कला/साहित्यशनिवार, आषाढ ९, २०७५

सिने संगीतमा लोक लयको पुनरागमन

मस्त केसी

लोक लयका गीत सहितका चलचित्रले व्यापारिक सफलता पाएसँगै नेपाली सिने संगीतमा लोक लयको पुनरागमन भएको छ ।

चलचित्र कान्छीको ‘चरी चट्ट परी’ गीतमा नायिका श्वेता खड्का ।

नारायण रायमाझीले निर्देशन गरेको चलचित्र गोर्खा पल्टन (२०७०) का सबै गीत लोक लयमा आधारित छन् । यसमा समेटिएका ‘जाउँला रेलैमा सरर’ र झ्याउरे भाकाको ‘सान्नानीले झुक्यायो मलाई’ लगायतका गीतले बजार पिटे । दुई वर्षपछि रायमाझीले अर्को चलचित्र परदेशी मा पनि लोक लयकै गीत समावेश गरे । यसको ‘गयौ आमा’ बोलको गीत निकै चल्यो । 

२०७२ सालमा बनेको चलचित्र वडा नम्बर ६ को ‘सुर्के थैली खै’ गीत अहिले पनि वनभोज, बिहे, पार्टी लगायतमा घन्किरहेकै छ । यूट्युबमा अहिलेसम्म दुई करोड ७१ लाख बढीले हेरेको यो गीतसँगै चलचित्र पनि ‘सुपरहिट’ भयो । सुर्के थैली, पटुकी, चौबन्दी, झुम्के रुमाल, ठेकी, मदानी जस्ता लोप हुनै लागेका मौलिक शब्दावलीको प्रयोग र ओई सानी, रामसाइँला जस्ता सम्बोधनले गीतलाई जीवन्त बनाएको यसका गीतकार तथा संगीतकार राजनराज शिवाकोटी बताउँछन् ।

‘सुर्के थैली खै’ को लोक लयलाई निर्माताद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले अर्को चलचित्र छक्का पञ्जा मा पनि पछ्याए । उनै शिवाकोटीले आफ्नै शब्द र संगीतमा तयार पारे– ‘पूर्व पश्चिम रेल’ । यो गीत र चलचित्र पनि ‘सुपरहिट’ भयो । २०७३ जेठमा यूट्यूबमा अपलोड गरिएको यो गीत हालसम्म दुई करोड ८५ लाख बढीले हेरिसकेका छन् । शिवाकोटीकै अर्को सिर्जना चलचित्र दुई रुपैयाँ को ‘कुटुमा कुटु’ गीतले त वर्षदिनमै ६ करोड ४४ लाख बढी यूट्यूब ‘भ्यूज’ पाएको छ ।

दीपक–दीपा र नारायण रायमाझीका दुवै चलचित्र र यसका गीत, निश्चल–असिमको दुई रुपैयाँ को ‘कुटुमा कुटु’, श्वेता खड्का निर्मित कान्छी को ‘चरी चट्ट परी’, किरण केसी निर्मित शत्रु गते को ‘रुपै मोहनी’ लगायतका गीत लोक लयका हुन् ।

लोक लयको गीत र चलचित्र दुवै ‘हिट’ लिस्टमा परेपछि यसलाई पछ्याउने निर्माता/निर्देशकको ताँती लागेको छ । पछिल्ला तीन वर्षमा बनेका अधिकांश चलचित्रमा एउटा लोक लयको गीत अनिवार्य जस्तै बनेको छ । अधिकांश निर्माता/निर्देशकले लोक लयको गीतलाई चलचित्रमा शीर्ष गीतको स्थान दिएका छन् ।

प्रदर्शन भइसकेको चलचित्र मंगलम को ‘पर्ख पर्ख मायालु’ पटुकी को ‘पटुकी–पटुकी’ देखि प्रदर्शन हुन बाँकी भैरे को ‘सान्नानीले’, ह्याप्पी डेज को ‘चेप्टे चेप्टे पेरुङ्गो’, हामी शरणार्थी को ‘के राम्री देखियो’, शिरफूल को ‘शिरमै मोहनी’, लीला को ‘ढाकाको टोपीमा’ लगायतका गीत अहिले चर्चामा छन् ।

