सुआरेजको सयौं खेलमा जितको उपहार, साउदी बाहिरियो
काठमाडौं (एजेन्सी)– साउदी अरब विश्वकप फुटबलमा बाहिरिने पहिलो एसियाली राष्ट्र बनेको छ। बुधबार राती दक्षिण अमेरिकी राष्ट्र उरुग्वेसँग १–० ले खेल गुमाएको साउदी समूह ‘ए’ को एक खेल खेल्न बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको हो। साउदीले पहिलो खेल आयोजक रुससँग ५–० ले गुमाएको थियो।
समूह ‘ए’ बाट रुस र उरुग्वे दोस्रो चरण प्रवेश गरेका छन्। यी दुवै टिमले ६–६ अंक बटुलेका छन्। समूह ‘ए’ को विजेता र उपविजेताको निर्णय यी दुवै देशबीच तेस्रो चरणको खेलबाट हुनेछ।
उरुग्वेका लागि विजयी गोल बार्सिलोनाका स्ट्राइकर लुइज सुआरेजले गरे। उनले २३ मिनेटमा साञ्चेजको कर्नरमा साउदी डिफेन्डर अल ओवाइसको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए। सुआरेजको यो सयौं अन्तर्राष्ट्रिय खेल थियो। र, उनले आफ्नो सयौं खेलमा जितको मिठो उपहार आफ्नो देशलाई दिएका छन्। उरुग्वेले विश्वकपमा गरेको पछिल्लो १५ गोलमध्ये ८ गोलमा सुआरेजको प्रत्यक्ष संलग्नता छ। उनले ६ गोल आफै र २ गोलका लागि बल निकालेका थिए।
उरुग्वेले यसअघि इजिप्टलाई १–० ले हराएको थियो। साउदीले अन्तिम खेल मोहम्मद सलाहको टिम इजिप्टसँग खेल्ने छ।