एमबापेको ऐतिहासिक उपलब्धी, फ्रान्स दोस्रो चरणमा, पेरु बाहिरियो
काठमाडौं (एजेन्सी)– केलियान एमबापेको निर्णायक गोलका कारण फ्रान्स विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ। दक्षिण अमेरिकी राष्ट्र पेरुसँग विहिबार भएको खेलमा एमबापेले पहिलो हाफको ३४ मिनेटमा निर्णायक गोल गर्दै ‘लेस ब्लुज’ लाई समूह चरणको एक खेल खेल्न बाँकी रहँदै प्रिक्वाटर फाइनलमा प्रवेश दिलाए।
सन् १९९८ मा फ्रान्सले विश्वकप जित्दा जन्मिनसकेका एमबापे विश्वकपमा गोल गर्ने कान्छो खेलाडी पनि बन्न पुगेका छन्। यसअघि यो कीर्तिमान डेभिड ट्रेजेगुएटको नाममा थियो। ट्रेजेगुएटले २० वर्ष २ सय ४६ दिन हुँदा विश्वकपमा गोल गरेका थिए। तर, आज समूह ‘सी’ को दोस्रो खेलमा गोल गर्दा एमबापे १९ वर्ष १ सय ८३ दिन थिए।
फ्रान्ससँग पराजय भोगेको पेरु भने प्रतियोगिताबाट बाहिरिने पहिलो दक्षिण अमेरिकी टिम बन्न पुगेको छ। पेरुले यसअघि डेनमार्कसँग १–० को पराजय भोगेको थियो। पेरुले लगातार दोस्रो खेलमा पराजय भोगेको हो। उसले अन्तिम खेल अस्ट्रेलियासँग खेल्ने छ। पेरुले फ्रान्सविरूद्ध दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेपनि अभागी सावित भयो।