तिलाई हल्लिन दिएनन् । पहिलो हाफको खेल गोलरहित बराबरीमा टुंगियो । अझ, खेल शुरु भएको १० मिनेटमा मिडफिल्डर कृष्ण थापाले गोल गर्ने सुनौलो मौका गुमाए । मानबहादुर मल्लले ‘राइट विङ’ बाट गरेको क्रस बल अल्जेरियाली गोलकिपरलाई काटेर गोल पोस्टभन्दा तीन यार्ड नजिकै पुगेको थियो ।

त्यतिबेला थापाले छोएको भए मात्र पनि गोल हुने थियो । तर, उनले बजारेर हान्न खोज्दा बल गोल पोस्टमा ठोक्किएर फर्कियो । “म अहिले पनि त्यो बल सम्झेर विचलित हुन्छु । छोएको भए पुग्ने । गोल भएको भए खेलले अर्कै रूप लिने थियो” कृष्ण थापा भन्छन् । 

मर्डेका कपमा सहभागी नेपाली खेलाडी कृष्ण थापा, वाइबी घले र भक्तराज कर्णिकार (क्रमशः बायाँबाट) सौजन्यः कृष्ण थापा

पहिलो हाफमा गोल गर्न नसकेपछि अल्जेरियालीमा तनाव बढेको थियो । दोस्रो हाफको १५ मिनेटसम्म पनि गोल गर्न नसकेपछि उग्र अल्जेरियालीहरू कहिले बल ट्याकल गर्ने नेपाली खेलाडीसँग झगडा गर्न जान्थे त कहिले विना कारण निहुँ खोज्थे । “हामीलाई उत्तेजित पार्न बेला–बेला हात पनि छोड्थे”, डिफेन्डर रञ्जितकार सम्झन्छन् ।

यतिसम्म सबै ठीकठाक चलिरहेको थियो । तर, दोस्रो हाफको १५ मिनेटपछि खेलले अर्कै मोड लियो । नेपाली कप्तान रुपकराज शर्माले मिडबाट बल विपक्षी हाफमा के लैजाँदै थिए, अल्जेरियाका खेलाडीले रुपकको कपाल नै तानिदिए । उत्तेजित रुपकले फरक्क फर्केर ती खेलाडीलाई एक मुक्का हानिदिए ।

यसपछि के चाहियो ! अल्जेरियाका खेलाडीहरू रुपकलाई कुट्न मिडतर्फ हान्निए । नेपाली खेलाडी पनि आफ्ना कप्तान जोगाउन कर्नर किक हान्ने ठाउँमा राखिएको झण्डाको डण्डा बोकेर दौडिए ।

करीब १० मिनेटसम्म स्टेडियम ‘युद्ध मैदान’ मा परिणत भयो । रेफ्रीले समेत झगडा छुट्याउन नसकेपछि मलेशियन सुरक्षाकर्मी नै मैदान प्रवेश गरे । बदलाको आक्रोशमा तात्तिएका नेपाली मिडफिल्डर वाइबी घलेलाई रोक्न प्रहरीले कञ्चटमै पेस्तोल तेर्साए । पहिलोपल्ट राष्ट्रिय टोलीसँग भ्रमण गरिरहेका चिकित्सक राणालाई पनि प्रहरीले पेस्तोल देखाएरै मैदान बाहिर निकालेका थिए । “त्यो घटना सम्झिंदा अहिले पनि रमाइलो लाग्छ ।

उनीहरू पहिलेदेखि नै हामीलाई उत्तेजित पार्न मुख छोड्ने र हात हाल्ने गरिरहेका थिए । अब कप्तानकै कपाल तानेपछि सहने कुरै भएन”, घले भन्छन् । तर, यति ठूलो झगडा हुँदा पनि कसैलाई रातो कार्ड देखाइएन ।

२० मिनेट जति खेल रोकियो । अन्त्यतिर अल्जेरियाले दुई गोल गर्‍यो, जसमा एक गोल पेनाल्टीबाट भएको थियो । अन्ततः अल्जेरिया दोस्रो हुँदै सेमिफाइनल प्रवेश गर्‍यो । रोचक कुरा त, प्रतियोगिताको फाइनल नेपालकै समूहका अर्जेन्टिना र अल्जेरियाबीच भयो र अर्जेन्टिना २–१ ले विजयी हुँदै उपाधि जित्न सफल भयो ।

प्रतिकृया दिनुहोस