जंगलको आगो मानिसका लागि निकै जरुरी !
क्लेयर अशर
आगोसँग हाम्रो सम्बन्ध निकै जटिल छ । आगोबाट हामीले न्यानो पाउँछौ । सुरक्षा पाउँछौ । सफा खाने पानी र पाकेको खाना पाउँछौ । तर, आगोले विनाश पनि ल्याउँछ ।
जंगलको आगो ठूलो नोक्सानीको कारण पनि हुनसक्छ । त्यसैले धेरै मानिसहरु जंगलको आगोलाई कुनै पनि हालतमा रोक्नुपर्ने बताउँछन् । र यस्तो हुँदै पनि आएको छ । तर, हामीले जती नै रोक्ने प्रयास गरे पनि यो फैलँदो छ ।
यहाँ निर प्रश्न उठ्छ, के आगो रोक्ने हाम्रो प्रयास नै बारम्बार आगो भड्काउनमा जिम्मेवार त छैन ?
हिउँदमा वर्षा हुने र गर्मीमा सुख्खा हुने सबै ठाउँका जंगलमा आगो लाग्छ । वर्षाको पानीले रुख विरुवा निकै हुर्किन्छन् बढ्छन् र गर्मीमा घास झाडी सुकेर आगो सल्किने वातावरण बनाउँछन् । यसको अर्थ करोडौं वर्ष पहिले विकासको प्रक्रिया अनुसार जब वनस्पती समुन्द्रबाट जमिनमा आयो त्यसबेला देखि नै आगो लाग्ने सिलसिला चलिरहेको छ ।
पछिल्लो साढे बाह्र करोड वर्षदेखि आगो झेल्दै रुख विरुवा पनि यसमा अभ्यस्त भैसकेका छन् । उनीहरुमा आगालागीका बेला आफूलाई जोगाउने र त्यसपछि फेरी फल्ने फूल्ने क्षमताको विकास भएको छ ।
घास र झाडीका मैदानमा सबैभन्दा धेरै आगो लाग्छ । यसै कारण अफ्रिकाको सवाना जस्ता घाँसे मैदानमा बारम्बार आगो लागिरहन्छ । तर, घाँस–पराल चाँडै खरानी बन्ने हुँदा आगोको असर जमिन मुनी बोट विरुवाको जरासम्म पुग्न पाउँदैन र मैदान फेरि हरियालीले भरिन्छ ।
जसै घाँसे मैदानमा हरियाली भरिन्छ, जंगली जीव–जन्तु पनि फेरि त्यहाँ आइपुग्छन्, मैदान गुलजार पार्छन् । नयाँ पलाएको ताजा नरम घाँस यि जनावरहरुको विकासमा सहयोगी भइदिन्छ ।
यदि घासे मैदानमा आगो नलाग्दो हो त यस्ता मैदानहरु चाँडै घना जंगलमा परिणत हुने थिए । तर, धेरै जंगलहरु पनि आगोसँग जुध्ने क्षमता राख्छन् । जस्तो पश्चिमी अमेरिका र क्यानाडाको पोंडेरोसाको जंगल । यहाँका रुखहरुमा मोटो बोक्रो हुन्छ । बोक्रोले रुखलाई आगोबाट जोगाउँछ । आगो बढदै जाँदा रुखका तल्ला हाँगाहरु आफै झर्न थाल्छन् र टुप्पोमा आगो फैलन पाउँदैन जहाँ यी रुखको बिउ लागेको हुन्छ ।
पोंडेरोसाका यि जंगलले पर्यावरणका लागि आगो लाग्न जरुरी रहेको उदाहरण दिन्छन् ।
त्यसैगरी क्यालिफोर्नियाको जंगलका ल्याजपोल पाइनका रुखमा पनि आगोबाट बच्ने क्षमता हुन्छ । प्रत्येक ८० देखि २०० वर्षमा यहाँ भयंकर आगो लाग्छ । आगोले अधिकांश जंगल स्वाहा हुन्छ । तर, यि रुखहरुमा हुने ‘गम’ को पत्रले ढाकिएका फलभित्रका बिऊ आगोबाट सुरक्षित रहन्छन् । आगो लागिसकेपछि ति फलहरु पड्किन्छन् र ठूलो क्षेत्रमा बिउ आफै छरिन्छ । नयाँ रुख उम्रिन्छन् ।
यसैगरी अष्ट्रेलियामा पाइने यूकेलिप्टसका रुख पनि जंगलकै आगोका कारण फल्छन् फूल्छन् । यूकेलिप्टसको रुखमा हुने तेल आगो बढाउन सहयोगी हुन्छ । यसका पातहरुले थप मद्दत गर्छन् । तर यूकेलिप्टसको बिउ आगो लागेपछि मात्रै खोलबाट बाहिर आउँछ । आगो निभिसकेपछि यिनै बिऊबाट नयाँ रुखहरु उम्रिन्छन् ।
