जापान विश्वकपमा एसियाको इतिहास लेख्ने अभियानमा
काठमाडौं (एजेन्सी)– एसियाली राष्ट्र जापान विश्वकपमा नयाँ इतिहास बनाउने अभियानमा छ। तर, त्यसका लागि उसले आज राती पौने नौ बजे अफ्रिकाको बलियो राष्ट्र सेनेगललाई समूह ‘एच’ को दोस्रो खेलमा पराजित गर्नु पर्ने हुन्छ।
सन् २००२ र २०१० को विश्वकपको दोस्रो चरण प्रवेश गरेको जापानले अघिल्लो दुई खेल अहिलेसम्म जितेको छैन्। यसपालि ‘सामुराई’ टिम यो इतिहास कोर्ने अवसर नजिक छ। तर, उसका लागि सोचे जस्तो सजिलो भने छैन्। किनभने सेनेगलसँग यसअघि भएको दुई वटा मैत्री खेलमा दुवैमा पराजित भएको छ। तर, त्यो दुवै मैत्री खेल १५ वर्ष अगाडि भएको थियो। सन् २००१ मा जापान २–० र सन् २००३ मा १–० ले पराजित भएको थियो।
जापानले आज सेनेगललाई पराजित गरेको खण्डमा उ एसियाको पहिलो यस्तो टिम बन्ने छ, जसले विश्वकपको लगातार दुई खेल जितेको इतिहास आफ्नो पक्षमा पार्नेछ। जापानले अफ्रिकी महादेशबाट प्रतिनिधित्व गर्दै विश्वकप खेल्न आउने टिमविरूद्ध ३ खेलमध्ये दुईमा सफलता पाएको छ। सन् २०१४ मा भने उ आइभोरी कोस्टसँग २–१ ले पराजित भएको थियो।
सेनेगलले पनि विश्वकपको समूह चरणमा लगातार दुई खेल जितेको छैन। सेनेगल पहिलो खेलमा पोल्यान्डलाई १–० ले पराजित गर्दै तीन अंक बटुल्न सफल भइसकेको छ। आजको खेलमा उ पुरानै टोलीका साथ मैदानमा उत्रिने सम्भावना बलियो छ। तर, पहिलो खेलमा प्रभाव जमाउन नसकेका स्टोक सिटीका मामे डियोफको स्थानमा माउसा कोन्टे र माउसा सोउ सुरुमै उत्रिन सक्ने छन्।
पहिलो दक्षिण अमेरिकी प्रतिद्वन्दी कोलम्बियालाई हराउनु अघि घाइते भएका कारण अनुपस्थित हुन सक्ने भनिएका जापानी मिडफिल्डर काइसुके होन्डा मैदान प्रवेश गरेका थिए। आज उनको उपस्थितिले जापानको आत्मविश्वास चुलिने सम्भावनालाई नकार्न सकिन्न। यस्तै, फरवार्ड सिन्जी ओकाजाकी, योया ओसाकाका कारण जापान बलियो स्थितिमा छ।