रिपोर्टशनिवार, आषाढ ९, २०७५

कर्मठ कर्मयोगी

सञ्जीव शर्मा

मन्त्री हुँदा पनि डा. उपेन्द्र देवकोटा मन्त्रालयको काम सकेपछि राति अवेर अस्पताल पुगेर बिरामीको शल्यक्रिया गर्थे ।

डा. उपेन्द्र देवकोटा । तस्वीरः मीनरत्न बज्राचार्य

विश्वकै उत्कृष्टमध्येको बेलायतको ग्लास्गो युनिभर्सिटीमा अध्ययनपछि पाएको अवसर छाडेर तीन दशकअघि स्वदेश फर्केका थिए, डा. उपेन्द्र देवकोटा । सात महीनाअघि पनि बेलायत नै पुगे, अचानक पत्ता लागेको रोगको उपचार गर्न । तर, फेरि पनि बेलायतमै बसेर जीवनको केही समय तन्काउन उनलाई व्यर्थ लाग्यो । जन्मघरको धाराको पानी खाएर आफन्तमाझ देहत्याग गर्ने चाहना बोकेर न्यूरोसर्जरीका यी विख्यात चिकित्सक १५ वैशाखमा फर्किए ।

सधैं ‘पार एक्सिलेन्स’ डा. देवकोटाले भारतको असमबाट एमबीबीएस अध्ययन पश्चात एक वर्ष महाराजगञ्ज क्याम्पसमा हेल्थ असिस्टेन्टलाई पढाए । अर्को वर्ष वीर अस्पताल पुगे । उनको दक्षताबाट प्रभावित वीरको शल्यक्रिया विभागका तत्कालीन प्रमुख डा. दिनेशनाथ गंगोलले दुई वर्षमै रजिष्ट्रार बनाए ।

पाँच वर्ष वीरमा काम गरेपछि देवकोटा न्यूरोसर्जरी पढ्न बेलायत गए । विशेषज्ञ चिकित्सकको अभाव रहेको त्यो बेला ‘नेपाल फर्किएपछि सबै रोगको उपचार गर्न सक्ने हुनुपर्छ’ भन्ने लागेरै उनले बेलायतमा अतिरिक्त कक्षाका साथै प्रयोगात्मक ज्ञानलाई प्राथमिकता दिएको अन्तर्वार्ताहरुमा बताएका छन् । स्रोतसाधनको अभाव र जस्तोसुकै प्रतिकूलतामा पनि आफूलाई तयार पार्न उनले बेलायतका उत्कृष्ट एट्किन्सन मोर्ले र क्वीन्स स्क्वायर अस्पतालमा पनि काम गरे ।

४ पुस, २०१० मा गोरखाको पण्डित गाउँ, लिगलिगमा जन्मिएका देवकोटाले स्थानीय अमरज्योति माविदेखि बेलायतमा अध्ययन गर्दासम्म उत्कृष्ट प्रदर्शन गरिरहे । ‘नेपालीले एफआरसीएस (फेलोसिप अफ द रोयल कलेजेज् अफ सर्जन्स्) उपाधि प्राप्त गर्न सक्दैनन्’ भनेर रोकिएको छात्रवृत्ति देवकोटाले पाएनन् मात्र, अब्बल सावित भई नेपाली चिकित्सकका लागि बन्द ढोका खोलिदिए । त्यसपछि त एफआरसीएसको प्रवेश परीक्षा नेपालमै हुन थाल्यो ।

तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको मन्त्रिमण्डलमा केही समय स्वास्थ्यमन्त्री समेत भएका डा. देवकोटाकै पालामा वीर अस्पतालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान स्थापना भयो ।

देशभित्रै ठूलो न्यूरो अस्पताल स्थापना गर्ने उनको चाहना भने एक दशकसम्म पूरा हुन सकेन । कतिसम्म भने तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सदिच्छाका बावजूद स्वास्थ्यमन्त्री पद्मरत्न तुलाधरले न्यूरो अस्पतालका लागि दिइने भनिएको जग्गा अर्कै अस्पताललाई दिलाए । तीतो अनुभव सँगालेका उनले आफ्नै प्रयासमा काठमाडौंको बाँसबारीमा निजीस्तरबाटै न्यूरो अस्पताल स्थापना गरे ।

