टिप्पणीबिहिवार, जेठ ३१, २०७५

बुद्धिस्ट फिलाटेलीमा नेपाल

वसन्त महर्जन

विश्वका विभिन्न देशबाट प्रकाशित बौद्ध विषयवस्तुका हुलाक टिकटहरू हेर्दा बौद्ध धर्मको विस्तारसँगै राजनीतिक भूगोल गौण हुँदै गएको महसूस हुन्छ।

विनोद श्रेष्ठ

हुलाक टिकट संकलकहरूको बेग्लै दुनियाँ हुन्छ । त्यही दुनियाँमा रमाउनेमध्येका एक हुन्, विनोद श्रेष्ठ । उनीसँग विश्वमा प्रकाशित बुद्ध सम्बन्धी सबैजसो हुलाक टिकटको संग्रह छ । अन्तर्राष्ट्रिय संस्थामा आवद्ध उनले कामको सिलसिलामा विभिन्न देश गइराख्नुपर्ने हुँदा टिकट संकलनको सोख पूरा गर्न पाएका छन् ।

शुरूमा टिकट संकलन मात्रै गरेका उनले तिनलाई व्यवस्थित गर्ने क्रममा छोटो टिप्पणी लेख्न थाले । त्यसरी लेख्दालेख्दै पुस्तक नै तयार भयो, त्यो पनि एउटा होइन पाँच वटा ।

तीमध्ये एउटा पुस्तकको पाण्डुलिपि (अ स्टोरी अफ गौतम बुद्ध) ले गत वर्ष इन्डोनेशियामा आयोजित विश्व हुलाक टिकट प्रदर्शनीमा रजत पदक पायो । श्रेष्ठले संकलन गरेका टिकटहरूको प्रदर्शनी र ‘अ स्टोरी अफ गौतम बुद्ध’ को विमोचन २ असारमा पाटनको अक्षेश्वर महाविहारमा हुँदैछ ।

बुद्धिस्ट फिलाटेली
चीनले सर्वप्रथम सन् १८९४ मा बेइजिङस्थित सिसोउ प्यागोडाको चित्र अंकित हुलाक टिकट प्रकाशन गरेको पाइन्छ । त्यसपछि थाइल्यान्डले १९०५ मा बौद्ध मन्दिरको चित्र अंकित टिकट प्रकाशन गर्‍यो भने १९३२ मा अफगानिस्तानले बुद्ध अंकित हुलाक टिकट प्रकाशन गरेर यो परम्परालाई अगाडि बढायो ।

गौतम बुद्धको जन्मभूमि नेपालले पहिलो पटक १९४१ डिसेम्बरमा स्वयम्भू महाचैत्य अंकित हुलाक टिकट प्रकाशन गरेको हो । हालसम्म १५० मुलुकले बुद्धसँग सम्बन्धित विभिन्न चित्र अंकित करीब ४ हजार २०० प्रकारका हुलाक टिकट प्रकाशन गरेका छन् ।

हुलाक टिकटहरूमा देखिएको बौद्ध विषयवस्तुको विविधता चाखलाग्दो छ । विभिन्न देशका हुलाक टिकटमा गौतम बुद्ध, उनको पूर्वजन्मका घटना, उनी अघिका बुद्ध, उनको विचारबाट प्रभावित प्रमुख पात्र, कला, संस्कृति, सम्पदा लगायतका विषयवस्तुले ठाउँ पाएका छन् ।

गुयनाले उत्तरी चीनको वाइ राजवंशकालीन दिपंकर बुद्धको मूर्ति अंकित टिकट प्रकाशन गरेको छ । त्यस्तै, सन् १९९९ मा हङकङले चीनको गान्सु प्रान्तमा रहेको मागाओ गुफामा कुँदिएको कश्यप बुद्धको भित्तेचित्रलाई आफ्नो हुलाक टिकटमा अंकित गर्‍यो ।