लोक लयको गीतले अपनत्व महसूस गराउने र आफू जन्मेहुर्केकै समाजको यथार्थ बोल्ने हुनाले श्रोता/दर्शकको रोजाइमा परेको गीतकार डा. कृष्णहरि बराल बताउँछन् । “लोक शैलीसँग हाम्रो संस्कृति जोडिएको हुन्छ” उनी भन्छन्, “मनोरञ्जन मात्रै नभएर पुर्खाको रगतबाट बग्दै आएको कारणले पनि नयाँ पुस्ताले लोक शैली रुचाएका हुन् ।” 

बजारको अस्त्र
त्यसो त आमा बाट शुरू भएको नेपाली चलचित्रको यात्रा प्रारम्भिक चरणमा लोक शैलीकै संगीतमा अडिएको थियो । २०२३ सालमै बनेको माइतीघर को ‘काला कुर्तैले’ त्यस्तै ३० को दशक र ४० को शुरुआती समयमा बनेको सिन्दुर को ‘लुकुलुकु लाग्यो मलाई’ प्रेमपिण्ड को ‘गैह्री खेतको शिरै हान्यो’ सीमारेखा को ‘छिटको गुन्यु’ सम्झना को ‘उकालीमा पछिपछि’ लगायतका लोक लयका गीत अहिले पनि जनजिब्रोमै झुण्डिएका छन् ।

२०४० र ५० को दशकमा बनेका चिनो को ‘मोहनी लाग्ला है’ सन्तान को ‘बाटो छ भिरालो’ प्रतीक्षा को ‘दुई चुल्ठी बाटेर’ आफ्नो मान्छे को ‘चट्ट रुमाल’, माइली को ‘बाँझो खेतमा’, दर्पण छायाँ को ‘लहनाले जुरायो कि’ पनि उत्तिकै सुनिने गीतमा पर्छन् । गीत मात्रै हैनन् त्यो समयका यी सबै ‘हिट’ लिस्टका चलचित्र पनि हुन् ।

नायिका स्वस्तिमा खड्का चलचित्र दुई रुपैयाँको ‘कुटुमा कुट’ गीतमा ।

त्यो बेला चलचित्र संगीतमा रहेका जयदेव, शिवशंकर, अम्बर गुरूङ, गोपाल योञ्जन, रञ्जित गजमेरका गीतहरूको लोकप्रियता आजसम्म कायम रहेको गीतकार डा. कृष्णहरि बराल बताउँछन्  । “लोक शब्द र संगीतसँगै त्यसबेलाका नारायणगोपाल, तारादेवी, अरुणा लामा, प्रेमध्वज प्रधान जस्ता गायक÷गायिकाको स्वरले थपेको उँचाइले पनि गीत जीवन्त बनाएको हो”, उनी भन्छन् ।

५० को दशकमा बनेका अधिकांश चलचित्रमा संगीत भरेका शम्भुजित बाँस्कोटा संगीत पक्ष बलियो भएका अधिकांश चलचित्र ‘हिट’ भएको तर्क गर्छन् । “त्यसमा पनि आफ्नो कला र संस्कृतिसँग जोडिएका कारण लोक संगीतले चलचित्रको व्यवसायमा सकारात्मक प्रभाव पार्छ”, उनी भन्छन् ।

तर, ५० को दशकको मध्यतिरबाट चुलिएको माओवादीको हिंसात्मक द्वन्द्वले चलचित्रको व्यापारमा प्रभाव पार्‍यो । यसको प्रभाव संगीतमा पनि देखियो । ५० को अन्त्यदेखि ६० को दशकभर औंलामा गन्न सकिने जति गीत पनि लोक लयमा बनेनन् । पारिवारिक र प्रेम कथाको साटो ‘एक्सन’ प्रधान चलचित्र बन्ने क्रम शुरु भयो ।

भारतीय चलचित्र संगीतको प्रभाव झनै चुलियो । “एकाध एक्सन चलचित्र चले पनि संगीतलाई ध्यान नदिंदा समग्र चलचित्र व्यवसायमै संकट देखियो”, बाँस्कोटा भन्छन् । तर, चलचित्रमा संगीतको महत्व बुझेकै कारण पुनः लोक शैली फर्किएको बाँस्कोटाको बुझाइ छ ।

हिन्दी संगीतको प्रभावलाई हटाउन लोक गायकबाट चलचित्र निर्देशक बनेका नारायण रायमाझी र गीतकार/संगीतकार राजनराज शिवाकोटीले उल्लेखनीय योगदान दिए । ७० को दशकको शुरुआतमा यी दुईले संगीत भरेका चलचित्र र गीत दुवै हिट भए ।