कामप्रति उनको प्रतिबद्धता अचम्मको थियो, बेलायतबाट फर्केपछि वीरमा उनीभन्दा कम योग्यताका व्यक्ति उपसचिव तहमा थिए तर उनले अधिकृत भएरै न्यूरोसर्जरी विभागलाई अघि बढाइरहे । गुनासो गरेनन् । न्यूरो अस्पतालसम्म आइपुग्दा पनि उनमा कामप्रतिको लगाव पटक्कै कम भएको थिएन । उनको कामगराइबाट अरु त अरु यही पेशामा संलग्नहरु समेत चकित पर्दथे ।

लण्डन पढ्दाताकाका देवकोटाका मित्र एवम् विख्यात न्यूरोसर्जन हेनरी मार्सले आफ्नो पुस्तक एडमिसन्स मा लेखेका छन्, ‘लगभग सबै ठूला अपरेशन देव (देवकोटा) आफैंले गर्छन् । लण्डनमा मैले ६ महीनामा गर्ने ठूला शल्यक्रिया त उनी काठमाडौंमा ६ हप्तामै गर्दा रहेछन्... । बहिरंग विभागमा उनी गुनासोकर्ता र दरबारीका बीच राजा जस्तै घेरिएका हुन्छन् ।’

तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको मन्त्रिमण्डलमा केही समय स्वास्थ्यमन्त्री समेत भएका डा. देवकोटाकै पालामा वीर अस्पतालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान स्थापना भयो । डा. गंगोलको नेतृत्वमा उनले नै वीर अस्पतालमा न्यूरोसर्जरी विभाग शुरु गरे । मन्त्री हुँदा पनि उनी मन्त्रालयको काम सकेपछि राति अवेर अस्पताल पुगेर बिरामीको शल्यक्रिया गर्थे । सबै नेपालीको स्वास्थ्य बीमा गर्ने उनको योजना भने पूरा हुन पाएन, जुन पछिका सरकारहरुले अघि बढाए ।

देवकोटाकै पहलमा सन् १९९९ मा दक्षिणएशियाली न्यूरोसर्जिकल सम्मेलन नेपालमा भयो । २५ वर्ष वीर अस्पतालमा रहँदा नेपालमा स्नायु चिकित्सालाई उनले उँचाइमा पुर्‍याए, उनकै नेतृत्वमा धेरै दक्ष चिकित्सक उत्पादन भए ।

१९ जेठ, २०५९ को राजदरबार हत्याकाण्ड उनको पेशागत जीवनको अविस्मरणीय घटना थियो । शवहरुको लस्करमा निष्प्राण राजा वीरेन्द्रलाई देखेर विचलित उनले हत्याकाण्डबारे प्रष्ट बोल्ने साहस गरेका थिए । र, अनेकौं हल्ला र भ्रम फैलिरहेका बेला नेपाली टाइम्स मा त्यस दिन आफूले छाउनी अस्पतालमा देखेको यथार्थ बाहिर ल्याएका थिए ।

४ मंसीर, २०७४ मा स्वास्थ्य जाँचका लागि बेलायत गएका देवकोटालाई पित्त थैलीको क्यान्सर देखियो, जुन निको नहुने अवस्थामा पुगिसकेको थियो । उनकै भनाइमा ‘किमोले रेस्पोन्ड नगर्ने, रेडियो थेरापीको साइड इफेक्ट मात्र हुने र सर्जरी गर्न नमिल्ने विचित्रको अवस्थामा’ रहेकाले प्रयोगात्मक उपचार गरेर बस्नु भन्दा बाँकी जीवन आफन्तमाझ नै बिताउने चाहनाले १५ वैशाखमा देवकोटा देश फर्किए ।

बाँकी इच्छा, जिजीविषा र सर्वत्र चासोका बावजूद डा. देवकोटाको महाप्रस्थान शान्त रह्यो, उनले चाहे जस्तै । जीवनको अन्त्य सम्मुख आउँदा पनि उनी अत्तालिएनन्, आफन्तलाई शान्त रहन सिकाए । आफ्नो पीडा परिवारलाई महसूस नहोस् भन्ने लागेर चिकित्सकलाई आफ्नो औषधिमा ‘सिडेटिभ’ पनि थप्न लगाए । त्यसपछि भने उनी फर्किएनन् । अचेत अवस्थामै ४ असार अपराह्नमा देह त्यागे ।

प्रतिकृया दिनुहोस