रोनाल्डोले लिए ३२ वर्ष अगाडिको बदला, मोरक्को प्रतियोगिताबाट बाहिर
काठमाडौं (एजेन्सी)– पोर्चुगलले ३२ वर्षअघि अफ्रिकी मुलुक मोरक्कोसँग विश्वकपमा भोगेको पराजयको बदला लिएको छ। बुधबार समूह ‘बी’ को खेलमा क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलको सहयोगले पोर्चुगल १–० ले विजयी भयो। लुझनिकी रंगशालामा उपस्थित ७१ हजार फुटबल समर्थक अगाडि बेर्नार्डो सिल्भाले ४ मिनेटमा हानेको कर्नर किकलाई रोनाल्डोले हेडिङमार्फत गोलमा परिणत गरेका थिए।
रोनाल्डोको विश्वकपको दोस्रो खेलमा चौथो गोल हो। यसअघि स्पेनविरूद्ध उनले ह्याट्रिक गरेका थिए। पोर्चुगल सन् १९८६ मा मोरक्कोसँग ३–१ ले पराजित भएको थियो। दोस्रो खेलको जितपछि पोर्चुगलको दोस्रो चरण प्रवेशको सम्भावना बढेको छ। स्पेनसँग पहिलो खेलमा अंक बाँडेको पोर्चुगलको दुई खेलबाट ४ अंक भएको छ। मोरक्को भने प्रतियोगिताबाट बाहिरिएको छ।
मोरक्कोको यो लगातार दोस्रो पराजय थियो। पहिलो खेलमा इरानसँग आत्मघाती गोलका कारण पराजय भोगेको मोरक्कोको सम्भावना समाप्त भएको हो।