टिप्पणीबुधवार, आषाढ ६, २०७५

शोधनान्तर घाटा: नरोकी सुख छैन

हिमालखबर

शान्तराज सुवेदी, पीएचडी

मुलुकको चालू खातामा परिरहेको चाप घटाएर अर्थतन्त्रमा आउन सक्ने संकट टार्ने कदमहरू चाल्नु अपरिहार्य भइसकेको छ ।

नेपाल राष्ट्र ब्यांकले प्रत्येक महीना मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दा धेरैको ध्यान तान्‍ने विषय शोधनान्तर घाटा हो । यसमा पनि बढ्दो चालू खाता घाटाले मुलुकको आर्थिक अवस्थालाई कसरी असर गर्छ भन्‍ने विषय अत्यन्त महत्वपूर्ण हुन्छ । शोधनान्तर स्थिति मुलुकको भुक्तानी सन्तुलन देखाउने आर्थिक ऐना हो ।

कुनै निश्‍िचत अवधिमा विदेशी मुद्रा आर्जन भन्दा बढी खर्च हुनु (भित्रिने भन्दा धेरै बाहिरिने) शोधनान्तर घाटा हो । यस्तो अवस्थामा सञ्चितिबाट भुक्तानी गर्दै जाँदा विदेशी मुद्रा घट्दै जान्छ । यस्तो स्थिति लम्बिंदा हाम्रो जस्तो व्यापार तथा आयातमा आधारित अर्थतन्त्र भएको मुलुकमा आर्थिक संकट पर्छ । 

चालू, पूँजी र वित्तीय गरी मूलतः तीन किसिमका शोधनान्तर खाता हुन्छन् । चालू खातामा वस्तु तथा सेवा निर्यातबाट प्राप्त रकम, वैदेशिक रोजगारीबाट आउने विप्रेषण, सरकार, व्यक्ति तथा संघ–संस्थालाई प्राप्त हुने दान, उपहार, चन्दा, वैदेशिक लगानीको ब्याज, बहाल, भाडा र नाफाबाट प्राप्त हुने आय एवं विदेशमा सेवा गरेबापतको पेन्सन जस्ता रकमहरू जम्मा हुन्छन् ।

आयातको भुक्तानी पनि यही खाताबाट हुने हुनाले बचतभन्दा बाहिरिने रकम बढी भइरहेको छ । नेपालीलाई विदेशमा लगानी गर्न औपचारिक अनुमति नभएकोले यस क्षेत्रबाट चालू खातामा आम्दानी हुनसकेको छैन । विप्रेषण र निर्यातबाट हुने आय नै यस खाताको प्रमुख स्रोत हो ।

यसैगरी पूँजी खातामा दीर्घकालीन महत्वका पूँजी निर्माण हुने रकमहरू समावेश गरिन्छ । यस खातामा सरकार तथा निजी क्षेत्रबाट विदेशमा भएको लगानीबाट फिर्ता प्राप्त हुने साँवा, नेपाली कम्पनीहरूमा शेयरको रूपमा प्राप्त हुने विदेशी लगानी, विदेशी मुद्रामा बिक्री भएको सम्पत्ति, शेयरको आम्दानी तथा सरकार र व्यक्तिले प्राप्त गर्ने वैदेशिक ऋण र ती प्रयोजनको लागि भुक्तानी हुने रकम जम्मा हुन्छन् ।

त्यसैले यो खाता वैदेशिक सम्पत्ति र दायित्वको अभिलेख पनि हो । त्यस्तै अर्को वित्तीय खातामा प्रत्यक्ष वैदेशिक लगानी, पोर्टफोलियो लगानी जस्ता शीर्षकहरूमा प्राप्त हुने र भुक्तानी हुने रकमहरू समावेश गरिन्छ । यसरी हेर्दा यी तीनमध्ये सबभन्दा महत्वपूर्ण चालू खाता नै देखिन्छ ।