“२०७१ मा प्रदर्शन भएको नाइँ नभन्नू ल–३ मा समावेश शीर्ष गीतलाई ‘कम्मरमाथि पटुकी’ गीतले पछि पारेपछि श्रोता/दर्शकको रुचि लोक लयमा रहेछ भन्ने लाग्यो”, निर्माता/निर्देशक विकास आचार्य भन्छन् । “गीत राम्रा भएको कारण नाइँ नभन्नू ल का सबै सिक्वेल हिट भए” आचार्य भन्छन्, “चलचित्रको व्यवसायमा संगीतले ठूलो प्रभाव पार्छ ।”

त्यसैले छायांकनको क्रममा रहेको नाइँ नभन्नू ल–५ का लागि पनि लोक लयको गीत तयार पारिएको आचार्य बताउँछन् । संगीतकार शिवाकोटी चलचित्रले संगीतलाई र संगीतले चलचित्रलाई बोकेको कारणले राम्रो संगीत चलचित्र चलाउने साधन भएको बताउँछन् ।

शम्भुजित बाँस्कोटा भने अहिलेको चलचित्र संगीतको शैलीलाई नयाँ मान्दैनन् । आफूले ५० को दशकको शुरुआतमा विशुद्ध लोक भाकाका साथै आधुनिक शैलीका गीत बनाएको र अहिलेको पुस्ताले फेरि त्यही ‘ट्रेन्ड’ पछ्याउन खोजेको उनको दाबी छ ।

गीतकार बराल अहिले ‘हिट’ भनिएका गीत ‘लोक गीत’ नभई ‘लोक शैली’ को निरन्तरता मात्र भएको बताउँछन् । “चलचित्रको कथाले नमागे पनि जबर्जस्ती लोक शैलीका गीत समेटिन थालिएको छ, कतिपय गीत एकातिर र दृश्य अर्कोतिर घुमिरहेको जस्तो हुन्छ” उनी भन्छन्, “गीत र शब्दसँग दृश्यको भेटै हुँदैन ।” बरालको भनाइमा अहिले भनिएका लोक गीतमा माटोको रंग र समाजको कथाभन्दा व्यावसायिकता हावी छ । “यसले लोकगीतको अस्तित्व जीवन्त राख्न खासै भरथेग गर्दैन”, उनको तर्क छ ।

राजनराजको ‘राज’
वाणिज्यशास्त्रमा स्नातकोत्तर राजनराज शिवाकोटीले सांगीतिक क्षेत्रमा आउनुअघि केही समय कोरियाली प्रोजेक्टमा काम गरे । तर, उनको मन भने त्यता थिएन । गाउँघरका धुन, शब्द र लयमा थियो ।

गीतकार/संगीतकार तथा गायक राजनराज शिवाकोटी ।

जसै चलचित्र वडा नम्बर ६ को ‘सुर्के थैली खै’ गीत चल्यो, यसका गायक, रचनाकार र संगीतकार शिवाकोटीको चर्चा हुन थाल्यो । संयोग, त्यसपछि उनले ‘जे छोए त्यो सुन’ बन्यो । ‘पूर्व पश्चिम रेल’, ‘कुटुमा कुटु’, ‘चरी चट्ट परी’ ‘चेप्टे चेप्टे पेरुङ्गो’ आदि ।

दोलखाको डाँडाबारीमा जन्मेका यी सर्जक ‘सुर्के थैली खै’ पछि आम दर्शक÷श्रोताको ‘नोटिस’ मा परे पनि संगीत क्षेत्रमा भने २०५९ देखि नै सक्रिय छन् । यसअघि उनकै सिर्जनाका ‘वार्ता गराइदेऊ’, ‘डाँफे झैं नाँच्ने’, ‘जिन्दगी यो फूलै फूलको थुङ्गा’, ‘प्रिय तिम्रो’ पनि चलेका गीत हुन् । तर, चलचित्र संगीतले नै उनलाई आम मान्छेले सोध्ने–खोज्ने बनायो ।

आफ्नो गीतमा शब्द सबैभन्दा शक्तिशाली भएको शिवाकोटी बताउँछन् । लोकले बिर्सनै लागेका मौलिक शब्दका साथै माटोको सुगन्ध मिसिएको कारण दर्शक/श्रोताले गीत रुचाएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस