मोरक्कोको चिन्ता रोनाल्डो, पोर्चुगल ३२ वर्षको बदला लिने तयारीमा
काठमाडौं (एजेन्सी)– विश्वकपको पहिलो खेलमै ह्याट्रिक गरेर सनसनी मच्चाएका रियल म्याड्रिड स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका लागि आज मोरक्कोविरूद्धको खेल आफ्नो गोल संख्या बढाउने स्वर्ण अवसर हुनेछ।
समूह ‘बी’ अन्तर्गत मस्कोमा पौने ६ बजे हुने खेलमा युरो च्याम्पियन पोर्चुगल अफ्रिकी प्रतिद्वन्दी मोरक्कोविरूद्ध उत्रिँदै छ। रोनाल्डोले स्पेनविरूद्ध पहिलो खेलमै ह्याट्रिक गरेर सनसनी मच्चाएका थिए।
अन्तर्राष्ट्रिय मिडियालाई पोर्चुगाली डिफेन्डर पेपेले दिएको अन्तर्वार्तामा रोनाल्डोको उपस्थितिले विश्वकप अभियानलाई विशेष बनाएको बताएका छन्।
मोरक्को र पोर्चुगलबीच सन् १९८६ को विश्वकपमा एकपल्ट भिडन्त भएको थियो। जसमा मोरक्को ३–१ गोलले विजयी भएको थियो। सन् २००२ को विश्वकपमा दक्षिण कोरियासँग १–० ले पराजय भोगेयता पोर्चुगलले कुनै एसियाली राष्ट्रसँग खेल हारेको छैन। त्यसैले पोर्चुगलका लागि ३२ वर्षअघि विश्वकपमा भोगेको पराजयको बदला लिने अवसर पनि हो।
मोरक्को पहिलो खेलमा आफ्नै खेलाडी अजिज बोउहादुजको आत्मघाती गोलका कारण इरानसँग १–० गोलले पराजित भइसकेको अवस्थामा थप दबाबमा देखिने पक्का छ। त्यसैले प्रशिक्षक हेर्भे रेनार्डले आजको खेलमा रोनाल्डोको टिमलाई रोक्न आफूहरू माथि थप दबाब हुने प्रतिक्रिया दिएका छन्।
‘उनी (रोनाल्डो) अन्य खेलाडीभन्दा भिन्न छन्। तरपनि हामी उनलाई रोक्न सबै उपाय अपनाउने छौं,’ प्रशिक्षक रेनार्डले भनेका छन्। आज पोर्चुगलको टिममा गोन्सालो गुइडेसको स्थानमा आन्द्रे सिल्भालाई मौका दिने सम्भावना छ।