ह्यारी केन (इङ्ल्यान्ड)
विश्वकपको सबैभन्दा रोचक भिडन्त मानिएको इङ्ल्यान्ड र बेल्जियमबीच समूह ‘जी’ को अन्तिम खेल आज हुँदैछ। यो खेलमा स्वभाविकरुपमा आम फुटबल प्रेमीको नजर इङ्लिस स्ट्राइकर ह्यारी केन माथि हुनेछ।
टोटेनहमका २४ वर्षीय यी व्यवसायिक खेलाडीले यो विश्वकपमा ५ गोल गरिसकेका छन्। उनले पानामाविरूद्ध ६–१ ले विजयी खेलमा ह्याट्रिक गोल गरेका थिए। यसअघि ट्युनिसियाविरूद्ध २–१ ले विजयी खेलमा पनि उनले दुवै गोल गरेका थिए।
केनले टोटेनहमबाट एक सय गोल गरिसकेका छन् र उनी आफ्नो क्लबबाट सर्वाधिक गोल गर्ने छैटौं खेलाडी पनि हुन्। उनको क्षमताको कदर गर्दै इङ्ल्यान्डले यो विश्वकपमा उनलाई कप्तानको पदभार पनि सुम्पिएको छ।