अस्ट्रेलियाविरूद्ध खेलमा डेनिस राजपरिवार कसको समर्थक?
काठमाडौं (एजेन्सीहरू)– एसियाको ‘पावरहाउस’ अस्ट्रेलिया र युरोपको बलियो टोली डेनमार्क विश्वकप समूह चरण अन्तर्गत दोस्रो खेलका लागि आज मैदानमा उत्रिँदा डेनिस राजपरिवारको समर्थन कुन टोलीलाई हुनेछ? यो अहिले रोचक विषय बनेको छ। डेनिस राजपरिवारसँग अस्ट्रेलियाको पुरानो नाता छ। हालकी डेनिस युवराज्ञी मेरी डोनाल्सन अस्ट्रेलियाको तस्मानियामा जन्मिएर त्यही हुर्केकी हुन्। सन् २००० को सिड्नी ओलम्पिकमा उनको भेट डेनिस युवराज फ्रेड्रिकसँग भएको थियो र त्यसको चार वर्षपछि उनीहरू वैवाहिक बन्धनमा बाँधिएका थिए।
आज साँझ पौने ६ बजे अस्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुँदा यस्ता थुप्रै घटनाले फुटबल समर्थकलाई रोमाञ्चित पार्नेछ। हाल डेनमार्क टिममा सहायक प्रशिक्षक रहेका जोन डहाल टोमासन फेयनुर्डको स्ट्राइकर हुँदा अस्ट्रेलियाली प्रशिक्षक बेर्ट भान मार्विक उनको प्रशिक्षक थिए। त्यसैले टोमासन अहिले पनि उनलाई निकै आदर गर्छन। फेरि मार्विक अस्ट्रेलिया आएपछि टोलीको खेलमा निकै परिवर्तन देखिएको छ।
तर, त्यो परिवर्तन विहिबार डेनमार्कविरूद्ध सफल सावित होला कि नहोला, यो सबैका लागि कौतुहल बनेको छ। फ्रान्सविरूद्ध पहिलो खेल २–१ गोलले गुमाइसकेको अवस्थामा विश्वकपको यात्रा यथावत राख्न कंगारुलाई आजको खेल जित्नै पर्ने आवश्यकता छ। डेनमार्कले भने समूह ‘बी’ मा पेरुलाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडिसकेको छ।
सन् २०१२ ताका कोपेनहेगनमा भएको मैत्रिपूर्ण खेलमा सहभागी दुवै टोलीका ४–४ खेलाडी यसपालिको विश्वकपमा पनि समावेश छन्। डेनमार्क २–० ले विजयी भएको त्यो खेलमा डेनिस टिममा सिमोन केजर, विलियम केभिष्ट, क्रिस्टियन इरिक्सन र मिचेल क्रोहान–डेहली समावेश थिए। यस्तै, अस्ट्रेलियाली टोलीमा टिम काहिल, रोबी क्रुस, मिल जेडिन्क र मार्क मिलिगान सम्मिलित थिए।
प्रशिक्षकको भूमिकामा पनि मार्विक र डेनिस प्रशिक्षक एगे हारिडबीच सन् २००८ मा एकपल्ट प्रतिस्पर्धा भइसकेको छ। दक्षिण अफ्रिकामा आयोजना भएको २०१० विश्वकपको छनोटका लागि यी दुईबीच भिडन्त भएको थियो। त्यतिबेला मार्विक हल्यान्डको प्रशिक्षक थिए भने हारिड नर्वेका । ओस्लोमा भएको खेलमा हल्यान्ड १–० ले विजयी भएको थियो।
डेनमार्क र अस्ट्रेलियाले तीनवटा मैत्रिपूर्ण खेल खेलिसकेका छन् तर विश्वकपमा भने उनीहरू बीच पहिलो स्पर्धा हो। अघिल्लो खेलमा डेनिस टिमले दुई खेलमा विजय र सकरुजले एकमा जित हात पारेको छ।
गत शनिवार फ्रान्सविरूद्ध विश्वकपमा डेब्यु गरेका अस्ट्रेलियाका आरोन मुए डेनिस खेलाडी क्रिस्टियन इरिक्सनका जबर्दस्त फ्यान हुन्। टोटेनहामबाट व्यवसायिक फुटबल खेल्ने इरिक्सनलाई उनी डेनमार्कको सबैभन्दा खतरनाक खेलाडी मान्छन्। त्यसैले उनी आजको खेलमा उनलाई रोक्नु पर्ने आवश्यकता औल्याउँछन्।
विश्वकपमा यसपालि पूर्व विश्व च्याम्पियन इटाली समावेश छैन् । तर, अजुरीको भेट्रान खेलाडी आन्द्रेई पिर्लो कुनै पनि टिमका लागि अस्ट्रेलिया बलियो प्रतिद्वन्दी भएको दावी गर्छन्। सन् २००६ को विश्वकप विजेता इटालीको टोलीमा रहेका पिर्लो त्यतिबेला अस्ट्रेलियासँग खेल्न निकै गाह्रो भएको बताउँछन् र युवा आरोन मुए र अनुभवी टिम काहिललाई कमजोर नआँक्न पनि विपक्षी टोलीलाई सुझाव दिन्छन्। ‘उनीहरू स्तरीय खेलाडी हुन्,’ अस्ट्रेलियाको फक्स स्पोर्टसलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्।