रिपोर्टशनिवार, आषाढ ९, २०७५

विषादीः अन्धाधुन्द प्रयोग अपूरणीय क्षति

हिमालखबर

रामु सापकोटा र लक्ष्मी गौतम

विषादीको जथाभावी प्रयोगले कीरामा विषादी पचाउने क्षमता बढाउनुको साथै मानव स्वास्थ्य र पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) मा समेत सीधा क्षति गरिरहेको छ ।

ललितपुर, लुभूका दीप आले मगर (२४) टमाटर लगाउनुअघि विनाशकारी कीरा अफिड नियन्त्रण गर्न जैविक कीटनाशक विषादी छर्दै । तस्वीरः बिक्रम राई

फाल्गुनन्द गाउँपालिका–४, पाँचथरका किसान टीका नेम्वाङलाई खुर्सानीमा लाग्ने लाई र फल कुहाउने औंसाले हैरान बनाएको छ । १२ वर्षदेखि अकबरे खुर्सानीको व्यावसायिक खेती गरिरहेका उनी रोग र कीरा हटाउन प्रयोग गरिने विषादीले काम गर्न छाडेपछि चिन्तित छन् ।

सात वर्ष अघिसम्म खरानीले यो रोग नियन्त्रण गरेका नेम्वाङ अहिले त रोगर विषादी समेत असरहीन बनेको बताउँछन् । मालाथिओन विषादीले काम गर्न छोडेपछि त्यो भन्दा कडा रोगर चलाउन थालेको बताउँदै उनी भन्छन्, “अहिले त त्यसले पनि काम गर्न छाड्यो ।” 

सात वर्षदेखि टमाटर खेती गरिरहेका पाँचथरकै याङवरक गाउँपालिका–६ का प्रेमकुमार सिग्देल विषादीले काम नगरेसँगै रोगकीराको प्रकोप अचाक्ली बढेको बताउँछन् । कीराले टमाटरको चिचिला छेडेर भित्र पार्ने औंसाले सबै फल कुहाइदिने उनले बताए ।

पाँच वर्षअघिसम्म रिवन नामक कीटनाशक विषादीले मर्ने औंसा अहिले जति विषादी छरे पनि मर्न छाडेको उनी बताउँछन् । नेम्वाङ र सिग्देलको समस्या पूरै पाँचथरका तरकारी र फलफूल किसानको समस्या हो । देशभरका किसान पाँचथरे किसानको जस्तै समस्या झेलिरहेका छन् ।

कीराले विषादी पचाए
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कीट विज्ञान महाशाखाका प्रमुख प्रेमनिधि शर्मा एकै खालको विषादी प्रयोग गरिरहँदा हानिकारक कीराहरूमा पचाउने क्षमता (रेसिस्टेन्स पावर) बढाउने बताउँछन् । उनका अनुसार, विषादीको प्रयोग जति बढायो, नयाँ कीराहरूले त्यसलाई पचाउने क्षमता त्यति नै बढाउँछ ।

बाली संरक्षण निर्देशनालयका अनुसार दलहन बालीमा लाग्ने हेलीकोभर्पा आर्मीजेरा (कोसाको गभारो) ले अर्गानोफोस्फेट विषादी पचाउन थालेको छ । दलहन बालीको कोसा लाग्ने बेलामा यसले आक्रमण गर्न थाल्छ ।

त्यस्तै, धानमा लाग्ने खैरो फड्के कीराले पनि विषादी पचाउन थालेको छ । यो कीराले १५–२० दिनको धानको फेदमा फुल पारेर आफ्नो संख्या बढाएर आक्रमण गर्न थाल्छ । धानको बाला निस्कने बेलामा यसको प्रकोप बढ्छ । कीट विज्ञान महाशाखाका प्रमुख शर्मा चाहिनेभन्दा बढी वा कम विषादी प्रयोग गर्दा फड्के कीराको संख्या बढ्न मद्दत पुग्छ ।

