दोस्रो हाफमा २ गोल फर्काएको स्विस टिमद्वारा सर्विया पराजित
काठमाडौं (एजेन्सी)– सर्वियाले पहिलो हाफमा हानेको गोललाई उल्ट्याउदै स्विट्जरल्यान्डले दोस्रो हाफमा दुई गोल फर्काउदै विश्वकपको दोस्रो खेलमा २–१ को रोचक नतिजा निकालेको छ। सर्वियाका लागि एलेक्जेन्डर मिटोभिकले खेल सुरु भएको ५ मिनेटमा सुरुवाती गोल गरेका थिए।
तर, दोस्रो हाफको ५२ मिनेटमा ग्रानिट जाकीले बराबरी गोल गरे। विजयी गोल साकिरीले ९० मिनेटमा गरे। यो जितसँगै समूह ‘इ’ मा स्विट्जरल्यान्डले पनि ४ अंक बटुलेको छ। यसअघि यही समूहमा ब्राजिलले २–० गोलले कोस्टारिकालाई पराजित गरेको थियो। यो जितसँगै ब्राजिल र स्विट्जरल्यान्डको दोस्रो चरण प्रवेशको सम्भावना बलियो बनेको छ।
सर्वियाले पहिलो खेलमा कोस्टारिकालाई १–० ले पराजित गरेको थियो। कोस्टारिका लगातार दुई खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेको छ। सर्विया अन्तिम खेल ब्राजिलसँग खेल्ने छ। यस्तै, स्विट्जरल्यान्डको भिडन्त कोस्टारिकाविरुद्ध हुनेछ। यही खेलको नतिजापछि यो समूहको दोस्रो चरणमा प्रवेश गर्ने दुवै टोलीको निर्णय हुनेछ।