क्यापासिटर ब्यांक नराख्ने उद्योगको विद्युत् काटिने
नेपाल विद्युत् प्राधिकरणले क्यापासिटर ब्यांक नराख्ने उद्योगमा विद्युत् काटिने जनाएको छ ।
उद्योगले क्यापासिटर ब्यांक नराख्दा तराईका जिल्लामा विद्युत् आपूर्तिमा समस्या देखिएकोले प्राधिकरणले उक्त निर्णय गरेको हो ।
भोल्टेजको गुणस्तर कायम गर्न र उद्योगमा विद्युत् लोडको मागलाई सन्तुलन बनाउन क्यापासिटर ब्यांक राख्ने गरिन्छ ।
विद्युत् वितरण विनियमावली–२०६९ ले ५ हर्स पावरभन्दा बढी क्षमताको विद्युत् मोटर वा वेल्डिङ मेसिन भएका ग्राहकले अनिवार्य क्यापासिटर ब्यांक राख्नुपर्ने व्यवस्था गरेको छ । तर, विनियमावली विपरित अधिकांश उद्योगले क्यापासिटर ब्यांक राखेका छैनन् ।
जसकारण उद्योग स्वयंले र आमउपभोक्ताले विद्युत् आपूर्तिमा भोल्टेजको समस्या व्यहोरिरहेका छन् ।
प्राधिकरणको प्राविधिक टोलीले पूर्वी नेपालका १४० उद्योगको स्थलगत निरीक्षण गर्दा ४३ वटा उद्योगले मात्रै क्यापासिटर ब्यांक राखेको फेला पारेको थियो ।
उद्योगलाई निश्चित समय दिएर क्यापासिटर ब्यांक राख्न अनिवार्य गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।