गौतम बुद्धको पूर्वजन्मका वर्णनहरूमा आधारित जातक कथाका चित्र अंकित हुलाक टिकटहरू पनि प्रकाशित छन् । थाइल्याण्ड र श्रीलंकाले राजकुमार वेसन्तर जातकसँग सम्बन्धित हुलाक टिकटहरू निकालेका छन् भने चीनले मागाओ गुफाको भित्तेचित्रमा रहेको राजकुमार महासत्वको कथा अंकित चित्र राखेर हुलाक टिकट प्रकाशन गरेको छ । थाइल्याण्ड, लाओस र श्रीलंकाले चण्डकुमार, महानारद, नेमी, तेमिया, सामा, भुरिदत्त, महाजनक, पदुमा, सुतसोमा, सिवि, सच्यङकिरा आदि जातक कथामा आधारित टिकटहरू प्रकाशन गरेका छन् ।

विदेशी टिकटमा नेपाल
जापान, थाइल्याण्ड र श्रीलंकाबाट प्रकाशित चार बौद्धधाम अंकित टिकटमा भारतका बोधगया, सारनाथ, कुशीनगर र नेपालको लुम्बिनी (मायादेवी मन्दिर) को तस्वीर छ । मायादेवी मन्दिरको चित्र राखेर मोजाम्बिकले प्रकाशन गरेको हुलाक टिकटमा भने गल्तीवश काठमाडौं लेखिएको छ ।

चार प्रमुख बौद्ध धामको तस्वीर अंकित टिकट निकाल्ने क्रममा श्रीलंकाले लुम्बिनी (मायादेवी मन्दिर) लाई भारतको नक्शाभित्र राखेर यस्तै गल्ती गरेको थियो । गल्ती भएको थाहा भएपछि त्यहाँको सरकारले उक्त टिकटलाई बजारबाट फिर्ता लियो । यसमा श्रीलंकालाई सचेत गराएका टिकट संकलनकर्ता विनोद श्रेष्ठ ‘बुद्धिस्ट फिलाटेली’ को इतिहासमा यस्ता गल्ती थुप्रै भेटिने बताउँछन् ।

लुम्बिनीमै केन्द्रित

हामी भने ‘बुद्ध जन्मस्थल नेपालमा पर्छ’ भन्ने बाहेकका कुरामा उदासीन रह्यौं, मानौं बुद्ध र बौद्ध भन्नु लुम्बिनी मात्र हो । अन्य देशले बाहिरका बौद्ध विषयलाई महत्व दिए पनि नेपाल संकीर्ण रहेको ‘बुद्धिस्ट फिलाटेली’ को इतिहासले देखाउँछ । हुलाक टिकटहरू नियाल्दा नेपालको रुचि लुम्बिनीमा केन्द्रित देखिन्छ ।

हालसम्म नेपालले मायादेवी मन्दिर राखेर ६ पटक (सन् १९७३, १९८६, १९९४, २००९, २०१२ र २०१४), अशोक स्तम्भ राखेर ६ पटक (१९७७, १९८७, १९९६, १९९९, २००९ र २०१४) र सिद्धार्थ जन्म अंकित हुलाक टिकट चार पटक (१९७९, १९९५, २००८ र २००९) प्रकाशित गरेको छ ।

नेपालले गौतम बुद्धको जन्मस्थल चिनाउने ‘मार्कर स्टोन’ अंकित (२००४) र शिशु जन्माउनु अघि मायादेवीले स्नान गरेको पोखरीको तस्वीर अंकित हुलाक टिकट २००९ मा प्रकाशन गरेको छ । त्यस्तै, सन् १९७७, १९९८ र २०१४ मा तिलौराकोट, २००२ र २०१४ मा रामग्राम, १९४९, १९७५ र २०१३ मा स्वयम्भू महाचैत्य, १९७० र २०१३ मा खास्ति महाचैत्य (बौद्ध) को तस्वीर अंकित टिकट प्रकाशित गरेको पाइन्छ ।

त्यसबाहेक करुणामय, सम्यक् पर्व, बजबहाल, क्वा बहाल, महाबौद्ध, नमोबुद्ध, मारातिका (हलेसी), मुस्ताङको गुफाचित्र, गौरी शंकर हिमाल सहितको स्तूप, काँक्रेविहार, तेङ्बोचे गुम्बा अंकित टिकटहरू पनि प्रकाशित छन् ।

