इङ्लिस प्रशिक्षक साउथगेट र कप्तान केनको परीक्षा
काठमाडौं (एजेन्सी)– सन् १९६६ देखि विश्वकप विजय अभियानमा रहेको इङ्ल्यान्ड समूह ‘जी’ अन्तर्गत आज पानामाविरूद्ध मैदानमा उत्रिँदै छ। नेपाली समयअनुसार पौने ६ बजे सुरु हुने यो खेलमा धेरै फुटबल प्रेमीको आँखा इङ्लिस खेलाडीमाथि हुनेछ। किनभने यसपालिको विश्वकपमा इङ्ल्यान्ड मात्र यस्तो टोली हो, जसको सवै खेलाडी आफ्नो घरेलु लिग खेल्ने छन्।
कप्तान ह्यारी केन उत्कृष्ट फर्ममा छन् भने गारेथ साउथगेटको रुपमा इङ्ल्यान्डले राम्रो प्रशिक्षक पाएको छ। साउथगेटको आगमनपछि इङ्ल्यान्डले खेलेको १९ खेलमध्ये २ मा मात्र पराजय भोगेको छ। र, ‘थ्री लायन्स’ ११ खेलको अपराजित यात्रामा छ।
उत्तर अमेरिकी क्षेत्र कनकाकाफमा सम्मिलित पानामाविरूद्ध इङ्ल्यान्डले हालसम्म कुनै खेल खेलेको छैन्। सन् १९५० मा यही क्षेत्रबाट प्रतिनिधित्व गरेको अमेरिकासँग १–० को स्तब्ध पार्ने नतिजा भोगेको इङ्ल्यान्डले त्यसयता कनकाकाफ देशविरूद्ध खेलिएको कुनै खेल हारेको छैन्।
आजको खेलको सवैभन्दा रोचक पक्ष भनेको दुवै देशका प्रशिक्षक हुन्। पानामा प्रशिक्षक हर्नान डारियो गोमेजले सन् १९९८ को विश्वकपमा कोलम्बियाली टोलीलाई प्रशिक्षण दिँदा इङ्लिस प्रशिक्षक साउथगेट इङ्ल्यान्डको टोलीमा समावेश थिए। त्यो खेल इङ्ल्यान्डले २–० ले जितेको थियो तर साउथगेट बेन्च खेलाडीको रुपमा सिमित थिए।
आजको खेलमा पानामाले अघिल्लो खेलमा सम्मिलित भएका खेलाडीलाई नै मैदान उतार्ने सम्भावना बलियो छ। पानामामा ७ खेलाडी यस्ता छन्, जसले सयौं खेलको कोशेढुंगा पुरा गरेका छन्। गाब्रियल गोमेज (१४७), जेमी पेनेडो (१३५), ब्लास पेरेज (१२१), रोमन टोरेस (१११), लुइस तेजाडा(१०७), अर्मान्डो कुपर (१०१) र फिलिप बालोयी (१००) ले सय खेल खेलिसकेका छन्।
अघिल्लो खेलमा पहेँलो कार्ड पाइसकेका इङ्लिस खेलाडी काइल वाल्करले आज सम्हालिएर खेल्नु पर्नेछ। पानामाका पाँच खेलाडीले अघिल्लो खेलमा पहेँलो कार्ड पाएका थिए। निज्नी लोभ्गोरोड रंगशालामा हुने खेलमा युरोपेली देशको रेकर्ड राम्रो छ। यही मैदानमा क्रोएसियाले ३–० ले अर्जेन्टिनालाई पराजित गरेको थियो।
आज खेल जितेको खण्डमा इङ्ल्यान्ड दोस्रो चरणमा प्रवेश गर्नेछ भने पानामा प्रतियोगिताबाट बाहिरिने छ। इङ्ल्यान्डले १९६६ मा विश्वकप जितेयता अर्को उपाधिका लागि अझै संघर्षरत छ। इङ्ल्यान्डले पहिलो खेलमा ट्य्निसियालाई २–१ ले पराजित गरेको थियो। जसमा केनले दुवै गोल गरेका थिए। गत विश्वकपमा इङ्ल्यान्ड पहलो चरणबाटै बाहिरिएको थियो। त्यसैले आजको खेल इङ्ल्यान्डलाई चार वर्षअघिको खराब पराजयलाई बिर्साउने मेलो पनि हो।