टिप्पणीसोमवार, आषाढ ११, २०७५

तथ्यांकमा नसमेटिएको महिला स्वास्थ्य

हिमालखबर

डा. अरुणा उप्रेती

सर्वेक्षणहरूले नेपालमा महिला स्वास्थ्यमा सुधार भएको देखाए पनि तराई, सुदूरपश्चिम र कर्णालीका महिलाको अवस्था कहालिलाग्दो छ ।

नेपालमा हालै सम्पन्न स्त्रीरोग विशेषज्ञको सम्मेलनमा प्रजनन् र मातृ स्वास्थ्यबारे गम्भीर कार्यपत्र प्रस्तुत गरिए । आवश्यकभन्दा बढी शल्यक्रियाले नेपाली महिलाको स्वास्थ्यमा परेको नकारात्मक असर, बच्चा जन्माउन विभिन्न निजी अस्पतालमा गरिने अनावश्यक शल्यक्रियाबारे कार्यपत्र पनि प्रस्तुत गरियो । अनावश्यक शल्यक्रियाले महिलालाई पिसाब चुहिरहने समस्या (फिस्टुला) हुनसक्ने बताइयो ।

एक वर्षअघि मैले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एक २३ वर्षीया युवतीलाई भेटेकी थिएँ । जनकपुर अञ्चल अस्पतालमा शल्यक्रिया गरिएको केही दिनपछि उनलाई फिस्टुला भएको रहेछ । उनले बीपी अस्पतालमा फिस्टुलाको सित्तैंमा उपचार गरिने कार्यक्रम अन्तर्गत सुविधा पाइन् । उनी जस्तै कति युवती र महिला फिस्टुलाबाट पीडित भएर पनि उपचार पाउँदैनन् भन्ने विषय सम्मेलनमा उठ्यो ।

यस्ता समस्याले महिलाको पारिवारिक, सामाजिक र दाम्पत्य जीवन तहसनहस पार्छ नै, कति महिलालाई घर–परिवारले बेग्लै बस्न विवश समेत गराउँछन् । त्यस्ता महिलाले स्वास्थ्य शिविरबाट सुविधा लिन सक्ने सम्भावना हुँदैन, किनभने स्वास्थ्य शिविरमा पाइने सुविधाबारे उनीहरूले थाहा पाउँदैनन् ।

हिमाल को (२७ जेठ–२ असार) अंकमा प्रकाशित मातृ मृत्युदरको तथ्यांकले नेपालमा राष्ट्रियस्तरमा ५७ प्रतिशत महिलाको प्रसूति स्वीकृतप्राप्त स्वास्थ्य संस्थामा हुने देखाएको छ । अर्थात्, ४३ प्रतिशत महिलाले प्रसूतिका लागि स्वास्थ्य सेवा पाउँदैनन् ।

नेपालको तराई, सुदूरपश्चिम र कर्णालीको मात्रै भिन्नै अध्ययन गरेर तथ्यांक निकाल्ने हो भने स्थिति झनै गम्भीर देखिनेछ । ती जिल्लामा ६० देखि ८० प्रतिशत महिलाले प्रसूति सेवा पाउँदैनन्, यस्तो अनुभव मलाई डोल्पा, मुगु, बझङ, बाजुरा र जुम्ला जाँदा भएको हो । जहाँ कतिपय स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नै छैनन्, कतिपय स्थानमा यातायात असुविधाका कारण प्रसूतिका लागि महिलाहरू स्वास्थ्यचौकीसम्म पुग्न पाउँदैनन् । कतिपय ठाउँमा महिलालाई स्वास्थ्यचौकी लैजाने सहयोगी हुँदैनन् ।

काठमाडौं उपत्यका र अन्य ठूला शहरमा महिलालाई प्रसूतिका लागि अस्पताल लगिने हुँदा समग्रमा प्रसूति स्वास्थ्य सेवामा महिलाको पहुँच बढ्न गएको देखिएको स्पष्ट छ । हिमाल मा प्रकाशित यही तथ्यांकले अन्य कुरा पनि दर्शाएको छ ।

