अस्ट्रेलियाको सपना जीवितै, डेनमार्कसँग १–१ बराबरी
काठमाडौं (एजेन्सी)– अस्ट्रेलियाले विश्वकपको दोस्रो चरण प्रवेशको सपनालाई जीवित राखेको छ। विहिबार सम्पन्न समूह ‘सी’ अन्तर्गत दोस्रो चरणको खेलमा युरोपको बलियो टोली डेनमार्कलाई १–१ गोलको बराबरीमा रोकेपछि कंगारुको विश्वकप अभियान तुहिन पाएन्। पहिलो खेल फ्रान्ससँग २–१ ले गुमाएको अस्ट्रेलियाका लागि मिल जेडिन्कले ३८ मिनेटमा पेनाल्टी गोल गर्दै आफ्नो टोलीलाई उकासे।
बराबरीसँगै दुवै टिमले १–१ अंक बाँडेका छन्। डेनमार्कले समूह चरणको पहिलो खेलमा पेरुलाई १–० ले पराजित गरेको थियो। उसको ४ अंक भएको छ। आजै समूहको अर्को खेल फ्रान्स र पेरुबीच हुँदैछ। अस्ट्रेलियाले अन्तिम खेल पेरुसँग खेल्नु पर्नेछ भने डेनमार्कले समूहको सवैभन्दा बलियो टिम फ्रान्ससँग खेल्ने छ।
अस्ट्रेलिया खेल सुरु भएको ७ मिनेटमै एक गोलले पछाडि पर्न पुगेको थियो, जब क्रिस्टियन इरिक्सनले डेनमार्कका लागि पहिलो गोल गरेका थिए। पहिलो हाफमा युसुफ पोल्सनले डिबक्स भित्र हातले बल रोकेपछि पहेँलो कार्ड पाएका थिए भने अस्ट्रेलियालाई पेनाल्टीको अवसर जुरेको छ। पोल्सनले अघिल्लो खेल गुमाउने छन्। उनले पेरुसँगको खेलमा पनि पहेँलो कार्ड पाएका थिए।