घाटा यसरी हुन्छ
स्वदेशी उत्पादन भन्दा केही सस्तो र आकर्षक हुने भएकाले आयातित मालवस्तुको माग बढ्दै जान्छ । त्यसबाट आयातमा वृद्धि भएर बढी विदेशी मुद्रा खर्च हुनु, अध्ययनको लागि ठूलो संख्यामा नेपाली विद्यार्थी बाहिरिंदा विदेशी मुद्राको माग बढ्नु, हुण्डी लगायतका अवैध कारोबारको कारण पूँजी पलायन हुनु, वैदेशिक रोजगारीबाट प्राप्त हुने सबै विप्रेषण ब्यांकिङ प्रणालीबाट नभित्रिनु र विदेशी मुद्राको अवैध कारोबार बढ्दै जानु जस्ता कारणले चालू खाता घाटा बढिरहेको छ ।

सुनचाँदी, सवारी साधन, खाद्यान्‍न र निर्माण सामग्रीको आयातमा अत्यधिक वृद्धिले पनि चालू खातामा घाटा बढाएको छ । पेट्रोलियम पदार्थको आयात त गत वर्षको तुलनामा ३५ प्रतिशत बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि र अमेरिकी डलर सबल (महङ्गो) हुँदै जानुले पनि विदेशी मुद्रा भुक्तानीमा दबाब पर्न गई चालू खाता घाटा बढिरहेको छ ।

दुईतिहाइ जनसंख्या कृषिमा आश्रित मुलुकमा गत आर्थिक वर्षमा करीब रु.३९ अर्बको चामल, तरकारी र फलफूल मात्र आयात गरियो । यो वर्षको अघिल्लो १० महीनामा गत सालकै हाराहारीमा आयात भएको छ । चामलको आयात ३५ प्रतिशतले बढ्नुले कृषि उत्पादन र उत्पादकत्व बढाउने हाम्रा सबै किसिमका प्रयासमा प्रश्‍नचिह्न लागेको छ ।

गत वर्ष रु.११९ अर्बको पेट्रोलियम आयात भएकोमा यस आवको १० महीनामै यो रकम रु.१३२ अर्बको हाराहारी पुगिसकेको छ । यस हिसाबको वृद्धिबाट यो आवमा पेट्रोलियम पदार्थको आयातमा रु.१६० अर्ब भन्दा बढी बाहिरिने देखिन्छ ।

समग्र वैदेशिक व्यापारको स्थिति हेर्दा यो आवको अघिल्लो १० महीनामा रु.९७२ अर्ब १५ करोडको आयात भएको देखिन्छ । निर्यात भने जम्मा रु.७६ अर्ब ४६ करोडको मात्र भएको छ । निर्यात कम र अधिक आयात हुँदा व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा ३७.५ प्रतिशतले वृद्धि भै रु.८९५ अर्ब ६९ करोड पुगेको छ । यो अनुपातको आयात वृद्धिले यस आवमा व्यापार घाटा करीब रु.११ खर्ब पुर्‍याउने देखिन्छ । यसबाट चालू खातामा घाटाको आकार अत्यधिक बढ्ने पक्‍का छ ।

घाटाको असर
आम्दानी भन्दा खर्च बढी हुँदा विदेशी मुद्राको भण्डार क्रमशः रित्तिंदै गएर वस्तु तथा सेवा आयातको लागि राज्यले विदेशी मुद्रा उपलब्ध गराउन नसक्ने अवस्था आउन सक्छ । यसको प्रभाव पूँजीगत र वित्तीय खातामा पनि पर्छ ।

शोधनान्तर खाताको बनावटको प्रकृति अनुसार चालू खातामा रकम नहुँदा वित्तीय र पूँजीगत खातामा मात्र रकम बचत हुन पुग्छ, जुन हाम्रो दायित्वसँग जोडिएको हुन्छ । यो अवस्थामा विदेशीहरूले आफ्नो लगानीको रूपमा रहेको मुलुकभित्रको सम्पत्तिमा दाबी गरेर जुनसुकै बेला फिर्ता लैजान सक्ने हुँदा उनीहरूले चाहेको समयमा विदेशी मुद्रामा रकम फिर्ता गर्नुपर्ने हुन्छ, जसले भुक्तानीको समस्या ल्याउँछ ।

