इरानको दुर्भाग्य, कोस्टाले फेरि उकासे स्पेनलाई
काठमाडौं (एजेन्सी)– पूर्व विश्व विजेता स्पेनसँग कडा प्रतिस्पर्धा गरेको इरान दुर्भाग्यपूर्ण गोलका कारण १–० ले पराजित भएको छ। पहिलो हाफको खेल गोलरहित बराबरीमा रोकेको एसियाली राष्ट्र आफ्नो डिफेन्डर रामिन रेजाइनले डिबक्सभित्र बललाई राम्रोसँग क्लियर गर्न नसक्दा पराजित भयो।
स्पेनको जितमा आज पनि एट्लेटिको म्याड्रिडका स्ट्राइकर डिएगो कोस्टा नायक सावित भए। पोर्चुगलविरूद्ध पहिलो खेल ३–३ गोलका कारण अंक बाड्दा कोस्टाले नै दुई गोल गरेका थिए। दोस्रो हाफको ५४ मिनेटमा डिबक्स भित्र कोस्टासँग बल खोस्न गएका रेजाइनले बललाई राम्रोसँग क्लियर गर्न सकेनन्। उनले बाहिर हान्न खोजेको बल कोस्टाकै खुट्टामा लागेर गोलमा परिणत भएको थियो। यस्तै, मिडफिल्डर सइद इजातुल्ही अफाजले ६२ मिनेटमा गरेको गोल भिडियो रिभ्यूमा अफसाइड देखिएपछि इरानको खेलमा फर्किने सम्भावना पनि समाप्त भयो।
स्पेनले समूह ‘बी’ मा ४ अंक बटुलेको छ। यस अगाडि भएको अर्को खेलमा पोर्चुगलले पनि मोरक्कोलाई १–० गोलले नै पराजित गरेको थियो।
पोर्चुगलको पनि ४ अंक छ। मोरक्कोलाई १–० ले पहिलो खेलमा पराजित गरेको इरानको ३ अंक छ। त्यसैले उसको दोस्रो चरण प्रवेश गर्ने सम्भावना समाप्त भइसकेको छैन्। इरानले दोस्रो चरण प्रवेशका लागि पोर्चुगलसँग अन्तिम खेल खेल्ने छ भने अर्को खेल मोरक्को र स्पेनबीच हुनेछ। मोरक्को दुई खेल हारेर प्रतियोगिताबाट बाहिरिसकेको छ।