बलियो आइसल्यान्डको अगाडि ‘सुपर इगल’लाई इतिहास दोहर्याउने लोभ
काठमाडौं (एजेन्सी)– विश्वकप अन्तर्गत समूह ‘डी’ को दोस्रो चरणको खेलमा आज पहिलो पल्ट विश्वकप खेलिरहेको आइसल्यान्डको भिडन्त अफ्रिकी राष्ट्र नाइजेरियासँग हुँदैछ। सन् १९९४ मा पहिलो पल्ट विश्वकपमा सहभागी नाइजेरियाको यो छैटौं विश्वकप हो। ‘सुपर इगल’को उपनामले परिचित नाइजेरिया तीन पल्ट अन्तिम १६ मा समावेश भएको छ।
त्यसैले यो राष्ट्र यसपालि पनि आफ्नो पुरानो इतिहासलाई दोहर्याउन लालायित देखिन्छ। तर, क्रोएसियासँग पहिलो खेल गुमाइसकेको नाइजेरियाका लागि यसपालि दोस्रो चरण प्रवेश त्यति सहज देखिदैन। किनभने पहिलो पल्ट विश्वकपमा सहभागी भएपनि आइसल्यान्ड बलियो देखिएको छ। समूहको पहिलो खेलमा आइसल्यान्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोकेको थियो।
सन् २०१६ को युरोकपमा पनि आइसल्यान्डले पोर्चुगललाई १–१ गोलमै रोकेको थियो। यो समूहमा अर्जेन्टिनालाई ३–० ले पराजित गरिसकेको क्रोएसिया दोस्रो चरणमा प्रवेश गरिसकेको छ। अब अर्जेन्टिना, आइसल्यान्ड र नाइजेरियाबाट दोस्रो चरण प्रवेश गर्ने टोलीको टुँगो लाग्ने छ। आज राती ८ बजेर ४५ मिनेटमा हुने यस खेलमा पराजय भोगेको खण्डमा नाइजेरिया प्रतियोगिताबाटै बाहिरिने छ।
विश्वकपको पहिलो खेलमा पराजय भोगेको नाइजेरिया अहिलेसम्म दोस्रो चरण प्रवेश गरेको इतिहास छैन्। भोल्गोगार्ड एरिनामा हुने यो खेल ३५ डिग्रीको गर्मी वातावरणमा हुदैछ। त्यसैले यसको फाइदा नाइजेरियालाई हुन सक्ने बताइएको छ। नाइजेरियाको टोली विश्वकपको सवैभन्दा युवा टोली मानिएको छ। पहिलो खेलमा बाहिर रहेका ओग्नेयी ओनाजी खेलमा फर्किदै छन्। यस्तै, पहिलो खेलमा आत्मघाती गोल गरेका ओगेनेकारो इतेबुको स्थानमा अहमद मुसाको सम्भावना प्रबल छ।
आइसल्यान्डको लागि सवैभन्दा ठूलो क्षति जोहान बर्ग गुडमुन्सनको चोट हो। उनी अर्जेन्टिनाको खेलमा घाइते भएका थिए। त्यसैले आज बाहिर रहने छन्। उनको स्थानमा रुरिक गिस्लासनलाई टोलीमा स्थान दिइने सम्भावना छ।
आइसल्यान्डका जिल्फी सिगुर्डसन र नाइजेरियाका विल्फ्रिड एनडिडीको भिडन्त खेलको रोचक पक्ष हो। यस्तै, आरोन गुनार्सन र मिकेल ओबीबीचको प्रतिस्पर्धा पनि रोचक हुनेछ।