महाशाखाले पोखरा र नेपालगञ्जमा सन् १९९३ देखि १९९६ सम्म गरेको अध्ययनले अन्धाधुन्द विषादी प्रयोगले हेलीकोभर्पाबाट नयाँ ‘सुपर बग’ विकास भएको देखाएको थियो । अध्ययनबाट चनाको कोसामा लाग्ने हेलीकोभर्पा आर्मीजेराको लार्भाले साइपरमेथ्रिन, फेनभेलेरेट, इन्डोसल्फान, क्विनलफस, मोनोक्रोटोफस र मिथोमाइल विषादी पचाएको पाइएको थियो ।

आलु बालीको अवस्था पनि त्यस्तै छ । १० वर्ष अघिसम्म आलुको डढुवा रोग नियन्त्रण गर्न किसानले डाइथेन एम–४५ नामक फंगीसाइड विषादी प्रयोग गर्थे । अहिले आलुको डढुवा रोग नियन्त्रण गर्न किसानहरू डाइथेन एम–४५ भन्दा निकै कडा मेटालिक्स चलाइरहेका छन् ।

यसले एकातिर शत्रु कीराहरूको प्रतिरोधात्मक शक्ति बढाइदिएको छ भने अर्कातिर मित्र कीराहरू नासिएर दिनप्रति दिन पर्यावरण बिग्रिरहेको छ । अझ् खतरनाक कुरा, यसले मानव स्वास्थ्य र पारिस्थितिक प्रणाली (इकोसिस्टम) लाई ठूलो जोखिममा पारिदिएको छ ।

गैर–सरकारी संस्था ‘नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर एण्ड बायो–रिसोर्सेस्’ का कृषि तथा वातावरण विज्ञ किशोर आत्रेय यो अवस्था आउनुमा मूलतः सरकारको कमजोरी र किसानको लापरबाहीलाई जिम्मेवार ठान्छन् । बालीमा लाग्ने रोग कीरा नियन्त्रणका अन्य विकल्पहरू पनि छन्, तर किसानहरूले झ्ञ्झ्टिलो मानेर तुरुन्त परिणाम दिने विषादी रोज्छन् । किसानले धेरै उत्पादन गर्ने लोभमा कडा खालका विषादीको अत्यधिक मात्रामा प्रयोग गरिरहेका छन् ।

बालीमा लाग्ने रोगकीरा नष्ट गर्न रासायनिक विषादीको विकल्प पनि छन् । बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक अच्युतप्रसाद ढकालका अनुसार गभारोलाई हातले टिपेर मार्ने, कीरा लागेको पात काटेर फाल्ने, मोहिनी पासोको प्रयोग गर्ने, रोगी बिरुवालाई उखेलेर खाडलमा गाड्ने जस्ता उपाय अपनाउन सकिन्छ ।

त्यस्तै, २०० मिलिलिटर तोरीको तेल, १५ मिलिलिटर स्याम्पु र १६ लिटर पानीको घोललाई २४ घण्टा राखेर बालीमा छर्दा सेतो झिगाको समस्या निर्मूल हुन्छ । त्यस्तै, उड्ने कीराहरूलाई जालीमा पार्ने र बत्ती बालेर माउ कीरा नियन्त्रण गर्ने विधिहरू पनि छन् । तर, किसानहरू यस्ता विधिलाई झञ्झटिलो र कडा विषादी प्रयोगलाई सहज मान्छन् ।

बाली संरक्षण निर्देशनालयको तथ्यांकले नेपाली कृषिमा विषादीको प्रयोग लगातार बढिरहेको देखाउँछ । निर्देशनालयको विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाका अनुसार आर्थिक वर्ष २०७२/७३ मा कृषि प्रयोजनका लागि ९ लाख ५५ हजार किलो विषादी प्रयोग भयो । त्यसको चार वर्षअघि आव २०७०/७१ मा यो आँकडा ९ लाख १ हजार ५६९ केजी थियो । तीमध्ये अधिकांश विषादी तरकारी र फलफूल किसानले खपत गरेका हुन् ।

