नेपाललाई थप हवाई रूट दिन भारत सहमत
भारतले नेपाललाई थप हवाई रुट दिने सहमति जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणबीच अाज भएको सम्झौताअनुसार भारतले नेपाललाई थप चार हवाई रुट दिने सहमति जनाएकाे हो ।
सहमति सन् २०१८ को सेप्टेम्बर अर्थात् आगामी १४ असोजभित्र कार्यान्वयनमा जानेछ ।
हाल भारतीय आकाशबाट आएका विमान सिमरा रुटबाट मात्र नेपाल प्रवेश गरिरहेका छन् । नयाँ सहमतिसँगै नेपाल आउने विमानले महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र विराटनगर रुट पनि प्रयोग गर्न सक्नेछन् ।
अहिले नेपालबाट बाहिरिने विमानले भने महेन्द्रनगर, भैरहवा, विराटनगर र जनकपुरको रुट प्रयोग गरिरहेका छन् । अब सबै रुट दुईतर्फी रुपमा सञ्चालन हुनेछन् ।
त्यस्तै, गौतमवुद्ध, पोखरा र निजगढ विमानस्थलबाट बढी उचाइमा उड्ने अन्तर्राष्ट्रिय विमानका लागि पश्चिममा नेपालगञ्ज र महेन्द्रनगरबाट प्रवेशमार्ग दिने सम्बन्धमा आउँदो सेप्टेम्बरसम्म विस्तृत प्राविधिक अध्ययन मूल्यांकन सम्पन्न गर्ने सहमति पनि भएको छ ।
सहमतिसँगै दुई देशका प्राविधिकले संयुक्तरुपमा रुट निर्धारण, सुरक्षा मूल्यांकन लगायतको बारेमा अध्ययन गर्नेछन् । १५ देखि २४ हजार फिट उचाईसम्म उडान भर्ने जहाजको लागि आवश्यक रुटको अध्ययन पहिलो चरणमा हुनेछ ।
अध्ययनपश्चात नेपालले चारवटै प्रस्तावित रुटको डिजाइन, अध्ययन तथा मूल्यांकको रिपोर्ट भारतीय पक्षलाई बुझाउने छ ।
पढ्नुहाेस् ।
‘निजगढ विमानस्थल हाम्रो अर्थतन्त्रको गेम–चेञ्जर हुनेछ’
नेपाल–भारतबीच हवाई रुटबारे नयाँ समझदारी हुँदै