कला/साहित्यशनिवार, आषाढ ९, २०७५

सियासी शायर

रविन गिरी

उर्दू जुवानका खातिर आफ्नो ठाउँमा अरुलाई पठाउने खयाली आज रहेनन् । लाग्दैछ– बाँकी नेपालले पनि खयाली गएको ‘ख्याल’ नै गरेन ।

तुम्हारे बाद तो सब कुछ नयाँ जरुरी है
नयाँ जहाँ नई आब व हवा जरुरी है ।
उठा चुका वो बहुत उँगलियाँ जमाने पर
अब उसके हात मे भी आइना जरुरी है ।
–मोहम्मद अमिन खयाली

२०६८ जेठको अन्तिम साता । नेपालगञ्जको मुशाफिर खानामा एक हिसाबले अकस्मात् मुशायरा (कवि गोष्ठी) को आयोजना भएको थियो । सन्दर्भ थियो, ‘नेपालीः अ टीभी ब्लग’ । काठमाडौंबाट यो ब्लगर्स टोली नेपालगञ्ज पुग्नु एक दिनअघि मात्र कार्यक्रमको अन्तिम टुंगो लागेको थियो, जसमा पंक्तिकार पनि सहभागी थियो ।

आ–आफ्ना काममा व्यस्त नेपालगञ्जका उर्दू शायरहरूलाई एकठाउँमा जम्मा गर्न एकाएक सहज पनि थिएन । तर, मुस्तफा अहसान कुरैसीको दौडधुपले यसलाई सम्भव तुल्यायो र ‘मेहफिल’ साँझ ८ बजेसम्म जम्यो । डेढ दर्जन जति कविले कविता र गजल सुनाए, टेलिभिजनमा अल्पसंख्यकका उर्दू शायरी सुनाउन पाउँदा अधिकांश मुसलमान शायर दंग पनि देखिए ।

तिनैमध्ये एक थिए, मौलाना मोहम्मद अमिन खयाली । नेपाल उर्दू–ए–अदबका अध्यक्ष समेत रहेका यिनै खयालीको ७१ वर्षको उमेरमा १ असारमा निधन भयो । लामो समयदेखि मुटु र फोक्सोको समस्याले पीडित उनी रोगका बावजूद हरेक मुशायरामा उपस्थित भएर नयाँ पुस्ताको हौसला बढाउँथे । उनको निधनसँगै नेपालगञ्ज र समग्र नेपालले उर्दू शायरीका एक उस्ताद गुमाएको छ ।

हृदयले शायर खयाली पेशाले भने चित्रकार थिए । दाङको तुल्सीपुरमा जन्मिएका उनी इस्लाम धर्म पढ्न भारतको उत्तरप्रदेश पुगे । चित्रकलाबाट जीविका चल्ने देखेपछि उनी मोरादावादको हेना आर्ट पुगे । त्यहाँबाट उनी राम्रो पेन्टर बनेर फर्किए ।

नेपालगञ्जका पत्रकार जनक नेपालले खयालीलाई उद्धृत गर्दै लेखेका छन्, “इस्लाम धर्मको हुकुम छ– प्राण भर्न सक्दैनौ भने तस्वीर नबनाऊ, त्यो ‘हराम’ हो ।” तर हुबहु चित्र कोर्न सक्ने खूबीले उनलाई जनकपुर चुरोट कारखानामा जागिरे पनि बनायो । यो कारखानाबाट उत्पादित चुरोटका थुप्रै होर्डिङ खयालीले नै बनाएका थिए । उनले सबभन्दा बढी चाहिं राजा वीरेन्द्रको परिवारको चित्र बनाएका थिए ।

साहित्यकार खगेन्द्र गिरी ‘कोपिला’ का अनुसार, नेपालगञ्जको उर्दू गजललाई देशविदेश फैलाउनेमा खयालीको खास देन छ । उनले लेखेका छन्– ‘खयालीलाई सियासी शायर (राजनीतिक विषयमा गजल लेख्ने कवि) मानिन्छ । पञ्चायतकाल होस् या द्वन्द्वकाल अथवा विभिन्न खाले सत्ताको समयमा; अमिन खयालीले गजलद्वारा मान्छेको अहंकार र हठमाथि प्रहार गरिरहे ।’

उर्दू साहित्यमा गजल प्रकाशन भन्दा सुन्ने, सुनाउने परम्परा छ । भारतको लखनऊको गजल माहोलबाट बाँकेको नेपालगञ्ज प्रभावित नहुने कुरै भएन । यस्तो श्रुति परम्परामा खयालीले पनि कति गजल लेखे, हराए थाहा छैन । उनको गजलसंग्रह कहिल्यै निस्किएन । संयुक्त गजलसंग्रह तबस्सुमका दिया मा भने उनका १० वटा गजल परेको ‘कोपिला’ ले उल्लेख गरेका छन् ।

पछिल्लो समय खयाली नेपालगञ्जमा बोलिने उर्दूको भविष्यलाई लिएर चिन्तित थिए । “अहिलेसम्म त व्यक्तिगत कोशिश र खर्चका भरमा उर्दू भाषालाई जीवित राख्ने प्रयत्न गरिरहेका छौं” टीभी ब्लगसँगको कुराकानीमा उनले भनेका थिए, “अब नेपाल राज्यले पनि उर्दू तहजिब बचाउन ध्यान देओस् भन्ने हाम्रो गुजारिस छ ।”

त्यसो त नेपालगञ्जको मुशायरा काठमाडौंले नसुनेको होइन । खयाली स्वयम् पहिलोपल्ट २०३१ सालमा राजा वीरेन्द्रको जन्मोत्सवका अवसरमा गजल सुनाउन राजधानी डाकिएका थिए । पछिल्लो पटक १० कात्तिक २०७० मा काठमाडौंमा आयोजित नेपाल साहित्य महोत्सवमा नेपालगञ्जको मुशायरा टोलीलाई सुनिएको थियो ।

मुशायरा शीर्षकको त्यो सत्रमा अर्का धुरन्धर शायर मौलाना अब्दुल लतिफ शौक, अब्दुल वाहिदले नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा पटक पटक वाह्वाही पाएका थिए । खासमा खयालीलाई निम्ता गरिएको थियो, तर बिरामी परेका उनले ‘जसरी भए पनि राजधानीलाई उर्दू गजल सुनाउनैपर्छ’ भनेर लतिफ र वाहिदलाई जान भनेका थिए ।

उर्दू जुवानका खातिर आफ्नो ठाउँमा अरुलाई पठाउने खयाली आज रहेनन् । लाग्दैछ– बाँकी नेपालले पनि खयाली गएको ‘ख्याल’ नै गरेन । त्यसो त उनी स्वयम्ले कुनै बेला यस्तै बेखबरी आशयको गजल लेखेका थिए–

करो तो फैसला पहेले अधेरें से निकलने का
ये तब देखों कि देते है सितारे रोसनी कैसी ।
जब अपनी आपही से बेखबर हम है खयाली तो
बताए क्या गुजरती है किसीकी जिन्दगी कैसी ।’

प्रतिकृया दिनुहोस