ब्लगशनिवार, आषाढ ९, २०७५

आर्यघाटमा मुर्दा बोल्यो

भैरव रिसाल

बोल्न पाएको मञ्चहरूको सदुपयोग गर्न खप्पिस सूर्यबहादुर थापाले एकपटक आर्यघाटको मुर्दालाई राष्ट्रिय सभागृह ल्याएर सत्तासीनहरूलाई तर्साएका थिए ।

सूर्यबहादुर थापा कड्किए “हामी ज्युँदा मान्छे बोल्न सकेनौं अनि आर्यघाटमा मुर्दा बोल्यो !” उनी अझ् ठूलो आवाजमा गर्जिए, “पशुपति आर्यघाटमा दाउरा नपाएर मुर्दा बोल्यो, खै हामीलाई जलाउने दाउरा ?” 

निकै चोटिलो व्यंग्य प्रहार थियो सरकारका लागि सूर्यबहादुरको । त्यतिबेला दाउराको चर्कै अभाव थियो । मरेका आफ्ना मान्छेको समयमा दाहसंस्कार, सद्गत गर्न नपाएर हैरान थिए शोकाकूल परिवार र आफन्तजन ।

सूर्यबहादुर थापा । तस्वीरः मीनरत्न बज्राचार्य

आर्यघाट, भष्मेश्वर आदि श्मसान घाटहरूमा अन्तिम संस्कारका लागि लगिएका र त्यहींको ब्रह्मनालमा प्राण त्यागेकाहरुलाई जलाउन घण्टौं कुर्नुपथ्र्यो दाउरा नपाएर । कहिले कहिले त दाउरा नपाएर रातरात भर लास कुर्नुपथ्र्यो । सूर्यबहादुर थापाले यसैलाई हानेका थिए ।

यो कुरा थियो– २०३१ पुस १३ गते अपराह्न तीनबजे, भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहको । त्यसको भोलिपल्ट राजा वीरेन्द्रको जन्मोत्सव थियो । त्यही उपलक्ष्यमा श्री ५ वीरेन्द्रको बहुमुखी व्यक्तित्वमाथि विशिष्ट प्रवचन आयोजना गरिएको थियो ।

तर, सूर्यबहादुरले आफ्नो पालोमा मुर्दा बोलाइदिए । प्रमुख अतिथि थिए प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल । उनी सूर्यबहादुर थापाको धूर्तता मिसिएको व्यंग्य कति बुझ्थे, त्यो अर्को प्रश्न थियो । समारोहमा पूर्व प्रधानमन्त्रीहरू डा. तुलसी गिरी, कीर्तिनिधि बिष्ट लगायत पञ्च नेताहरू बाक्लै थिए ।

वक्तालाई तातो कफी, श्रोतालाई स्याँठ
मध्य पुसको काठमाडौं, त्यसमाथि हिउँदे झ्री । सभागृहमा सिउ–सिउ पार्ने जाडो थियो । हललाई तातो गराउने मेशीनहरू सबै बिग्रेका थिए । सभा सञ्चालन भैरहँदा मञ्चमा आसीन पञ्च नेताहरूलाई तात्तातो कफी ‘सर्भ’ गरियो । ठीक सामुन्नेको अग्र लहरमा बसेका हामी पत्रकार पनि त्यो तातो कफीको आतिथ्य पाउनेमा परेनछौं ।

मैले खूब याद गरेको थिएँ– सूर्यबहादुरले मञ्चमा त्यो कफी खाएनन् । उनले त्यो अशिष्ट व्यवहार गर्ने आयोजकहरुलाई के बाँकी राख्थे ? अर्को व्यंग्य कसिहाले, “आयोजकहरूले हामी मञ्चमा बस्नेलाई मात्र तातो कफी खुवाएर तताएका छन् ।

म देखिरहेको छु, तपाईं श्रोताहरू वित्पातको ठण्डीले लुगलुग कामिरहनुभएको छ । राजाको जन्मोत्सव मनाउँदा पनि, एक घुड्को कफीमा पनि पक्षपात छ यहाँ । यस प्रतिकूल स्थितिमा लामो भाषण छाँटेर श्रोतालाई निमोनिया रोगग्रस्त गराउन चाहन्न । मेरो बुद्धि बिग्रेको छैन ।”

हलमा तालीको पर्रा छुट्यो । अघि उनले मुर्दा बोलाउँदा भन्दा लामो समय ताली बज्यो । सूर्यबहादुर थापाले त्यो बजार पूरै कब्जा गरे ।

सूर्यबहादुर भन्दा अघि केही पञ्च नेता बोलेका थिए तर ती बोलाइमा खास दम थिएन । चाकडीको भाषा शैली कसैले ध्यान दिएर सुनेकै थिएन । सूर्यबहादुरको मुर्दा र कफी प्रसंग पछि त अरू वक्ताका कुरा पनि त्यसै फिक्का भए ।

चिसोले पनि सारै सेक्यो । चिया–कफी नखुवाएकोमा सूर्यबहादुरले ठाडै आलोचना गर्दा पनि आयोजकहरूको घैंटामा घाम लागेन । कार्यक्रम विपन्न ढंगबाट सम्पन्न भयो ।

धेरै वर्ष अघि टेकू दोभानमा ‘बिजुली श्मसान’ जडान गर्ने प्रयास भएको थियो, तर वर्षौं बित्दा पनि त्यो पूरा भएन । त्यसका लागि एउटा भुईंतले घर जस्तो संरचना बनेको थियो । त्यो अपूरो मसान घर ज्युँदा मान्छे, भरियाहरूको आश्रयस्थल वा शयन कक्षको रूपमा प्रयोग भयो । अहिले पनि त्यहाँ गएर हेरे देखिएला त्यो हरिविजोग !

त्यो जमानामा सद्गत गर्न दाउरा नै निर्विकल्प वस्तु थियो । त्यति बेलाका सरकारहरू मुर्दा पोल्ने दाउराको सम्म व्यवस्था गर्न समर्थ थिएनन् । त्यो पनि निःशुल्क भए एउटा कुरा, तर तोकेको पैसा तिरेर नै लिइन्थ्यो ।

यस्तो संवेदनशील काँचो सत्यलाई सार्वजनिक मञ्चहरूमा सशक्त र आकर्षक शैलीमा राख्थे सूर्यबहादुर थापा । त्यसैले उनले पशुपति आर्यघाटको मुर्दालाई राष्ट्रिय सभागृह ल्याएर सत्तासीनहरूलाई तर्साउन सके ।

प्रतिकृया दिनुहोस