ब्लगबुधवार, आषाढ १३, २०७५

फोटोग्राफीको लोकतन्त्रीकरण

कनकमणि दीक्षित

सेल्फीको जमानामा छौं हामी, तर डिजिटल फोटोग्राफीको फराकिला सम्भावना पनि खोतलिंदैछन् ।

- कनकमणि दीक्षित

तस्वीर: रुपा जोशी

एक शताब्दीअघि नेपालमा फोटोग्राफी भनेको राणा दरबारसँग सम्बन्धित सम्भ्रान्तहरूको ‘हबी’ थियो । विस्तारै नेगेटिभ फिल्म तथा क्यामेराको विकासक्रममा फोटोग्राफी दुनियाँदारको पहुँचमा पर्दै गयो ।

राणा दरबारसँग सामीप्य राखेको मेरो परिवारमा पनि हजुरबा र बुवा क्यामेरा चलाउनुहुन्थ्यो । म पनि फिल्म धुने डार्क रुम, चाहिने सामग्रीहरू र केमिकल (एन्लार्जर, हाइपो, डिभेलपर इत्यादि) सँग सानैमा परिचित भएँ । १२० र ३६ एमएम फिल्म रोलसँग खेल्न पाएँ, ब्ल्याक एण्ड ह्वाइटको जमानामा । 

आजभोलि फोटोग्राफीको बित्पात प्रयोग छ । मोबाइल फोन हुने जोकोहीले तस्वीर खिच्न मात्र होइन, बटन दबाएर तत्काल ‘सेयर’ समेत गर्न सकेको नै केही वर्ष भइसक्यो । यसलाई भन्नुपर्‍यो फोटोग्राफीको लोकतन्त्रीकरण ।

एक दशकयताको अवस्था नियाले पुग्छ– क्यामेरा प्रविधि, सफ्टवेयर तथा इनरनेटको उपलब्धिले गर्दा हामी कहाँबाट कहाँ आइपुग्यौं । डिजिटल फोटोग्राफीको यस्तो सार्वजनिकीकरणले परिवार, इष्टमित्र तथा बृहत् समाजसँग जोकोहीको सम्पर्क बढाएको छ ।

तस्वीर खिच्ने र सेयर गर्ने त के भनौं, हेर्ने तरिका समेत बदलिएको छ । ७–८ वर्षअघिसम्म पनि फोटो अल्बम राख्ने चलन थियो । थोरै फोटो जतनका साथ अल्बममा साँचिन्थ्यो, परिवार सदस्य वा पाहुनाले बेलाबखत पल्टाएर हेर्ने गरी ।

आजभोलि तस्वीरहरूले अल्बम देख्न पाउँदैनन्, तर डिजिटल प्रविधिद्वारा संसारसामु प्रस्तुत गर्न सकिन्छ । भिडियो समेतले यही बाटो लिएको छ ।

फोटोग्राफीको एकातर्फ विषयवस्तु र अर्कोतर्फ प्रस्तुतिको सम्भावना पनि हजारौं गुणा बढेको छ । तस्वीर खिच्ने मात्र होइन, बाँड्ने प्रविधि सरल र सस्तो भएको कारण आम नागरिक फोटोग्राफीको कलात्मक, ‘डिस्क्रिप्टिभ’, आत्मिक इत्यादि सम्भावनाहरूमा डुबुल्की मार्न सक्ने भएका छन् । पत्रपत्रिका र किताबमा मात्र नभएर अब यत्रतत्र जसलाई पनि आफूले खिचेको फोटो देखाउन सकिने भयो ।

दिनहुँ नेपाल राज्यमा लाखौं (शायद दशौं लाख) सेल्फी खिचिन्छन् । सेल्फीले मुलुकभरि रमाइलो बाँडेको छ । यसो उसो गर्‍यो ‘लौ सेल्फी खिचौं’ भन्ने आवाज उठिहाल्छ र स्मार्टफोनलाई तेर्स्याउँदै पोज दिंदै खिचिन्छ । सेल्फीमोह एउटा नयाँ सामाजिक संस्कारको रुपमा अघि बढेको छ ।

