ब्लगशनिवार, आषाढ ९, २०७५

मिथिलामा नेपालको अक्षुण्ण अधिकार

ज्ञानमणि नेपाल

नेपालको अखण्डता बिथोल्न प्रेरित कूटनीतिक व्यक्तिहरुले समय समयमा अनेक आधारहीन कुरा बोल्ने गरेका छन् ।

तस्वीरः बिक्रम राई

गोरखाका राजा पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान र भारतमा ब्रिटिशको इष्ट इण्डिया कम्पनीको राज्य स्थापना सँगसँगै जस्तो हुँदै आएको थियो । सं. १८१९ मा पृथ्वीनारायणले ससुरालीको मकवानपुर राज्य जितेर नेपालमा मिलाइसकेका थिए ।

ब्रिटिशले मकवानी राज्यबाट बङ्गालका नवाफले पाउँदै आएको लाभ अब आफूले पाउनुपर्छ भनी पृथ्वीनारायणसँग लागदावी गर्न थाल्यो । तर, पृथ्वीनारायणले आफ्ना वकील मार्फत छलफल गराउँदा भूमिसम्बन्धी ब्रिटिशको लागदावी ठहरेन । 

नवाफले तराईमा शिकार खेल्न पाउने अधिकार नभई हात्ती लिने गरेको देखिंदा त्यही अनुसार सहमति भयो । त्यसपछि पनि पृथ्वीनारायणकै पालामा दुई पक्षबीच शान्तिसुरक्षा कायम गर्ने सम्बन्धमा सम्झाैता हुँदा बाँकी सबै विषय राफसाफ भइसकेको थियो । मकवानी राजाहरूले भोगचलन गरेको सम्पूर्ण पहाड र तराईका क्षेत्र नेपालमा मिलिसकेपछि त्यहाँ नेपालको अक्षुण्ण अधिकार कायम थियो, अहिलेसम्म कायम छँदैछ ।

यसपालि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रामजानकी मन्दिर दर्शन गर्न जनकपुर आउँदा उधुमसँग भएको स्वागत–सत्कारबाट उत्साहित केही भारतीयले ‘मिथिला क्षेत्र अंग्रेजले नेपाललाई आवधिक रूपमा दिएको’ भन्ने बकवास प्रचार गरे । यस्तो सोह्रैआना झूटा कुरा प्रचारमा आइरह्यो भने विखण्डनकारी छुस्केरालाई एउटा मसला मिल्न जाला । बेलैमा यस्ता कुराको निराकरण नभए अनर्थकारी होला भनेर मैले हिमाल साप्ताहिकको गताङ्कमा यथार्थ स्पष्ट पारिसकेको छु ।

गोरखाली भारदारले राम मन्दिर जीर्णोद्धार गरेको, रामजानकी मन्दिरका महन्त, जलेश्वरका पुजारी, मटिहानीका मानमहन्तहरूले सेन राजाको पालादेखि खाईपाई आएका गुठी जग्गा पछिका शाह राजादेखि थापा, राणासम्मले थामिदिएका, थपिदिएका सयौं पत्र छन् । तीमध्ये कति त म आफैंले पनि प्रकाशित गरेको छु ।

भोटु पाँडेले मटिहानी पूर्वतिरको तुलस्याही मौजाको धेरै बिघा जग्गा गुठी राखेर त्यहीं ठूलो मन्दिर बनाएर नित्यनैमित्तिक पूजा चलाएको पत्र मैले अन्यत्र प्रकाशित गरेको छु । सेन राजाका पालापछि शाह राजा, थापा शासक, राणा शासकका अनेक धर्मकर्म सम्बन्धी धेरै पत्र पाइए पनि अहिले यहाँ केही पत्र प्रस्तुत गरेको छु । यी पत्रहरू मकवानी सेन राजादेखि शाह कालसम्म मिथिलामा नेपालको अक्षुण्ण अधिकार कायम रहेको प्रमाण हुन् ।

हुन त अकाट्य प्रमाण हुँदाहुँदै पनि स्वार्थप्रेरित मूढाग्रही व्यक्तिहरू कुतर्क गर्न छाड्न सक्तैनन् । अनर्थ प्रचार शैलीबाट झूटलाई सत्य पार्न लागिपर्छन् । यो कुरा गौतम बुद्धको जन्मस्थान लुम्बिनीलाई लिएर बेलाबेला गरिने कुप्रचारले पनि देखाउँछ ।

कपिलवस्तुको तिरौलाकोट दरबार शाक्य गणपति शुद्धोदनको हो । बौद्ध वाङ्मयमा धेरै ठाउँमा कपिलवस्तुका शाक्य गणको उल्लेख पाइन्छ । मगधका राजा अजातशत्रुले कहाँका सिद्ध हौ भनी सोद्धा स्वयं गौतम बुद्धले ‘म हिमवत् क्षेत्रको कपिलवस्तुबाट आएको हुँ’ भनेका छन् ।

