बार्सिलोनाका दुई स्टार मेसी र राकिटिकबीचको रोचक भिडन्त आज
रुस (एजेन्सी)– विश्वकप अन्तर्गत आज राती पौने १२ बजे अर्जेन्टिनाको भिडन्त क्रोएसियाविरूद्ध हुँदैछ। समूह ‘डी’ मा क्रोएसियाले यसअघि नै एक खेल जितेर तीन अंक बटुलिसकेको र अर्जेन्टिना समूहको कमजोर आँकिएको आइसल्यान्डसँग अंक बाड्न बाध्य भएको स्थितिमा दक्षिण अमेरिकी राष्ट्र केही दबाबमा देखिन्छ।
आजको खेलमा सवैभन्दा ठूलो दबाब अर्जेन्टिनी कप्तान लिओनल मेसीलाई हुनेछ। आइसल्यान्डविरूद्ध पेनाल्टीमा गोल गर्ने अवसर चुकाएका मेसीको यो अन्तिम विश्वकप हो र क्लब फुटबलमा पाएको सफलता अन्तर्राष्ट्रिय फुटबलमा स्थापित गराउन नसक्दा उनको आलोचना हुँदै आइरहेको छ। गत विश्वकपमा उनको नेतृत्वमा अर्जेन्टिना फाइनल पुगेर जर्मनीसँग दुर्भाग्यपूर्ण रुपमा १–० ले पराजित भएको थियो। यस्तै दक्षिण अमेरिकाको ठूलो प्रतियोगिता कोपा अमेरिकामा लगातार दुई पल्ट फाइनलमा पराजित भएपछि उनले फुटबलबाट सन्यास लिएका थिए। तर, विश्वकप छनोट खेलमा अर्जेन्टिनाको प्रदर्शन फितलो भएपछि अर्जेन्टिनी घरेलु समर्थक र सरकारको आग्रहपछि उनी पुनः राष्ट्रिय टोलीमा फर्किएका थिए।
क्रोएसिया युरोपको बलियो टोली मानिन्छ। सन् १९९८ को विश्वकपमा तेस्रो स्थान ओगटेको क्रोएसिया यसपालि निकै संगठीत पनि देखिएको छ। रियल म्याड्रिडका प्रभावशाली मिडफिल्डर लुका मोड्रिकको कप्तानीमा रहेको क्रोएसिया विश्वकपमा एक पल्ट मात्र अर्जेन्टिनासँग भिडेको छ। सन् १९९८ मा ऐतिहासिक सफलता पाउँदा क्रोएसिया समूह चरणको खेलमा अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो।
क्रोएसियासँग अर्जेन्टिनी स्टारहरूको थुप्रै अनुभव समेटिएको छ। सन् १९९४ मा अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोनाले युरोपमा आफ्नो अन्तिम खेल खेल्दा प्रतिद्वन्दी देश क्रोएसिया नै थियो। जाग्रेबमा भएको मैत्रिपूर्ण खेलमा नतिजा गोलरहित बराबरी निस्किएको थियो। हालका कप्तान मेसीले पनि पहिलो अन्तर्राष्ट्रिय गोल क्रोएसियाविरूद्ध नै गरेका थिए। सन् २००६ मा ३–२ ले पराजित खेलमा मेसीले एक गोल गरेका थिए।
आजको खेल बार्सिलोनाका दुई स्टार अर्जेन्टिनाका मेसी र क्रोएसियाका इभान राकिटिकबीचको प्रतिस्पर्धाको रुपमा पनि हेरिएको छ। बार्सिलोनामा व्यवसायिक फुटबल खेल्दा राकिटिक मेसीलाई गोलका लागि बल मिलाउँथे आज उनी मेसीविरूद्ध गोल हान्न युभेन्ट्सबाट व्यवसायिक फुटबल खेलिरहेका अनुभवी मारियो मान्डजुकिच र युवा मार्को पियात्सालाई बल मिलाउने छन्।
‘मेसीको प्रतिभाबाट को बेखबर होला। उनी यतिबेला विश्वकै उत्कृष्ट खेलाडी हुन् र उनलाई रोक्न असम्भव छ। तर, पछिल्लो समय हामीले उनको खेल युट्युबबाट हेरेका छौं र केही कुरा नोटिस गरेका छौं,’ राकिटिक भन्छन्।
क्रोएसियाली प्रशिक्षक ज्लाट्को डालिक अघिल्लो खेलमा तीन अंक बटुलेका कारण आफ्नो टोली अर्जेन्टिनाभन्दा सहज अवस्थामा रहेको बताउँछन्। खेल अगाडि पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘मैले आफ्ना खेलाडीलाई खेलको लुप्तता उठाउन निर्देशन दिएको छु।’
खेल अगाडि अर्जेन्टिनी प्रशिक्षक जर्जे साम्पाउलीले टोलीको घोषणा गरेका छैनन्। तर, आज मार्कोस अकुनालाई लेफ्ट ब्याक अथवा आउटसाइट मिडफिल्डमा खेलाउने सम्भावना रहेको छ। आजको खेल जितको खण्डमा क्रोएसिया दोस्रो चरणमा प्रवेश गर्ने छ भने अर्जेन्टिनाको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कठिन बन्न सक्छ।