व्यक्तित्वशनिवार, आषाढ २, २०७५

बेचल्तीका बाटोको हिंडाइ

हिमालखबर

दीपक अर्याल

धेरैका लागि, कतिपय अर्थमा सरकारका लागि समेत बेकारका सामग्रीलाई निजी मिहिनेत र सम्पत्ति खर्चेर संरक्षण गर्ने राजेन्द्रगोपाल सिंहको प्रयास प्रेरणादायी छ ।

राजेन्द्रगोपाल सिंह ।

पाल्पा संग्रहालयका संस्थापक राजेन्द्रगोपाल सिंहसँगको चिनजान पुरानो त हो तर असाध्य नजिकको भने होइन । मनमा लागेका कुरा हाकाहाकी बोल्ने भएकैले २०५४ सालको स्थानीय निर्वाचनमा तानसेन नगरपालिकाको उपमेयरमा उनी हारेका हुन् भन्ने सुनेको थिएँ ।

खासमा उनीसँगको मेरो पहिलो परिचयको आधार यही हल्ला नै थियो । समयक्रममा बीपी कोइरालाका अप्रकाशित सामग्रीको अनुसन्धान गर्दै गर्दा २०६० सालतिर पहिलोपटक सिंहसँग प्रत्यक्ष भेट भयो । पहिलो भेटमै ठाडा प्रश्न, कडा सवाल–जवाफ गर्ने उनलाई देख्दा उबेलाको हल्ला सत्य भएर आयो ।

२०७१ सालमा ऋण, चन्दा र साथीहरूको सहयोगको बलमा सम्पदा प्रतिष्ठान मार्फत सिंहले ‘पाल्पा संग्रहालय’ स्थापना गरे । संग्रहालयले उनलाई राजनीति र साहित्यसँगै ऐतिहासिक सामग्रीको संकलक र संरक्षकका रूपमा चिनायो ।

त्यसो त तानसेनको मूल केन्द्र शीतलपाटीको उनको घरका केही कोठा आफ्नै निजी संकलनमा रहेका पुस्तक, पत्रपत्रिका, पर्चा–पम्प्लेट र राजनीतिक दस्तावेजले भरिएका छन् । यी पुराना सामग्रीका साटो कोठालाई भाडामा लगाउने हो भने उनी केही सुविस्तासँग जीवनयापन गर्थे । तर उनले ‘चल्तीको सजिलो बाटो’ हिंड्न चाहेनन् । 

सिंहको निजी संकलनमा मुद्रित सामग्रीको वर्चश्व रहे पनि संग्रहालयले लुम्बिनी, गण्डकी क्षेत्रको इतिहास, कला संस्कृति र दैनिक जीवनसँग जोडिएका सयौं सामग्रीको संकलन र संरक्षणमा ध्यान दिएको छ ।

तस्वीरहरुः दीपक अर्याल

यस अन्तर्गत सेनकालीन, राणाकालीन उपभोग सामग्री, हस्तलिखित दस्तावेज, पुस्तकदेखि दैनिक जीवनमा प्रयोग भएका पुराना सिक्का, ढक, तराजु, घडी, क्यामेरा आदि थुप्रै सामग्री संकलित छन् । यसले हजारौं वर्षदेखि प्रयोग हुँदै आएका कैयौं उपभोग्य सामग्री पित्तल, फलाम, स्टिल, गिल्टी वा प्लास्टिकका सामग्री कसरी परिणत हुँदै गए, उपभोग परम्परामा कसरी परिवर्तन भयो भन्ने कुराको लेखाजोखा गर्न सघाउँछ ।

समाज वा इतिहास बुझ्न ऐतिहासिक दस्तावेज मात्र होइन यस्ता सामग्री पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । सँगै हाम्रा प्रविधि कसरी परिवर्तित भए, दैनिक जीवनमा हामीले के त्याग्यौं, के रोज्यौं भन्ने कुरा पनि थाहा पाइन्छ ।

विगतका यस्ता सामग्री वर्तमानमा विस्तारै लोप हुँदैछन् । किन पनि भने, सरकारको प्राथमिकतामा यस्ता काम पर्दैनन् । यो व्यापार वा नाफाको विषय पनि होइन । यस्तो अवस्थामा कुनै पनि संस्थाको संस्थागत स्थापना, विकास तथा विस्तार सबैभन्दा चुनौती हुने गर्छ । यसैको उदाहरण हो ‘पाल्पा अनुसन्धान केन्द्र’ ।

पुरानो भोटे चाबी

२०३१ सालमा मोहनमान सैंजू, विनोद श्रेष्ठ, मदन श्रेष्ठ, विनयकुमार कसजू आदि मिलेर ‘पाल्पा अनुसन्धान केन्द्र’ को स्थापना गरेका थिए । यसले पाल्पा सेरोफेरोका विविध विषयमा अनुसन्धान र ती सामग्री प्रकाशित गथ्र्याे ।

केन्द्रले नेपालको प्रादेशिक विकासको सन्दर्भमा पाल्पा, पाल्पा जिल्लाको आर्थिक एवं भौगोलिक वस्तुस्थितिको सर्वेक्षण, पाल्पामा टार सिंचाइ, नेपाली सूठो र अन्तर्राष्ट्रिय व्यापार जस्ता अनुसन्धानमूलक पुस्तक पुस्तिका प्रकाशित समेत गरेको थियो । तर समयक्रममा यो संस्था बन्द मात्र भएन प्रकाशनहरू नै अप्राप्य भए । तर, ती सामग्रीहरू पाल्पा संग्रहालयमा भेटिए ।

पाल्पा अनुसन्धान केन्द्र जस्ता संस्था पाल्पामा मात्र होइन, देशका अन्य स्थानमा पनि खोलिए होलान् । यस्ता संस्थाले कैयौं महत्वपूर्ण काम पनि गरे होलान् ।

अब, न त त्यस्ता संस्थाहरू नै भेटिन्छन्, न त तिनले गरेका काम नै । अर्थात् हाम्रा कैयौं संस्था संस्थागत नै भएनन्, बीच बाटोमै अलमलिए, जसले उनीहरूका काम समेत गुमनाम बन्यो ।

धन्न ! राजेन्द्रगोपाल सिंह जस्ता केही व्यक्ति यो समाजमा सक्रिय छन्, जो पुराना सामग्री खोजी खोजी हिंड्छन्, समाज र परिवारका नानाभाँती कुरा सुन्दै कसै न कसैलाई कुनै दिन चाहिएला नि भन्दै जोगाउँछन् । विना कुनै स्वार्थ उपलब्ध गराउँछन् । तर, नितान्त व्यक्तिगत पहल र सनकमा यस्तो सक्रियता, क्रियाशीलता र ‘जुनून’ कहिलेसम्म ?

प्रतिकृया दिनुहोस