अर्जेन्टिनापछि आज ब्राजिलको परीक्षा, डानिलो घाइते
रुस (एजेन्सी)– समूह ‘डी’ मा अर्जेन्टिनाको खराब प्रदर्शनपछि अर्को दक्षिण अमेरिकी बलियो राष्ट्र ब्राजिलको परीक्षा आज हुँदैछ। स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको पाँच पल्टको विश्वक च्याम्पियन ब्राजिल आज साँझ पानै ६ बजे कोस्टारिकासँग प्रतिस्पर्धा गर्देछ। कोस्टारिका यो समूहमा तुलनात्मकरुपले अरु टिमभन्दा कमजोर मानिन्छ। कोस्टारिकालाई पहिलो खेलमा सर्बियाले १–० ले पराजित गरेको थियो।
यस विश्वकपमा सर्वाधिक पछ्याइएका नेइमार कोस्टाविरूद्ध मैदानमा उत्रिन लालायित देखिन्छन्। गत फेब्रुअरीमा दायाँ घुँडामा चोट बोकेका नेइमार दुखाईका कारण राम्रोसँग ट्रेनिङ गर्न सकिरहेका छैनन्। त्यसैले उनी दोस्रो महत्वपूर्ण खेलमा उत्रिने कुरामा शंका गरिएको थियो। तर, विहिबार अभ्यास सत्रमा उपस्थित भएर उनले आफू मैदानमा उत्रिन लालायित रहेको स्पष्ट पारेका छन्।
आजको खेलमा म्यानचेस्टर सिटीका डानिलो अनुपस्थित रहने छन्। उनले अभ्यासका क्रममा तिघ्राको नसा सर्किएको अनुभव गरेका थिए। उनको स्थानमा कोरिन्थियान्सका राइट ब्याक फाग्नरलाई सम्मिलित गर्ने सम्भावना प्रबल छ।
अर्जेन्टिनाजस्तै ब्राजिली टिममा पनि स्टार खेलाडीको कमी छैन्। तर, उसले पनि खेलाडीबीच तालमेल मिलाउन सकिरहेको छैन्। आज प्रशिक्षक टिटोका लागि यही कमी पुरा गर्ने अवसर पनि हो। उनले टिमबीच सामुहिक भावना जगाउन प्रत्येक खेलमा कप्तान परिवर्तन गर्ने रणनीति बनाएका छन्। त्यसैले आज थियागो सिल्भाको कप्तानीमा ब्राजिल मैदानमा उत्रिँदैछ। स्विट्जरल्यान्डविरूद्धको खेलमा मार्सेलो कप्तान थिए।
विहिबारको पत्रकार सम्मेलनमा प्रशिक्षक टिटेसँगै सिल्भा पनि सम्मिलित थिए। उनले कनकाकाफ समूहबाट विश्वकपमा छनोट भएको कोस्टारिकालाई आफूले कमजोर नआँकेको प्रष्ट पारेका छन्।
विश्वकपमा ब्राजिल र कोस्टारिकाबीच यो तेस्रो भिडन्त हो। यसअघि दुई भिडन्तमा ब्राजिल विजयी भएको थियो। ब्राजिलले १९९० मा १–० र २००२ मा ५–२ गोलले कोस्टारिकालाई पराजित गरेको थियो।
यसबाहेक यी दुई देशबीच भएको १० अन्तर्राष्ट्रिय खेलमा ब्राजिल ९ पल्ट विजयी भएको छ। सन् १९६० को मैत्रिपूर्ण खेलमा मात्र एक पल्ट ब्राजिल पराजित भएको थियो।
आज ब्राजिली टोलीमा एलिसनसहित थियागो सिल्भा, मिरिन्डा, मार्सेलो, कासेमिरो, पाउलिन्हो, विलियान, फिलिप काउटिन्हो, नेइमार र गाब्रियल जेसस मैदानमा उत्रिने सम्भावना बलियो छ।
यस्तै, कोस्टारिकाका प्रशिक्षक ओस्कार रामिरेजले सर्बियासँगको खेलमा उतारेको सेट नै आज समावेश हुने स्पष्ट पारेका छन्। तर, फ्रान्सिस्को काल्भोको स्थानमा लेफ्ट ब्याक ब्रायन ओभिएडो परिवर्तन हुन सक्ने सम्भावना छ।