मेसीको टोली अर्जेन्टिना ३–० ले स्तब्ध, क्रोएसिया प्रिक्वाटरफाइनलमा
काठमाडौं (एजेन्सी)– विश्वकप दावेदार अर्जेन्टिनालाई ३–० गोलले पराजित गर्दै क्रोएसिया समूह ‘डी’ बाट दोस्रो चरण प्रवेश गरेको छ। बार्सिलोनाका चर्चित स्ट्राइकर लिओनल मेसी सम्मिलित अर्जेन्टिनालाई पराजित गर्न इभान राकिटिक, लुका मोड्रिक र आन्टे रेबिकले गोल गरे।
यी तीनवटै गोल दोस्रो हाफपछि सम्भव भएको थियो। पहिलो हाफमा पनि राम्रो खेल मिलाउन नसकेको अर्जेन्टिना दोस्रो हाफमा झन लथालिङ देखियो। दोस्रो हाफमा युभेन्ट्सका दुई स्ट्राइकर हिग्विन र डाबायलालाई प्रवेश गराएपनि अर्जेन्टिना सफल हुन सकेन। क्रोएसियासँगको पराजयले अर्जेन्टिना अफ्ठेरोमा परेको छ। अर्जेन्टिना पहिलो खेलमा आइसल्यान्डसँग १–१ गोलको बराबरीमा अंक बाड्न बाध्य भएको थियो। उक्त खेलमा मेसी पेनाल्टीबाट गोल हान्न चुकेका थिए।
विहिबार मध्यरातीको खेलमा ५३ मिनेटमा रेबिकले पहिलो गोल गरे। उनले अर्जेन्टिनी गोलकिपर विली काबालारोको गल्तीको फाइदा उठाउदै पहिलो गोल गरेका थिए। डिबक्स भित्र खराब ‘चिप’ गरेर आफ्ना डिफेन्डरलाई पास दिन खोज्दा रेबिकले गोल गरेका थिए। दोस्रो गोल कप्तान मोड्रिकले गरे। उनले ८० मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट ढंगले गोल गरेका थिए। यस्तै, निर्धारित समयपछि थप गरिएको ९१ मिनेटमा राकाटिकले डिबक्स भित्रबाट तेस्रो गोल गरे। क्रोएसियाको यो विश्वकपमा लगातार दोस्रो जित थियो।
सन् १९९८ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको क्रोएसियाको त्यसपछि उत्कृष्ट प्रदर्शन थियो। अर्जेन्टिनाले अव दोस्रो चरण प्रवेशका लागि अन्तिम खेलमा नाइजेरियालाई राम्रोसँग पराजित गर्नु पर्नेछ। यो समूहमा आइसल्यान्डको पनि १ अंक छ। आइसल्यान्डले दोस्रो खेल नाइजेरियासँग शुक्रबार खेल्दैछ।