यसैगरी नै भूमध्यसागर वरपरको झाडी–बुट्यानको क्षेत्र पनि आगोसँग निप्टारा पाउन सक्षम छ । यहाँ प्रत्येक २० वर्षमा आगो लाग्ने गरेको पाइन्छ । यहाँका रुख विरुवा फेरि पलाउँछन् । यहाँ पाइने स्ट्रबेरीका मुना जमिन मुनी जरामा हुन्छन् । जो ठूलो आगोमा पनि आफूलाई जोगाउन सक्षम हुन्छन् ।
यि उदाहरणबाट स्पष्ट हुन्छ– प्राकृतिक वातावरण बनाइराख्न जंगलमा आगो लाग्नु जरुरी हुन्छ । तर हामीमध्ये धेरैलाई ‘इकोसिस्टम’ बचाउन पनि जंगलको आगो नियन्त्रण गर्नुपर्छ भन्ने लाग्छ, जुन साँचो होइन ।
साँचो कुरा के हो भने, आगो रोकेर हामीले इको सिस्टमलाई नोक्सान पुर्याइरहेका छौं । जस्तो कि अमेरिकामा रेडवुडको वनमा लागेको आगो रोकेर हामी यि जंगललाई सिद्ध्याउँदै छौं । किनभने यि रुखहरु जंगलको आगोबाट त बच्न सफल हुन्छन् तर काठका लागि यहाँ रुख कटान तिव्र छ ।
ग्लोबल वार्मिङ र पृथ्वीको बदलिंदो वातावरणका कारण पनि जंगलामा आगलागीका घटना धेरै हुन थालेका छन् । फेरि पछिल्लो एक शताब्दीदेखि आगोमाथि नियन्त्रण प्राप्त गर्ने हाम्रो प्रयासका कारण पनि आगो झन फैलिदै गएको छ ।
बारम्बार आगो लाग्ने घटनाले पनि आगो लाग्न नदिने हाम्रो प्रयास असफल र महंगो हुदै गएको प्रमाणित हुन्छ । जंगलको आगो हाम्रो नियन्त्रणमा छैन । यसलाई रोक्ने खर्च बढ्दो छ । जंगलको आगो रोक्ने खर्च अमेरिकामा पछिल्लो दुई दशकमा तीन गुणा बढेको छ ।
त्यसैले अब जंगलको आगोलाई फरक दृष्टिकोणबाट हेरिनु जरुरी भइसकेको छ ।
जानकारहरु यसका लागि तीनवटा विकल्प प्रस्तुत गर्छन् ।
पहिलो जंगलमा मशिनबाट नियमित सफाई । यसरी सफाई गरिंदा सुकेका घास पत्कर त्यहाँबाट हटाउने जसले गर्दा आगो लाग्ने संभावना न्यून हुनेछ । तर यो विकल्प निकै महंगो हुन्छ ।
दोस्रो तरिका हो, आफैं नियन्त्रित रुपमा जंगलमा आगो लगाउने ।
तेस्रो तरिका यदि जंगलमा आगो लाग्यो भने त्यसलाई आफै निभ्न दिने । यद्दपी यो विकल्पमा धनमालको नोक्सानको सम्भावना रहन्छ । तर यसको भरपाई जंगलको नियन्त्रित सफाई–कटाइबाट गर्न सकिन्छ ।
आम मानिसहरु जंगलमा लाग्ने आगोको महत्वलाई ठिकसँग बुझिरहेका छैनन् । धेरै नेताहरुलाई पनि यसको महत्व थाहा छैन । त्यसैले आगो नियन्त्रण गर्ने नयाँ तरिकामाथि ध्यान दिनु गाह्रो भएको छ ।
हाम्रो पर्यावरण बाचाइराख्न जंगलको आगोलाई नयाँ दृष्टिकोणबाट हेरिनु जरुरी छ ।
पुरानो जमानाका मानिसहरुले आगोको महत्व बुझेका थिए । अष्ट्रेलियाका मुल निवासी आफैं सुख्खाका बेला जंगलमा आगो लगाउँथे । तर सत्रौं शताब्दीमा अष्ट्रेलियामा सम्पूर्ण यूरोपबाट मानिसहरु आउन थालेपछि यो प्रचलनमा रोक लगाइयो ।
यसैगरी दक्षिण अफ्रिका र दक्षिण अमेरिकामा पनि जंगलमा आगो लगाउने परम्परा थियो । आज पनि कैयौं देशहरुमा यस्तो भइरहेको छ । त्यसैले त्यहाँ पर्यावरण बचिरहेको छ ।
तर, पछिल्लो केही सय वर्षदेखि हामी आगोको महत्व बुझ्नुको साटो यसलाई आफ्नो दुश्मन देखिरहेका छौं । यद्यपी प्रकृतिलाई फल्न–फूल्न आगो निकै जरुरी छ ।
त्यसैले अर्कोपटक जब तपाइको वरपरका जंगलमा आगो लाग्ने छ त्यसलाई नयाँ दृष्टिकोणमा हेर्ने प्रयास गर्नुहोला ।
बीबीसीबाट साभार