११९ जनाको टोलीसहित प्रधानमन्त्री ओली चीन प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणको लागि आज बिहान चीन प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा ११९ सदस्यीय टोलीको नेतृत्व गर्दै हिमालय एअरलाइन्सको विशेष विमानबाट बेइजिङ प्रस्थान गरेका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लीसँग भेटवार्ताका साथै नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत् समूहलाई बेइजिङमा सम्बोधनसमेत गर्नेछन् ।
प्रधानमन्त्री ओलीले बुधबार, ६ असारमा चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन् ।
भ्रमणकै सिलसिलामा ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, केही सांसद, निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी सहित ११९ जना सहभागी छन् ।
प्रधानमन्त्री ओली १० असारमा स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।