१६ वर्षपछि सेनेगलको अर्को धमाका, पोल्यान्ड २–१ ले पराजित
रुस (एजेन्सी)– सेनेगल विश्वकपको पहिलो खेल जित्ने अफ्रिकी राष्ट्र बन्न पुगेको छ। अफ्रिकी समूहबाट विश्वकप खेलिरहेको इजिप्ट, मोरक्को, नाइजेरिया र ट्युनेसियाले समूह चरणको पहिलो खेल हारिसकेको स्थितिमा सेनेगलले मंगलबार राती समूह ‘एच’ को बलियो टोली पोल्यान्डलाई २–१ गोलले हराएको छ।
१६ वर्षपछि विश्वकपमा पुनरागमन गरेको सेनेगलले एकपल्ट फेरि बलियो टोलीलाई स्तब्ध पारेको हो। सन् २००२ मा पछिल्लो पल्ट विश्वकप खेल्दा यो अफ्रिकी टोलीले विश्व विजेता फ्रान्सलाई १–० ले पहिलो खेलमै पराजित गरेको थियो।
मंगलबार सुरुवातमै सेनेगल भाग्यमानी सावित भयो, जब इद्रिसा गुयेको प्रहार ३८ मिनेटमा थियागो सियोनेकको खुट्टामा डिफ्लेक्ट भएर गोल भयो। दोस्रो गोल ६० मिनेटमा एमबाये नियाङले गरे। जेकोज क्रिभोयाकले आफ्नो गोल पोस्टमा अलर्ट नभएका डिफेन्डरलाई पास दिने गल्ती गर्दा नियाङले स्तरीय गोल गरेका थिए।
८६ मिनेटमा हेडिङमार्फत क्रिभोयाकले गोल फर्काएपनि त्यो खेलमा फर्किन ढिलो भइसकेको थियो।