रोमेलु लुकाकु (बेल्जियम)
म्यानचेस्टर युनाइटेड क्लबका स्ट्राइकर जतिबेला लयमा हुन्छन, उनलाई रोक्न असम्भव मानिन्छ। पानामाविरूद्ध विश्वकपको पहिलो खेलको पहिलो हाफमा उनले लय समात्न सकेका थिएनन्। तर, कप्तान इडेन हजार्डले हाफमा लुकाकुसँग ड्रेसिङ रुममा कुरा गरे। हजार्डले आफ्नो स्ट्राइकरलाई दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्ने प्रेरणा दिए। जसको नतिजा बेल्जियमले पानामालाई दोस्रो हाफमा ३ गोल गर्यो र त्यो गोलमध्ये दुई वटा लुकाकुको नाममा थियो।
सन् २०१७ मा ७५ मिलियन पाउन्डमा इभर्टनबाट म्यानचेस्टर पुगेका लुकाकु ‘पावर गेम’ खेल्न माहिर मानिन्छन्। देब्रे खुट्टाले खेल्ने २५ वर्षीय यी स्टार बेल्जियमको सर्वाधिक गोलकर्ता पनि हुन्। उनले ६० अन्तर्राष्ट्रियमा ३८ गोल गरिसकेका छन्। उनले पछिल्लो १० अन्तर्राष्ट्रिय खेलमा १५ गोल गरेका छन्। ट्युनिसियाविरूद्ध एक गोल मात्र गरेको खण्डमा उनले बेल्जियमबाट ठूलो प्रतियोगितामा ६ गोल गर्ने जान कलेमनको कीर्तिमान बराबरी गर्ने छन्।