नितान्त मनोरञ्जनात्मक सेल्फी खिच्नेहरूले पनि आफ्नो फोनको लेन्सलाई सार्वजनिक चासोपूर्ण र कलात्मक तस्वीर खिच्नमा प्रयोग गरिरहेका हामी पाउँछौं । र यसै कारण फोटोग्राफीको नयाँ आयाममा समाज प्रवेश गरेजस्तो मलाई लाग्दछ, जहाँ आम नेपाली डिजिटल फोटोग्राफी मार्फत सामाजिक चेतना, आकांक्षा र अग्रगमनदेखि विकृतिसम्मको रेकर्ड गरिरहेका हुनेछन् ।

हजारौं सम्भव यस्ता प्रयोगको उदाहरणमाझ यहाँ प्रस्तुत तस्वीरको चर्चा गर्नुछ । यो फोटो मेरी बैनी रुपा जोशीले खिचेकी हुन् । कुनै तस्वीर ‘आफैं बोल्छन्’ कुनै तस्वीरको पूर्ण ‘इम्प्याक्ट’ को लागि पृष्ठभूमि तथा फोटोग्राफरको मकसद पनि पेश हुनुपर्छ ।

यसै हेर्दा यस तस्वीरमा केही महिला कुनै क्रियाकलापमा सरिक देखिन्छन्, मुख्यतः पिंडौला र पाउ देखिने गरी ।

५ असारमा खिचिएको यो तस्वीर आर्यघाटस्थित विद्युतीय शवदाह गृह छेवैको ‘नयाँ ब्रह्मनाल’ को हो । न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको क्यान्सरसँगको साहसिक संघर्ष गर्दागर्दै देहावसान भयो र स्वस्फूर्त जनसहभागितामाझ उनको दाहसंस्कार भयो ।

अस्तु परिवारलाई हस्तान्तरण गरेपछि वागमतीमा सेलाउने क्रममा घाटमा लिइएको तस्वीर हो, यो ।

दाहसंस्कार भनेको नितान्त निजी, पारिवारिक शोकको विषय भए पनि अन्यत्र जस्तै नेपालमा यो ‘पब्लिक स्पेक्टेकल’ हुन पुग्दछ ।

आर्यघाट जस्तो सार्वजनिक थलोमा परिवारको शोक छरपस्ट हुने गर्छ, शवयात्रादेखि दागबत्ती दिनेसम्मलाई जोकोहीले नियाल्छन्, टेलिफोटो तस्वीर खिच्छन्, टुरिस्टहरू आवतजावत गरिनै रहन्छन् ।

फोन क्यामेराको जमानामा अझै नजिक गएर आफन्तले नै शोकाकुल अवस्था र विह्वल शोकाकुलको तस्वीर खिच्दछन् र तत्कालै फेसबूकमा सार्वजनिक गर्दछन् ।

डा. देवकोटाको दाहसंस्कार श्रीमती डा. मधु र तीन जना छोरीले गरे । फोटोग्राफर र सर्वसाधारणले यो उत्कृष्ट कार्यको कदर गर्दै तस्वीर छ्याप्छ्याप्ती पारे, विशेष गरी तीन छोरीले अगाडिबाट पिताको खट बोक्दै हिंडेको तस्वीर ।

रुपाको क्यामेराले भने अलि भिन्न तरिकाले त्यही क्रियाकलाप प्रस्तुत गर्‍यो । अन्य तस्वीर पक्कै खिचिएको हुनुपर्छ, तर उनले सार्वजनिक गर्न रोजेको तस्वीरमा देखिन्छ, मात्र केही कार्यमा व्यस्त महिला पहिरनका पाउ ।

यो तस्वीरले धेरै कुरा बोल्छ, तर विना पृष्ठभूमिमा फेरि अर्थ लाग्दैन । त्यसैले तस्वीरसँगै उनले क्याप्सन लेखेकी छन्– “जब महिलाको हात श्रीमान् र बुवाको अन्त्येष्टिमा सरिक हुन्छ, विकासको असली पाटो शुरु हुन्छ ।”

तस्वीर र क्याप्सनले यति भनिसकेपछि डिजिटल फोटोग्राफीको सामाजिक पक्ष नियाल्न सक्ने क्षमताबारे व्याख्या गरिरहनु परेन ।

प्रतिकृया दिनुहोस