लुम्बिनीको अशोक स्तम्भको पालि भाषाको अभिलेखमा पनि स्पष्टसँग ‘हिद बुध जादो’ (यहीं बुद्ध जन्मेका थिए) भनी लेखिएको छ । यति हुँदाहुँदै पनि बुद्ध जन्मस्थलको विवाद उठाउनु आँखा छोपेर सूर्यको उज्यालोलाई नकार्नु जस्तै हो । त्यस्तै हो अहिले निकालिएको मिथिला क्षेत्रको विवाद पनि । सत्य समीक्षा गर्नेहरू यस्ता कुराको पछि लाग्दैनन् ।

श्री दुर्गा सहाये

श्री ज्यूज्यूवाज्या

स्वस्तिश्रीगिरिराजचक्रचूडामणिनरनारायणेत्यादिविविधा

विरुदावलीविराजमानमनोन्नतश्री

मन्महाराजाधिराजश्रीश्रीश्रीमहाराजगिर्वाणयुद्धविक्रमशाह

बहादुरसम्सेरजंदेवानाम्सदासमरविजयिनाम्

आगे महंत अनुप गिरिका चेला महंत वरजोर गिरिके जिल्लै महुतरी प्रगन्ना महुतरी मध्ये मौजे जलेश्वर ससीम १ मौजे महादेव पटी १ मौजे १ हेडा ससीम १ मौजे हरिहरपुर मैडाभी पटी ससीम मौजे १ अघी मकवानीले श्री १ जलेश्वर प्रितिगरि चढाइ तिम्रागुरु पुरुषा गोसाञी घनश्याम गिरि वनमाली गिरी नगदीस गिरी अनुप गिरिको नाउमा स्याहा मोहर गरि दियाको हाम्रा श्रीजिज्यू बाज्या पृथ्वीनारायण शाहबाट पनि ३१ सालमा महंत अनुप गिरिका नाउ मा लाल मोहरले बहाल गरि जलेश्वर १ प्रिति गरी चडाइ थामि बक्स्नु भयाको खेम गिरि गोसाञी वाला मौजे भारी मध्ये जमिन् विगहा दस १० समेत तामापत्र गर्नलाई ६७ सालमा नाप जाँच गर्न जान्या उदयसिं बस्न्यात् गणपति पाध्याले नाप जाच गर्‍याको बहतासायेर वाहीक येस विर्ता सदावर्तको आजसम्म चर्चि बेहोरी आयको जिमी जगा रकम कलम मोहर तामापत्रमा जलेश्वर १ प्रिति गरी चडाइ बक्स्यौ आफ्ना खातिरजमासंग आवाद गुलजार गरि पैदा भयाको ली जलेश्वरको १ नित्य नै मित्याक पुजा सदावर्त चलाई सेख रह्याको सिष्योपसिष्यसम्म परम सुख भोग गर हाम्रो जै मनाई आसिरवाद दिन्या गर गोडधुवा चुमावन गादि ममारख यो तिन कलम् लाग्दा अघी देखि ढोका मानी आयाको रहेछ आज पनि जौन सालमा यो कलम लागी जाला महंत आपै आई ढोका मान्नु आमिल तहसिलदारले टंटा तक्रार नगर्नु बिर्तवारले अध्र्यालो नचापनु विना तकसीर जवद नगर्नु जो एस वंधेजमा रहौन सो येस लोकमा भन्याको पातकी हौला ।

स्वदत्तां परदत्तां वा यो हरेद्वैवसुन्धराम् षष्टिवर्षसहश्राणिविष्टायां जायते क्रिमि

इति सम्वत् १८६९ साल मिति जेष्ठ सुदि ९ रोज ५ शुभम्...

(माथि) मोहर छाप

(श्रीश्रीश्री गिर्वाणयुद्धविक्रम शाहदेव) (१७२१)

मटिहानीका घण्टको अभिलेख

श्री

स्वस्ति श्री सम्वत् १९२५ साल मिति चैत्र शुदि ९ रोज ४ मा श्री मटिहानी अस्थानमा श्रीलक्ष्मीनारायण प्रिति कर्केश्रीमहन्त रक्ष्यारामदास ने चह्रायाको घण्ट हो शुभम् ।।

स्वस्ति श्री सम्वत् १९३० साल मिति कार्तिक शुदि ९ रोज ५ मा जिल्लै महोत्तरी मटीहानी अस्थानमा श्री ३ रघुनाथजी प्रीती कर्के सहर नेपाल काठमाडौं जैसिदेवल् टोल्मा रहने वालाराज दैवज्ञः तेजेन्द्र ध्वजस्य पुत्र ईन्द्रधोज सुन्दरधोज संकरधोजने चह्रायाको घंट हो शुभम्

स्वस्ति श्रीमद्राजकुमार कुमारात्यज श्रीसुप्रदिप्त मान्यवर मेजर जनरल सपरिवार रामसम्सेर जङ्गबहादुरराणाबाट श्रीजलेश्वर महादेव प्रिति गरि १९९५ सालमा चढाएको शुभम् ...

प्रतिकृया दिनुहोस