सन् २००९ को तुलनामा अहिले गर्भवती र सुत्केरी अवस्थामा हुने मातृ मृत्युदरमा कमी आएको देखिन्छ । अर्कोतिर मृत्यु हुने आमाहरूमध्ये बच्चा जन्माइसकेपछि २८ प्रतिशतको मृत्यु हुन्थ्यो भने सन् २०१६ मा यो बढेर ४९ प्रतिशत पुगेको छ । त्यसैले बच्चा जन्माइसकेपछि कसरी आमाको मृत्यु हुन्छ भन्ने विषयमा गम्भीर अध्ययन हुन आवश्यक देखिन्छ । रगत धेरै बगेर, संक्रमण भएर, मुटुमा समस्या भएर वा अरू कुनै कारणले बच्चा जन्माइसकेपछिको अवस्थामा मातृ मृत्युदर बढेको हो, त्यसै भन्न सकिंदैन ।

अझ् मातृमृत्युमध्ये ४२ प्रतिशत स्वास्थ्य संस्थामै हुने तथ्यांकले धेरै कुरा सोच्न बाध्य गराउँछ । स्वास्थ्य संस्थामा आमाले राम्रो सेवा नपाएर, रगतको सुविधा वा दक्ष जनशक्ति नभएर मातृमृत्यु बढेको हो कि भन्ने शंका गर्न सकिन्छ । यसरी स्वास्थ्य संस्थामा मातृमृत्यु भइरहँदा स्वास्थ्य संस्थाप्रति जनविश्वास घट्न सक्छ ।

गर्भावस्थाको संक्रमण भएर सन् २००९ मा ७ प्रतिशत मातृमृत्यु हुन्थ्यो भने २०१६ मा बढेर १० प्रतिशत पुगेको छ । गर्भपतनमा जटिलताका कारण १० प्रतिशत मातृमृत्यु हुन्थ्यो भने सन् २०१६ मा यो संख्या बढेर १३ प्रतिशत पुगेको छ । सुरक्षित गर्भपतनका लागि कानूनले सुविधा दिए पनि अझै असुरक्षित तरिकाले गर्भपतन भइरहनु गम्भीर कुरा हो ।

यसको अर्थ हो ती महिला (४३ प्रतिशत), जो स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउँदैनन्, गर्भपतनको सुविधा लिन पाउँदैनन्, यिनीहरूको रक्तस्रावका कारण घरमै मृत्यु हुन्छ । शायद यस्ता मृत्युको कारण खुलाएर कतै दर्ता पनि गराइँदैन । उनीहरूको पनि तथ्यांक आयो भने नेपालमा मातृमृत्यृको स्थिति अझै खराब देखिनेछ ।

मातृ स्वास्थ्यको तथ्यांक केलाउँदा १५–४९ उमेर समूहका महिलामा देखिएको रक्तअल्पताले स्वास्थ्य मन्त्रालयलाई झस्काएको हुनुपर्छ । सन् २००६ मा प्रजनन् उमेरका ३६ प्रतिशत महिलालाई रक्तअल्पता भएको थियो, २०१६ मा यो बढेर ४१ प्रतिशत पुग्यो । कर्णाली, सुदूरपश्चिम र प्रदेश–२ का महिलाको मात्रै रक्तअल्पताको तथ्यांक लिने हो भने स्थिति झनै खराब देखिनेछ ।

दुई वर्षअघि डोल्पा जाँदा विमानस्थलमा विष्णु विकसँग भेट भएको थियो । मेरो भारी बोकिदिन उनी कुद्दै आएकी थिइन् । उनको अनुहार पहेंलो थियो । उनलाई मैले सोधें, “किन तपाईंको अनुहार यति पहेंलो ? गर्भवती हो ? खान मन लाग्दैन ?” उनले भनिन्, “होइन, मेरो त रगत बगेको बग्यै गर्छ ।” “किन परिवार नियोजनको सुईले गर्दा हो ?”

“६ महीनाअघि संस्थाका मानिस आएर मलाई यी यो हालिदिए, बच्चा नहोस् भन्नका लागि । त्यो बेलादेखि अलिअलि गरेर रगत बग्छ । यो हालेको तीन महीनापछि श्रीमान् काम गर्न दुबई गए । सुई निकालिदेऊ भनेर दुनै अस्पतालमा जाँदा जसले राखेको हो, उसैलाई गएर भन्नु, हामीसँग त त्यो निकाल्ने औजार छैन भने ।” यसो भन्दै विष्णुले पाखुरा देखाइन् । उनको पाखुरामा नरप्लान्ट राखिएको रहेछ ।

श्रीमान् नभए पनि नरप्लान्टको असर खपेर बस्न विष्णु बाध्य छिन् । यही अवस्था रहिरह्यो भने उनी धेरै समय बाँच्न सक्ने छैनन् । रक्तअल्पताकै कारण उनको मृत्यु हुन सक्छ । तर, स्वास्थ्य मन्त्रालयले यो थाहा पाउने छैन, कुन संस्था त्यहाँ गएर महिलाको शरीरमा जथाभावी परिवार नियोजनको साधन राखिदियो ।

डोल्पामा ७–८ दिन बस्दा २० जनाजति महिलासँग मेरो भेट भयो । जसलाई कुनै ‘अमूक संस्था’ आएर परिवार नियोजनको सुई लगाइदिएको रहेछ । गाउँमा कुपोषण भएका र चुरोट खाने महिलालाई परिवार नियोजनको नराम्रो असर झन् बढी हुन्छ । डोल्पामा पनि कति जनालाई यसको असर देखियो, तर यसबारे कहाँ भन्न जाने ?

“१० वर्षसम्म बच्चा हुँदैन भनेर मेरो हातमा के नली हालिदिएका छन्, मलाई त एकदम गाह्रो छ । अब दश वर्ष पनि बाँचिन्न होला”, विष्णुले भनेकी थिइन् । डोल्पाका यस्ता महिलाको स्वास्थ्य विषयमा भने तथ्यांक बोलेको पाइँदैन ।

नेपाली महिलामा रक्तअल्पताको तथ्यांक बढ्नुको अर्थ महिला स्वास्थ्यमा खराबी हुनु हो । सबै गर्भवती महिलालाई आइरन चक्की दिइए पनि रक्तअल्पता किन बढिरहेछ ? यसको जवाफ खोज्नैपर्छ । रक्तअल्पता भएका महिलाको गर्भको बच्चा पनि सानो हुन्छ र कतिपयलाई बचाउनै गाह्रो हुन्छ । अर्कोतिर, रगतको कमी भएका महिलाको प्रसूतिपछि अलिकति रगत बगे पनि मृत्यु हुने सम्भावना बढी हुन्छ ।

काठमाडौं र अन्य ठूला शहरमा रगत दिएर बचाउने सम्भावना भए पनि दुर्गमका स्वास्थ्यचौकीमा यो सम्भव छैन । जनस्वास्थ्य विज्ञहरूले भन्दै आएका छन्, ‘महिलाको रगत केवल आइरन चक्की खाएर बढ्दैन । रक्तअल्पता हुन नदिन प्रोटिनको त्यत्तिकै जरूरत पर्छ ।

चना, भटमास, गहत, कोदो, फापर र लट्टेको साग आदिमा प्रोटिन हुन्छ । तरकारी, दाल फलामको भाँडामा पकाउँदा र त्यसमा कागती, गोलभेंडा, मोही आदि अमिलो मिलाएर खाँदा पनि लौहतत्व सोस्नमा मद्दत गर्छ ।’ यति सामान्य जानकारी पनि कतिपय महिलासम्म पुग्न सक्दैन ।

स्वास्थ्य संस्थामा बच्चा जन्माउने महिलाको संख्या बढेको सकारात्मक पाटो एकातिर छ, सँगसँगै घरमा बच्चा जन्माउने महिलाको अवस्थाबारे पनि अध्ययन हुनुपर्छ । चक्कीले मात्रै महिलाको कुपोषण र रक्तअल्पता रोक्न सक्दैन । दैनिक जीवनमा सहजै प्राप्त हुने पौष्टिकताले भरिपूर्ण खानेकुराबारे उनीहरूलाई जानकारी दिन पनि छलफल हुनुपर्छ । मातृमृत्युको तथ्यांकसँगै महिलाको स्वास्थ्य अवस्थाको तथ्यांक पनि आउनुपर्छ ।

पढ्नुहाेस् ।

मातृमृत्यु नघट्नुको कारण गुणस्तरहीन ‘अक्सिटोसिन’ पनि

 

प्रतिकृया दिनुहोस