गंगामायाको आत्मकथा ‘न्यायको अवसान’ को विमोचन
न्यायका लागि संघर्षरत गंगामाया अधिकारीको आत्मकथा ‘न्यायको अवसान’ विमोचन भएको छ ।
छोराका हत्यारालाई न्यायको दायरामा ल्याउन माग गरिरहेकी अधिकारीले गरेका संघर्ष र उनका भोगाईबारे समेटिएको उनको आत्मकथा काठमाडौंमा १ असारमा आयोजित एक कार्यक्रमबीच पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, राजनीतिक विश्लेषक निलाम्बर आचार्य, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, मानव अधिकारकर्मी सुवोध प्याकुरेल र पत्रकार कनकमणी दिक्षितले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
बुक–हिल पब्लिकेसनले प्रकाशन गरेको अधिकारीको आत्मकथा पत्रकार घनश्याम खड्कासँगको सहकार्य र सम्पादनमा लेखिएको हो ।
पुस्तक विमोचनअघि गंगामाया अधिकारीले वीर अस्पतालको शैयामार्फत बोलेको भिडियो देखाइएको थियो । भिडियोमार्फत अधिकारीले न्यायको लडाइँमा उनले भोगेका अनुभव पुस्तकमा समेटिएकाले सबैलाई पढ्न आग्रह गरिन् ।
उनले भनेकीछन्, “अहिले म राम्रोसँग बोल्न सक्दिन । म मरे भने पुस्तकमार्फत मानिसहरुले मेरो बारेमा थाहा पाउन् । सबैलाई पढेर सुझाव दिन आग्रह गर्छु ।”
पुस्तकमाथि टिप्पणी गर्दै राजनीतिक विश्लेषक निलाम्बर आचार्यले अधिकारीको आत्मकथाले अन्याय सामू नझुक्न प्रेरणा दिएको बताए । उनले अधिकारी दम्पत्तीको उदाहरण दिंदै दण्डहिनता र अन्याय भइरहेको देशमा कसरी शान्ति हुने भन्दै प्रश्न गरे ।
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुस्तक आत्मकथा मात्र नभई प्रवृत्ति र व्यथाको कथा भएको बताए । उनले भने भने, “सरकार जुन दिन न्यायको प्रतिवादी भएर उभिन्छ, त्यो दिन न्याय मर्छ ।”
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गंगामायका छोरा कृष्णप्रसादको हत्यारालाई पक्राउ गर्न सर्वोच्चले दिएको आदेश कार्यान्वयन गर्न पनि राजनीतिक दलहरुबीच सहमति खोज्नथाल्नु विडम्बनापूर्ण भएको बताए ।
मानव अधिकारकर्मी सुवोध प्याकुरेलले गंगामायाले न्याय नपाएको घटनाले मुुलुकमा राणाशासनको झल्को दिएको बताए । भावविह्वल मुद्रामा प्रस्तुत भएका प्याकुरेलले कृष्ण प्रसाद हत्या घटनाका प्रत्यक्षदर्शीलाई बयान नदिन धम्की दिइएको बताए ।
प्रवेशिका परीक्षा दिएर हजुरबुवा भेट्न चितवन आएका कृष्णप्रसाद अधिकारीको माओवादीले रत्ननगरको बकुलहरम २४ जेठ २०६१ मा हत्या गरेको थियो । कृष्णप्रसादका हत्यारालाई न्यायको दायरामा ल्याउन माग गर्दै अनशन बसेका उनका बुवा नन्दप्रसाद अधिकारीको अनशन बसेको ३३२ औं दिनमा ६ असोज २०७१ मा निधन भएको थियो । अहिले गंगामाया एक्लै वीर अस्पतालको क्याबिन नम्बर ७ मा अनशनरत छन् ।
-रामु सापकोटा