“विषादीको प्रयोग जति बढायो, नयाँ कीराहरूले त्यसलाई पचाउने क्षमता त्यति नै बढाउँछ।” 
प्रेमनिधि शर्मा
प्रमुख, कीट विज्ञान महाशाखा नेपाल कृषि अनुसन्धान परिषद्

निर्देशनालयले आ.व २०७१/७२ मा कालीमाटी तरकारी बजारमा संकलन गरेको १५७० नमूनामध्ये चार वटामा विषादी रुकावट दर ४५ प्रतिशतभन्दा माथि पाइएको थियो । विषादी रुकावट दर ४५ प्रतिशतभन्दा माथि हुँदा मानव शरीरमा न्यूरो ट्रान्समिटरका रूपमा काम गर्ने एची इन्जाइमको मात्रा घटाउँछ । न्यूरोनहरू मार्फत मस्तिष्कमा सूचनाहरू पठाउने कार्य न्यूरो ट्रान्समिटरले गर्छ ।

त्यस्तै, आव २०७३/७४ मा तरकारीका १९३० नमूनामध्ये २१ वटामा विषादी रुकावट दर ४५ प्रतिशतभन्दा माथि थियो । यो खान नहुने तरकारी वा फलफूल हो, तर उपभोक्ताहरू त्यही किन्न बाध्य छन् । “अवस्था यस्तो छ, तर दाताकेन्द्रित कार्यक्रमको पछि लागेको सरकारले विषादीको दुरुपयोग रोक्न ध्यान दिन सकेकै छैन”, कृषि तथा वातावरण विज्ञ आत्रेय भन्छन् ।

विषादीको अनुचित प्रयोग संसारभरकै समस्या हो । अमेरिकाको इन्जिनियरिङ लाइफ साइन्स जर्नलमा प्रकाशित एक अध्ययनले बालीको कीरा मार्न छरिने १०० केजी विषादीमध्ये ४५ केजी बालीमा जाने, ३० केजी उडेर अन्यत्र जाने, १० केजी जमीनमुनि पर्ने र १५ केजी नजिकका ठाउँतिर जाने गरेको देखाएको थियो ।

बालीमा परेको ४५ केजी विषादीको एक प्रतिशत मात्र कीरा वा रोगसम्म पुग्ने अध्ययनको निष्कर्ष छ । किसानहरू भने एकपछि अर्को कडा विकल्प खोजिरहेका छन् । पूर्वी पहाडी जिल्ला पाँचथर नै त्यसको उदाहरण हो ।

धानमा लाग्ने खैरो फड्के कीरा ।

तरकारी र फलफूल उत्पादन हुने ठाउँका रूपमा चिनिने जिल्ला सदरमुकाम फिदिम, हिलिहाङ, याङवरक र फाल्गुनन्द गाउँपालिकाका किसानले पहिले कीटनाशक र ढुसीनाशक रोगर प्रयोग गर्थे । त्यसले काम गर्न छाडेपछि अहिले अल्कोरा चलाउन थालेका छन् । कृषि प्रशिक्षक समेत रहेका हिलिहाङ–७ का अगुवा किसान गणेश पोखरेलका अनुसार पाँच वर्ष अघिसम्म रोगरले शतप्रतिशत कीरा माथ्र्यो । तीन वर्षअघि कीरा मर्ने दर ६० प्रतिशतमा झर्‍यो । गत वर्ष ४० प्रतिशत कीरा मारेको रोगरले यो वर्ष ३० प्रतिशत पनि काम गरेन । त्यसको विकल्पमा किसानले अल्कोराको प्रयोग बढाएका छन् ।

