ब्रिक्स सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल गोवा प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोबामा हुने ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’मा सहभागी हुन २९ असोज बिहान त्यसतर्फ प्रस्थान गरेका छन ।
आजैदेखि सुरु हुने दुईदिने उक्तसम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन । प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री विमलेन्द्र निधिले बिदाइ गरेका थिए । यसअघि प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको थियो ।
प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र÷सरकार प्रमुखको बैठक एवम् ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सार्क क्षेत्रका बिमस्टेक सदस्य राष्ट्रलाई ब्रिक्स सम्मेलनमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइएको हो । दक्षिण एसियाबाट नेपाल, भारत, भुटान र श्रीलङ्का उक्त सम्मेलनमा सहभागी हुनेछन् ।
ब्रिक्स ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य राष्ट्र रहेको अन्तर्राष्ट्रिय मञ्च हो भने बिमस्टेक दक्षिण र दक्षिण पूर्वी एसियाली मुलुकबीच साझा सरोकारका विषय छलफल गर्न खडा गरिएको समूह हो जसमा बङ्गलादेश, भुटान, भारत, म्यान्मा, श्रीलङ्का र थाइल्यान्ड सदस्य छन् ।
ब्रिक्सले निर्माण, उत्तरदायित्व, समावेशिता, सामूहिकता र समाधानका विषय मुख्य उद्देश्य बनाउँदै पारस्परिक हितका विषयमा सामूहिक तवरले सम्बोधन गर्ने लक्ष्य लिएको छ । यस वर्षको ब्रिक्स सम्मेलनको नारा ‘जिम्मेवारीपूर्ण निर्माण र समावेशी तथा सामूहिक समाधान’ रहेको छ ।
प्रधानमन्त्री दाहालको नेतृत्वमा रहने भ्रमण दलमा उनकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा.प्रकाश शरण महत, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मालगायत छन् । प्रधानमन्त्री दाहाल सम्मेलनमा भाग लिएर आगामी कात्तिक १ गते स्वदेश फर्कने छन । रासस