विश्वकप फुटबलमा जापानको ऐतिहासिक जित, ४ वर्षको बदला पुरा
रुस (एजेन्सी)– एसियाली फुटबलको सुपरपावर जापानले विश्वकप फुटबलमा पहिलो पल्ट दक्षिण अमेरिकी राष्ट्रलाई पराजित गरेको छ। रुसमा आयोजना भइरहेको विश्वकप अन्तर्गत मंगलबार साँझ भएको समूह ‘एच’ को खेलमा १० खेलाडीमा सिमित कोलम्बियालाई २–१ गोलले पराजित गर्ने क्रममा जापानले गत वर्षको पराजयको बदला पनि लिएको छ।
ब्राजिलमा भएको गत विश्वकपमा जापान ४–१ गोलले पराजित भएको थियो। मंगलबार युया ओसाकोले ७३ मिनेटमा हेडिङमार्फत निर्णायक गोल गरेपछि जापान विजयी भयो। जापानका लागि पहिलो गोल ६ मिनेटभित्र सिन्जी कागावाले गरेका थिए। डर्टमुन्डका यी मिडफिल्डरको प्रहार डिबक्स भित्र कार्लोस सान्चेजले हातले रोकेपछि जापानले ३ मिनेटभित्रै पेनाल्टीको अवसर पाएको थियो। यो घटनामा सान्चेज रातो कार्ड पाएर मैदान बाहिरिएका थिए। उनी यो विश्वकपमा रातो कार्ड पाउने पहिलो खेलाडी बन्न पुगेका छन्।
खेलको सुरुवातमै १० खेलाडीमा सिमित भएपनि कोलम्बियाले पहिलो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो। हुँवा कुन्टेरोले ३९ मिनेटमा हानेको फ्रिकिक जापानी गोलरक्षक इजी कावासिमाले गोल पोस्टभित्र समातेपछि भिडियो रिप्लेमा स्पष्ट गोल देखियो।
दोस्रो हाफमा केही दबाब बनाएको जापानका लागि वेर्डर ब्रेम्यानका ओसाकोले ऐतिहासिक जित दिलाए। उनलाई हेडिङका लागि काइसुके होन्डाले कर्नरबाट भली बल मिलाएका थिए। जापानले अब सेनेगल र पोल्यान्डसँग खेल्ने छ।