चाहिने जीव र कीरा मारिए
नेपालमा पहिलो पटक सन् १९७७ मा झापाको चन्द्रगढीको धान बाली खैरो फड्के कीरा (ब्राउन प्लान्टहोपर) ले नष्ट पारेको थियो । १९८८ मा सुनसरी र मकवानपुर, १९९६ मा चितवन हुँदै सन् १९९८ मा धनुषा, महोत्तरी, बारा, रौतहट, सुनसरी, मोरङ, उदयपुर, सिरहा र कपिलवस्तुको धानबालीमा खैरो फड्के कीरा फैलियो । अहिले यो देशैभरको धान बालीको प्रमुख शत्रुमा दरिएको छ ।

त्यस अघि सन् १९५४ मा फिलिपिन्सको धानमा खैरो फड्के कीरा देखिएको थियो । त्यहाँ पहिला देखिएको स्टिमबोरर कीरा मार्न अर्गानोफोस्फेट वर्गको डाइजिनोन् विषादी प्रयोग गरियो, जसले स्टिमबोररलाई मार्ने ट्राइकोडर्मामा जस्ता मित्र परजीवीलाई सखाप पार्‍यो । त्यसरी पारिस्थितिकीय प्रणाली बिग्रिएर खैरो फड्के कीरा आइलागेको मानिन्छ ।

बढ्दो विषादीको प्रयोग र प्रदूषणका कारण नेपालमा अहिले भ्यागुता, गिद्ध, माहुरी, गाइने कीरा आदि मित्र जीवहरू हराउँदै गएका छन् । कीट विज्ञान महाशाखाका मौरी विज्ञ सञ्जय बिष्ट मालाथियन, साइपरमेथिन, रोगर लगायतका विषादीको बढ्दो प्रयोगका कारण बालीको फूलको रस लिने मौरी, धानको गभारो खाने गाइने कीरा हराउँदै गएको बताउँछन् ।

सुन्तलाको जरा कुहाउने पिथियमलाई अर्को जीवाणु ट्राइकोडर्माले खान्छ । तर किसानले पिथियम मार्न फन्जिसाइड विषादी प्रयोग गर्दा ट्राइकोडर्माले सखाप भएको छ भने पिथियमले प्रतिरोधात्मक शक्ति बढाएको छ । विभिन्न अनुसन्धानले नेपालमा विषादीको अत्यधिक प्रयोगबाट गिद्ध, चील, बाज, काग लगायतका शिकारी चरा पनि घटेको देखाएको छ । त्यसमा डीडीटी, अर्गानोफोस्फेट, अर्गानोक्लोराइन विषादीको प्रमुख भूमिका छ ।

नेपालमा विषादीको प्रयोग
मलेरिया रोग निर्मूल गर्न सन् १९५० को दशकमा देशभित्र पहिलो पटक अमेरिकाबाट विषादी आयात भएको थियो । त्यही क्रममा सन् १९५२ मा चितवनमा डाइक्लोरो डाइफेनेल ट्राइक्लोरोइथेन (डीडीटी) छरियो । सन् १९५६ बाट त्यही रसायनलाई कृषि क्षेत्रमा पनि कीरा नियन्त्रणका लागि प्रयोग गर्न थालियो । कीरा नियन्त्रणमा विषादी प्रभावकारी देखिएपछि किसानले आफैंले पनि डीडीटी भारतबाट आयात गर्न थाले ।

सन् १९७७ मा कपिलवस्तुको बहादुरगञ्जमा नेपाल पेस्टिसाइड तथा केमिकल इण्डष्ट्री नै स्थापना भएर बीएमसी, मिथाइल पाराथिन, जिंक फोस्फेट लगायत नौ किसिमका विषादी उत्पादन गर्न थाल्यो । सन् १९९५ मा उद्योग बन्द भयो । त्यसयता सबभन्दा बढी विषादी भारतबाट आयात भइरहेको छ ।

प्रतिकृया दिनुहोस