ट्युनिसियाको भाग्य बलियो बेल्जियमको हातमा
काठमाडौं (एजेन्सी)– विश्वकपको सम्भावित दावेदार मानिएको बेल्जियम दोस्रो चरण प्रवेशका लागि नेपाली समयअनुसार आज पौने ६ बजे अफ्रिकी राष्ट्र ट्युनिसियासँग खेल्दै छ। यो खेल विजयी भएको खण्डमा बेल्जियम समूह ‘जी’ मा इङ्ल्यान्डसँग एक खेल खेल्न बाँकी रहँदै दोस्रो चरण प्रवेश गर्नेछ।
बेल्जियमले पहिलो खेलमा पानामालाई ३–० ले पराजित गरेको थियो। आफ्नो स्टार खेलाडी रोमेलु लुकाकुको दुई गोलको सहयोगले बेल्जियमले प्रतियोगिताको सुरुवात धमाकेदार रुपमा गरेको छ।
आजको खेलमा बेल्जियमका सेन्टर ब्याक भिन्सेन्ट कोम्पानी र थोमस भेर्मालेन खेल्ने सम्भावना न्युन छ। यी दुवै ग्रोइन र ह्यामस्ट्रिङको समस्याबाट पीडित छन्। यिनीहरू ट्युनिसियाविरूद्ध अनुपस्थित रहे डेडर्याक बोएटा, टोबी अल्डरवेरेल्ड र जान भेर्टोनघमले डिफेन्सको मोर्चा सम्हाल्ने सम्भावना बलियो छ।
दुई वर्षदेखि बेल्जियम टिम सम्हालेका प्रशिक्षक रोबर्टो मार्टिनेजले एक खेल पराजय मात्र भोग्नु परेको छ। छनोट चरणको १० खेलमा अपराजित रहेको बेल्जियमले कप्तान इडेन हजार्डको नेतृत्वमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। बेल्जियम र ट्युनिसियाको यो चौथो भिडन्त हो। यसअघिको तीन भिडन्तमा दुवैले १–१ खेल जितेका छन भने एक खेल बराबरी भएको छ। विश्वकपमा भने यी दुई टिमबीच दोस्रो पल्ट भिडन्त हुन लागेको हो। सन् २००२ मा भएको पहिलो भिडन्त १–१ गोलको बराबरीमा रोकिएको थियो।
सन् २००६ पछि विश्वकप खेलिरहेको ट्युनिसिया आजको खेलमा पराजित भएको खण्डमा प्रतियोगिताबाट बाहिरिने छ। इङ्ल्यान्डविरूद्ध पहिलो खेलको १६ मिनेटमा घाइते भएका गोलकिपर मोएज हसन कुमको चोटका कारण बाहिरिएका छन्। ट्युनिसिया पहिलो खेलमा इङ्ल्यान्डबाट १–० गोलले पराजित भएको थियो।