रिपोर्टशनिवार, आषाढ ९, २०७५

थाइल्याण्डमा नेपाली बस्ती

हिमालखबर

रमेश खड्का

वर्तमानले बिर्संदै गए पनि इतिहास साक्षी छ–पिलोकका डाँडामा रगतपसिना बगाएर मानव बस्ती बसाउने काममा नेपाली जतिको भूमिका कसैको छैन ।

अहिलेको पिलोक गाउँ । तस्वीरहरुः रमेश खड्का

पिलोक, थाइल्याण्डको राजधानी बैंकक्बाट २६१ कि.मि. टाढाको पहाडी गाउँ । अहिले थोङ फा फुम जिल्लामा पर्ने पर्यटकीय यो भूमिमा करीब आठ दशकअघि जंगल मात्र थियो ।

दोस्रो विश्वयुद्धताका ब्रिटिश सेनामा रहेका नेपाली र तिनका आफन्तले बर्माको सीमामा पर्ने यो भूमिमा पहिलोपटक घर बनाएका थिए । बर्मा र मलेशियामा त त्यसअघि नै नेपाली पुगिसकेकै थिए । तर, पहाडको यो टापु आफ्नो भएको कुरा थाइल्याण्ड सरकारलाई नै पत्तो थिएन । थाई सुरक्षाकर्मी त्यस पहाडको फेदी कञ्चनाबुरीसम्म मात्रै आफ्नो सीमा ठान्थे ।

नेपालबाट दार्जिलिङ, बर्मा हुँदै थाइल्याण्डको पिलोक पुगेका सन्तमान राईसँग खानीको राम्रो ज्ञान थियो । भनिन्छ, उनी माटो सुँघेर कहाँ खानी छ पत्तो पाउँथे । पिलोकका डाँडामा खानीको सम्भावना देखेपछि उनले उत्खनन् शुरू गरे । त्यसको हल्लाखल्ला फैलिएपछि थाई सरकारका प्रतिनिधिहरू खोज्दै आइपुगे । त्यसपछि बल्ल ‘आइन्दा यो काम थाइल्याण्डको लागि गर्नु’ भन्ने राईलाई पुर्जी थमाए ।

पिलोकस्थित माइन होमस्टेमा सजाइएको उबेलाका खानीका नेपाली श्रमिकको तस्वीर ।

विस्तारै खानीहरू विकसित हुँदै गए । यहाँका सबै नेपालीको जीविकाको आधार खानी नै भयो । पिलोक ‘नेपालीको गाउँ’ बन्यो ।

तर, सन् ८० को दशकमा टिनको बजार संकटमा परेसँगै दर्जनभन्दा बढी पिलोकका खानी बन्द गरिए । खानीमै निर्भर नेपालीको हातमुख जोर्ने कुनै साधन भएन । आफ्ना आफन्तको सहयोगमा उनीहरू बैंकक् र थाइल्याण्डका विभिन्न भागमा छरिए । तर, कानूनी हैसियत नभएकाले उनीहरूको हैसियत अनागरिक जस्तो थियो ।

माइला आचार्य (६८) पिलोकबाट सन् १९९४ मा बैंकक् आए । तर, उबेला बैंकक् आउन निकै कठिन थियो । कुन दिन पक्रिएला भन्ने चिन्ता हुन्थ्यो । उनी आएकै वर्ष बैंकक्मा एक जना नेपाली बसेको घरमा सन्तोषी माताको पूजा लागेको थियो । तर, पूजा नसकिंदै ९७ नेपाली पक्राउ परे ।

यो घटनापछि थाई सरकारलाई नेपाली र पिलोकको सम्बन्धबारे अझ् गहिरोसँग थाहा भयो । बैंकक्स्थित नेपाली राजदूतावासले पनि घटनामा सहजीकरण गर्‍यो । थाइल्याण्डका नेपालीको संस्था थाई नेपाली संघका पूर्व अध्यक्ष ऋतुराज पाण्डे पिलोकसँग थाई नेपालीको जीवन जोडिएको बताउँछन् ।

वीरेन्द्रको भ्रमण
संयोग, लगत्तै सन् १९९५ मा नेपालका राजा वीरेन्द्रले थाइल्याण्ड भ्रमण गरे । वीरेन्द्र र थाई राजा भूमिबोलका बीच अत्यन्त राम्रो सम्बन्ध थियो । यही मौकामा नेपालीको टोलीले थाइल्याण्डका नेपालीको समस्या राख्यो ।

खानी पत्ता लगाउने शान्तमान राई ।

भोलिपल्ट वीरेन्द्रले थाई नरेशसँग ‘दोस्रो विश्वयुद्ध ताकाका नेपालीलाई यतै बसोबास र परिचयको व्यवस्था मिलाउन’ आग्रह गरे । भूमिबोलले पनि यो प्रस्ताव स्वीकार गरे । सन् १९९५ को अन्त्यतिरैबाट थाइल्याण्डका नेपालीलाई परिचयपत्रको व्यवस्था शुरू भयो ।

शुरूमा थाई अधिकारीहरूले नेपालको राजदूतावासमा नै बसेर यो सेवा दिएका थिए । यसपछि थाई राजपरिवारका सदस्यहरूसँगै राजा भूमिबोलकी आमा समेत पिलोक पुगेको, नेपालीलाई उपहार दिएको अहिले पनि बूढापाकाहरू सम्झन्छन् । राजाको भ्रमण नेपालीका लागि अस्तित्व खोजको कोसेढुंगा नै बन्यो ।

कागजात नपुगेका बाहेक अहिले धेरै नेपालीमूलका थाईसँग त्यहाँकै नागरिकता छ । तर, उनीहरू आफूलाई नेपाली नै ठान्छन् । “भाषा र भेष हरायो भने त हाम्रो अस्तित्व पनि हराउँछ, त्यसैले हामी जसरी हुन्छ नेपालीपन जोगाउने काम गरिरहेका छौं”, थाइल्याण्डमा नेपालीको इतिहासबारे अध्ययनका लागि गत महीना त्यहाँ पुगेको यो पंक्तिकारसँग थाई नेपाली संघका सल्लाहकार डेविड खनाल भन्दै थिए ।

पिलोक नै प्यारो 
एबु तातोपानी क्षेत्र उबेला १ नम्बरको नामले चिनिन्थ्यो । त्यहीं जन्मेकी थिइन्, काइली राना (७५) । अहिले पिलोकमा थोरै नेपाली मात्र बसे पनि बाल्यकालमा देखेको पिलोकको सम्झ्ना उनको स्मृतिमा आइरहन्छ । भन्छिन्– यो त सानो नेपाल थियो । खानीका छेउछाउ १ देखि १२ नम्बरका बस्तीमा नेपाली नै नेपाली देखिन्थे । बर्मेलीहरू त कामको लागि आउजाउ मात्र गर्दथे ।

नेपालीहरू देउसीभैलो, चौथी, फागु, तीज, संक्रान्ति सबै चाडबाडहरू मनाउँथे । चाडबाड आयो कि नेपालीको जमघट शुरू भइहाल्थ्यो । तर, विस्तारै नेपालीले पिलोक छाड्न थाले । बस्ती पातलिन थाल्यो । “चाडबाड आयो कि आफन्तको सम्झ्ना आउँछ, अनि एक्लै डाँडामा गएर रुन्छु”, उनी भन्छिन् । काइलीका थाई श्रीमान् फाग दी काइलीलाई नेपाली भेट्टाउन बेलाबेला बैंकक् लैजान्छन् ।

काइली राना ।

रोजगारी, व्यवसाय र शिक्षाका लागि छरिए पनि नेपाली भाषा, संस्कृति, जीवनशैली सिकाउने पिलोक गाउँ थाइल्याण्डका नेपालीको मनमा बसेकोे छ । यीमध्येकै हुन् पुर्खाराम राई (६०) । उनी बैंकक् पहिलोपल्ट आउँदा शहर बन्नै बाँकी थियो । गाईभैंसी चरेका देखिन्थे । “पिलोकमा बिताएको बाल्यकाल बिर्सन सकेको छैन”, उनी भन्छन् । बैंकक्मा एक दशक बिताएका कान्छा राना (६२) भने अहिले पिलोक नै फर्के । “पुर्खाहरूले सिर्जना गरेको ठाउँ छाड्न मन मानेन”, उनी भन्छन् ।

तर धेरैका लागि पिलोक नौलो बनिसकेको छ । २२ वर्षअघि पिलोक छाडेका लक्ष्मण खत्री गत वर्ष आफ्नो जन्मघर खोज्न पिलोक गए । तर, भेटेनन् । घर छाडेको ठाउँ पुनः जंगलले लिएको छ । “जंगलको छेउमा कतै तुलसीको मठ, कतै मन्दिर र कतै घरका अवशेष मात्र देखिए”, उनी भन्छन् ।

‘नेपालीत्व छाडिन्न’
थाई नेपाली संघका अनुसार थाइल्याण्डमा करीब ८० हजार नेपाली छन् । यो समुदायसम्म नेपाली भाषा, संस्कृति र संस्कार प्रचारप्रसार गर्न संघले विभिन्न कार्यक्रम गरिरहेको छ । यसका लागि शिक्षा शिविर जस्ता कार्यक्रम पनि सञ्चालन गरिरहेको संघका अध्यक्ष कुमार कार्की बताउँछन् ।

पिलोक पुगेका थाइल्याण्डका नेपाली ।

संस्कृतिसँगै सकेसम्म नेपाली भाषामा रैथाने शब्दको प्रयोगमा पनि संघले जोड दिएको छ । “भलिबल र फूटबललाई हामी गोला, ट्वाइलेटलाई पाइखाना भन्छौं” संघका सल्लाहकार डेविड खनाल भन्छन्, “देश छाडेको धेरै भए पनि पुस्तापुस्तामा परम्परागत ज्ञान हस्तान्तरण भइरहेको छ ।”

माइला आचार्य जतिसुकै अप्ठेरोमा पनि यहाँका नेपालीले भाषा, संस्कार र संस्कृति मान्न नछाडेको बताउँछन् । “जहाँ भए पनि आफूलाई नेपाली भन्न छाडेनौं, छाड्दैनौं”, उनी भन्छन् ।

प्रतिकृया दिनुहोस