डा देवकोटाप्रति राष्ट्र सँधै ऋणी : दलहरु
नेपाल कम्युनिष्ट पार्टीले न्युरो साइन्सका विख्यात चिकित्सक प्रा.डा. उपेन्द्र देवकोटाको निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ ।
डा. देवकोटाले न्युरो सर्जरीका क्षेत्रमा प्राप्त गरेको उचाइँ कुनै एक व्यक्तिका लागि नभएर सिंगो नेपाल र नेपालीले गर्व गर्न लायक रहेको सो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
“स्रोत, साधन र प्रविधिको सीमितता भएको बेलामा खुल्ला प्रतिस्पर्धामार्फत योग्यताका आधारमा विश्वका प्रसिद्ध न्युरो सर्जरी विश्वविद्यालयबाट हासिल गरेको ज्ञान र सीप नेपालमै प्रयोग गर्न उहाँले देखाएको प्रतिबद्धताका लागि उहाँप्रति राष्ट्र सधैँ ऋणी रहिरहनेछ,” विज्ञप्तिमा भनिएको छ, “आफ्नो मातृभूमिप्रतिको यो अगाध प्रेम र समर्पण हामी सबैका लागि प्रेरणादायी भइरहनेछ । आफ्नो ज्ञान र सीपका माध्यमबाट हजारौँ मानिसहरुलाई जीवन दिने प्रा.डा. देवकोटा हाम्राबीचमा नरहे पनि उहाँको अद्वितीय योगदान सदा स्मरणीय भइरहनेछ ।”
अपुरणीय क्षतिः काँग्रेस
नेपाली कांग्रेसले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनप्रति शोक व्यक्त गर्दै उनको निधनले कांग्रेस पार्टी परिवारलाई अत्यन्तै दुःखित तुल्याएको जनाएको छ ।
पार्टीले जारी गरेको विज्ञप्तिमा हजारौँको जीवन बचाउन सफल डा देवकोटाको असामयिक निधनबाट राष्ट्रका लागि ठूलो क्षति पुगेको उल्लेख छ ।
"डा देवकोटाको निधनबाट चिकित्सा जगत्मा दक्षिण एशियाकै लागि अपुरणीय क्षति पुगेको छ," विज्ञप्तिमा भनिएको छ, “दुर्गम गाउँमा जन्मिएर पनि राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वका रुपमा उहाँले हासिल गरेको सफलता समस्त नेपालीका लागि प्रेरणाका रुपमा रहिरहने छ ।”
हिजो बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले डा देवकोटाको निधनप्रति एक मिनेट मौन धारण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना समेत प्रकट गरेको छ ।
डा देवकोटाको हिजो ४ जेठ साँझ बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।
उनको पार्थिव शरीरमा श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेत्री हिसिला यमी, नेकपा नेता बामदेव गौतम, नेकपा महासचिव विष्णु पौडेल, नेत्री पम्फा भुसाल, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश नं ३ का प्रदेशप्रमुख अनुराधा कोइराला, वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, वरिष्ठ न्यूरोसर्जन बिएन गंगोल, न्यूरो सर्जन वसन्त पन्त, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतले देवकोटाको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरे ।
यसअघि हिजो राति प्रधानमन्त्री केपी ओली अस्पतालमा पुगी श्रद्धाञ्जलि व्यक्त गर्नुका साथै परिवारप्रति समवेदना प्रकट गरेका थिए ।
४ पुस २०१० मा गोरखाको पण्डितगाउँ लिगलिगमा जन्मिएका डा देवकोटाका श्रीमती र तीन छोरी छन् । श्रीमती डा मधु दीक्षित तथा छोरीहरु मेघा, वसुधा र मञ्जरीले उहाँको काजक्रिया सात दिनमा सक्ने अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उनको पार्थिव शरीर आज अपराह्न १ बजेसम्म श्रद्धाञ्जलिका अस्पताल परिसरमा राखिएको छ भने त्यसपछि नारायणगोपाल चोकबाट शवयात्रासहित पशुपति आर्यघाटमा विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिनेछ ।