टिप्पणीबिहिवार, आषाढ ७, २०७५

पञ्चैतीले समयको सत्यानाश

चन्द्रकिशोर

अहिले पञ्चायतीमा जायज, नजायज वा कानूनी गैरकानूनी जे जस्तो गर्नुपर्दा आफ्नो जाति वा पार्टीको आधार हेर्ने गरेको सुनिन्छ ।

माधोपुर, रौतहटमा भइरहेको पञ्चायती । तस्वीरः चन्द्रकिशोर

सर्लाहीको हरिपुर्वा नगरपालिका प्रमुख सियाराम यादवलाई भेटेर स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि के बदलाव आयो भनेर सोध्दा बडा सहज र इमानदार उत्तर पाइयो, “बिहानदेखि साँझ्सम्म पञ्चैतीबाट फुर्सदै छैन ।” दैनिकी उनको मात्र यस्तो छैन, तराईका देहाततिर प्रायः सबै स्थानीय तहका प्रतिनिधि यही गुनासो गर्छन् । 

अहिले विकास निर्माणको धपेडी र बजेट सक्ने हतार छ । अनेक नाममा भइराख्ने गोष्ठीहरूमा पनि जानैपर्‍यो । जनप्रतिनिधिहरूका मोबाइल फोन बजेको बज्यै गर्छ । ‘के हो यतिको हैरानी, मुखियाजी’ भनेर सोध्दा उही जवाफ आउँछ, “अर्को पञ्चैतीमा जानुपर्ने भो ।” तराई–मधेशमा गाउँका भद्रभलाद्मी सहित सरोकारवाला पक्षहरू एक थलोमा बसेर विवाद सल्ट्याउने अभ्यास छ, जसलाई पञ्चैती (पञ्चायती) भनिन्छ ।

झगडिया पक्षको आ–आफ्नै अडान, उत्तेजना र पूर्वाग्रह हुन्छन् । पञ्चैतीमा दुवै पक्षको कुरा सुनेर बीचको बाटोबाट समाधान खोजिन्छ । गाउँघरतिर भनाइ नै छ– पञ्चहरूले ‘गोबरमाटी’ लगाइदिन्छन् ।

विभिन्न पक्षहरूबीच संवाद गराउने, समझदारी विकसित गराउने र मेलमिलापको वातावरण बनाउनु जनप्रतिनिधिहरूको काम नै हो । उनीहरू मेलमिलापको लागि मध्यस्थता गर्न र समाधानको बाटोमा आउने तगाराहरू हटाउन रात–दिन सक्रिय हुन्छन् । झगडिया पक्षले एक अर्काको सोच र समस्या बुझ्न सकेको हुँदैन । कतिपय अवस्थामा त तिनीहरूले आफ्नै हित ठम्याउन पनि सकिरहेका हुँदैनन् । त्यतिखेर कुरा प्रष्ट्याई दिनुपर्ने हुन्छ ।

कुनै सवालमा भावनात्मक अडान लिइरहेका दुई पक्षलाई त्यसबाट बाहिर आउन गाह्रो परिरहेको हुन्छ । कहिलेकाहीं यस्तो पनि हुन्छ कि एउटै मुद्दामा बहुपक्ष जोडिएका हुन्छन् । विवादमा जति पक्ष जोडिएको भए पनि जनप्रतिनिधिले समाधान खोजेर सम्बन्ध सुधारिदिने काम गर्नुपर्छ ।

निर्वाचित प्रतिनिधि नभएको बेला गाउँघरका मान्यजनहरूले गर्ने पञ्चायती विस्तारै कम हुँदै गएको थियो । त्यस्तो पञ्चायती गर्नेहरूसँग कुनै वैधानिक हैसियत नभएकोले पनि त्यसमा कमी आएको थियो । पञ्चायती मार्फत गरिएको छिनोफानोलाई कतिले पछि अस्वीकार गरिदिन्थे ।