चालू खाता घाटा हुनु भनेको आयात र उपभोग खर्च बढ्नु पनि हो । यसबाट निर्यातमा समेत नकारात्मक असर पर्छ । उपभोक्ताहरू तुलनात्मक रूपमा सस्तो विदेशी सामग्री उपभोग गर्न चाहन्छन् । निजी क्षेत्र छिटो र बढी नाफाको लागि उद्योग भन्दा व्यापारतर्फ आकर्षित छन् । मुलुकको अर्थतन्त्र प्रतिस्पर्धी र उत्पादनमुखी नभई आयातमा आधारित छ भन्‍ने सन्देश प्रवाह हुँदा विदेशी लगानीकर्ताहरू पनि लगानी गर्न हच्किन्छन् ।

लगानीकर्ताले जोखिमको विकल्प रोज्ने हुनाले मुख्यतः नयाँ प्रत्यक्ष वैदेशिक लगानी कम आउने र पुराना लगानीकर्ताले आफ्नो लगानी फिर्ता लैजाने सम्भावना बढ्छ । यस्तो अवस्थामा सामान्य वित्तीय तथा मौद्रिक उपकरणहरूको प्रयोगबाट समस्या समाधान गर्न कठिन हुन्छ ।

उपाय के त ?
चालू खाता मजबूत बनाउने एक मात्र उपाय कम विदेशी मुद्रा खर्च गर्ने र आम्दानी बढाउने हो । यो समस्यालाई तत्कालीन र दीर्घकालीन गरी दुई पक्षबाट हेर्नुपर्छ । तत्कालीन रूपमा चालू खाता माथिको दबाब घटाउन आयात घटाउने नै हो । पछिल्ला केही वर्षहरूमा सवारी साधन, पेट्रोलियम पदार्थ, सुनचाँदी, खाद्यान्‍न, सिमेन्ट, फलामे छड तथा बिलेट, विद्युतीय सामग्री एवं विलासिताका सामग्रीहरूको आयात अत्यधिक बढेको छ ।

यी सामग्रीहरूको आयातलाई निरुत्साहित गर्न सक्दा विदेशी मुद्रा माथिको चाप क्रमशः घट्दै जान सक्छ । त्यस्तै, विप्रेषणलाई ब्यांकिङ माध्यमबाट भित्र्याउन सक्दा र हुण्डीबाट हुने पूँजी पलायन तथा अवैध विदेशी मुद्राको कारोबार रोक्न सक्दा विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पर्छ ।

पर्यटन प्रवद्र्धनबाट थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । यसका साथै सरकारी खर्चमा विदेश भ्रमण निरुत्साहन, सरकारी कार्यालयहरूमा फर्निचर लगायतका सामग्रीमा स्वदेशी उत्पादन प्रयोग र विकास साझेदारहरूबाट लिनुपर्ने शोध भर्ना रकम शीघ्र प्राप्त गर्न सक्दा पनि शोधनान्तर स्थिति केही हदसम्म अनुकूल बन्छ ।

यसको दीर्घकालीन समाधानको उपाय चाहिं प्रत्यक्ष वैदेशिक लगानीको माध्यमबाट पूँजीगत लगानी बढाई पूँजी निर्माण, रोजगारी सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धि, विद्युतीय सवारी साधनको प्रयोग र निर्यात प्रवद्र्धन नै हो ।

कतिपय मुलुकले चालू खाता घाटाबाट उत्पन्न समस्या समाधान गर्न मुद्रा अवमूल्यन गरी लगानी फिर्ता जान रोक्ने र आयात निरुत्साहन तथा निर्यातलाई प्रोत्साहन गर्ने गरेको पाइन्छ । सन् १९८६ मा नेपालले पनि यो उपाय अपनाउँदै १४ प्रतिशतले मुद्रा अवमूल्यन गरेको थियो । कुनै पनि मुलुकले बाह्‍य क्षेत्रको संकट समाधान गर्न चलाउने यो अन्तिम अस्त्र हो ।

अहिले हाम्रो विदेशी विनिमय सञ्चितिको अवस्था ११ महीनाको वस्तु र ९.६ महीनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने रहेकोले त्यति चिन्तित हुनुपर्ने अवस्था छैन । तर यस प्रकारको स्थिति छोट्याएर अर्थतन्त्रमा आउन सक्ने संकट टार्न नेपाल राष्ट्र ब्यांक र अर्थ मन्त्रालयले उपयुक्त कदम चाल्नु अपरिहार्य भइसकेको छ ।

(सुवेदी पूर्व अर्थसचिव हुन् ।)

प्रतिकृया दिनुहोस