त्यस्तै, व्यक्तिविशेषका हुलाक टिकटमा अरनिको (सन् १९७२), राजकुमारी भृकुटी (२००७), थेरवादी बौद्ध भिक्षु प्रज्ञानन्द महास्थविर (२००१), भिक्षु अमृतानन्द महास्थविर (२०१०), भिक्षु सुदर्शन महास्थविर (२०१२), लेखक तथा बौद्ध अभियन्ता चित्तधर हृदय (१९९२) र पौभाः कलाकार तेजबहादुर चित्रकार (२००९) का तस्वीर अंकित टिकट पनि छन् । जापानी भिक्षु इकाइ कावागुचि नेपालको हुलाक टिकटमा पर्ने (२००३) एक्ला विदेशी बौद्ध व्यक्तित्व हुन् ।

अन्य देशका बौद्ध सम्पदाले त दौत्य सम्बन्धका सन्दर्भमा बाहेक कहिल्यै नेपाली टिकटमा ठाउँ पाएका छैनन् । नेपाल–श्रीलंका दौत्य सम्बन्धको स्वर्ण महोत्सवका अवसरमा सन् २००७ मा प्रकाशित हुलाक टिकटमा नेपालका तर्फबाट मायादेवी र अशोकस्तम्भ तथा श्रीलंकाको तर्फबाट गौतम बुद्धको पवित्र दन्तधातुको तस्वीर राखियो । २००६ मा नेपाल–रूस दौत्य सम्बन्धको स्वर्ण जयन्तीका अवसरमा नेपालको तर्फबाट स्वयम्भू महाचैत्य र रूसको तर्फबाट भृकुटीले तिब्बत लगेको ‘झन् झू’ (काठको बुद्ध मूर्ति) अंकित टिकट निकालियो ।

२००६ मै नेपाल–जापान दौत्य सम्बन्धको स्वर्ण जयन्तीको अवसरमा नेपालको तर्फबाट सगरमाथा र पाँचतले मन्दिर तथा जापानको तर्फबाट माउन्ट फुजि र होर्यू–जी मन्दिर अंकित टिकट निकालियो । माउन्ट फुजि र होर्यू–जी मन्दिर बौद्ध धर्मसँग सम्बन्धित सम्पदा हुन् ।

नेपाल–चीन दौत्य सम्बन्धको स्वर्ण जयन्तीको अवसरमा २०१५ मा प्रकाशित हुलाक टिकटमा भने कलाकार अरनिकोले चीनमा बनाएको श्वेत प्यागोडा राखिएको छ ।

नेपालले गरे हुने
गुयना, लाइबेरिया, सुरिनाम, मोजाम्बिक, घाना, नेदरल्यान्ड्स, सेन्ट भिन्सेन्ट, गाम्बिया, ग्रेनाडा, ताजिकिस्तान, यमन, नाउरु, नामिबिया, होन्डुरस, लेसोथो, पाराग्वे, निकारागुवा, हैटी, युगान्डा, मोर्डोभा, अल्जेरिया, रस अल खैमा, मरिसस, तोगो, सोलोमन आइसल्यान्ड, माइक्रोनेशिया जस्ता गैर–बौद्ध देशहरूले बुद्ध र बौद्ध विषयवस्तुमा हुलाक टिकट प्रकाशित गर्नु सामान्यतः आश्चर्यको कुरा हो ।

बुद्धका विषयवस्तु मार्फत विश्वमा आफ्नो फैलावट बढाउन नेपालले अरूका सम्पदालाई पनि स्थान दिएर सहृदयता देखाउनुपर्छ ।

नेपालले क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा र कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा लगायतका बौद्ध स्थलहरूलाई टिकट मार्फत प्रकाशमा ल्याउन ढिला भइसक्यो । नेपाल, भारत र तिब्बत (चीन) सँग प्रत्यक्ष जोडिएका शान्तरक्षित, पद्मसंभव, कमलशील, अतीस दिपंकर श्रीज्ञान, मार्फा, नारोपा, मिलारेपा आदि व्यक्तित्वहरूका मुहार अंकित टिकटहरू पनि प्रकाशन हुनसकेका छैनन् ।

जातक कथा र बुद्ध जीवनीले पनि अहिलेसम्म स्थान पाएका छैनन् । गौतम बुद्धले बाल्यकालमा जामुनको रूखमुनि प्रथम ध्यान लाभ गरेको क्षण महत्वपूर्ण र चर्चित भए पनि आजसम्म यसले हुलाक टिकटमा स्थान पाएको छैन ।

प्रतिकृया दिनुहोस