रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने इतिहासतर्फ
काठमाडौं (एजेन्सी)– रियल म्याड्रिडका पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा बढी गोल गर्ने दोस्रो खेलाडी र युरोपको शीर्ष खेलाडी बन्न पुगेका छन्। विश्वकपअन्तर्गत मोरक्कोविरूद्ध निर्णायक गोल गरेका रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबलमा गोल संख्या ८५ पुगेको छ। उनले १ सय ५२ क्यापमा ८५ गोल पुरा गरेका हुन्।
रोनाल्डोभन्दा अगाडि अब सर्वाधिक गोल गर्नेमा इरानका पूर्व स्टार अली दायी मात्र रहेका छन्। दायीले १ सय ४९ क्यापमा १ सय ९ गोल गरेका थिए। बुधबार मोरक्कोविरूद्ध ४ मिनेटमा गोल गरेका रोनाल्डोले हंगेरीका पूर्व स्टार फेरेन्क पुस्कासको सर्वाधिक गोल गर्ने युरोपियन खेलाडीको इतिहासलाई आफ्नो नाममा सारेका हुन्। पुस्कासले ८९ अन्तर्राष्ट्रियमा ८४ गोल गरेका थिए। रोनाल्डोले विश्वकप अन्तर्गत २ खेलमा ४ गोल गरिसकेका छन्।