त्यसो त ‘पञ्च के बात मान बमुदा खुटा रही दरे पर’ भन्ने आहान पनि पहिल्यैदेखि अस्तित्वमा थियो । यस्तो प्रवृत्ति खास गरेर घर अगाडिको डगर या सडकमा गाईबस्तु बाँध्नेहरूमा हुन्थ्यो– सडक विस्तारको कुरोमा पञ्चहरूको फैसला स्वीकार गर्ने तर किलो नउखेल्ने ।

कहिले छरछिमेककै व्यक्तिहरू मिलेर विवाद सुल्झाउँछन् । कहिले वारिपारि गाउँका नाम चलेका भलाद्मीहरूलाई बोलाएर पञ्चायती गरिन्थ्यो । त्यस्तो पञ्चायती हेर्न पनि धेरै मानिस जम्मा हुन्थे । पहिला त पञ्चहरूको फैसला कार्यान्वयन गराउन प्रहरी समेत बोलाइन्थ्यो ।

कतिपय अवस्थामा पञ्चायती प्रक्रियामा प्रहरीलाई साक्षी राखिन्थ्यो । तर, माओवादीको हिंसात्मक द्वन्द्व र स्थानीय निकायहरू लामो समय निर्वाचित जनप्रतिनिधिविहीन हुँदा पञ्चायती बस्ने परम्परा कमजोर भयो । अझ् भनौं, गाउँको पञ्चायती प्रहरी चौकीहरूमा सर्‍यो ।

प्रहरी चौकीमै पञ्चायती हुँदा त्यसले एउटा बिचौलिया जमात खडा गर्‍यो । त्यो जमातमा स्थानीय राजनीतिक कार्यकर्ताहरू ‘फिट’ भए । स–सानो विवादलाई पनि प्रहरी चौकीमा लगेर झमेलाको खेती गर्न थालियो । त्यसले गाउँघरमा ‘झगडाको व्यापार’ बढायो नै ।

कुन हदसम्म ज्यादती गरियो भने सामान्य किचलोमा पनि मनग्गे ‘जुर्माना’ तोक्ने र पीडित पक्षले तिर्न नसके त्योभन्दा बढी रकम राखेर कागज गराइन्थ्यो ।

यस्ता झगडाका व्यापारीहरूले वैदेशिक रोजगारीमा गएकाहरूको घरपरिवारमाथि विशेष नजर लगाउँथे– सानो मौका पर्‍यो कि फसाइहाल्नलाई । कतिसम्म भने, गाउँहरूमा ‘तिम्रै पक्षमा फछ्र्योट गराइदिन्छु’ भन्दै कैयौं दिनसम्म दारुपानी खाने बिचौलियाहरू पनि देखिए । गाउँघरतिर मदिरा र सेकुवा पसलहरूको विस्तारमा यो जमातको योगदान रह्यो ।

अहिले स्थानीय तहमा चुनिएकाहरू आएपछि पञ्चायतीको पुरानो तौरतरिकामा अलिकति फेरबदल पनि आएको छ । कतिपयले पञ्चायतीमा जायज, नजायज वा कानूनी, गैरकानूनी जे जस्तो गर्नुपर्दा आफ्नो जाति वा पार्टीको आधार हेर्ने गरेको सुनिन्छ । आफ्नो जाति वा पार्टीको पर्‍यो भने उसले गरेको गल्ती ढाकछोप र सार्वजनिक बचाउ गर्ने प्रवृत्ति बढेको छ ।

पञ्चायतीका लागि खोजेकै बेलामा भेटिने नेतालाई खुब मन पराइन्छ । तिनैमध्येका एक हुन्, रौतहटको देवाही गोनाही गाउँपालिका प्रमुख धर्मेन्द्र पटेल । पहिले र अहिलेको पञ्चायतीमा धेरै फरक आइसकेको उनको अनुभव छ । उनका अनुसार, पञ्चायती परम्परा पहिले ठीक थियो, आजभोलि महारोग हुँदैछ । पटेलले दिक्क मान्दै भने, “कतिपय अवस्थामा यसले जनप्रतिनिधिको समय मात्र बर्बाद गरेको छ ।”

प्रतिकृया दिनुहोस