फिफा विश्वकप आजदेखि
प्रत्येक ४ वर्षमा आयोजना हुने विश्वकप फुटबल आजबाट शुरु हुँदैछ । रुसमा आयोजना हुन लागेको २१ औं संस्करणको फिफा विश्वकप–२०१८ को पहिलो खेल नेपाली समयअनुसार राति ८ः४५ बजे शुरु हँदैछ ।
प्रतियोगिताको उद्घाटन खेल साउदी अरब र आयोजक रुसबीच लुझनिकी रंगशालामा हँुदैछ । ३२ देशका टिम सहभागी विश्वकपको पहिलो खेल शुरु हुनु अघि करिब ३० मिनेटको उद्घाटन कार्यक्रम हुनेछ ।
उद्घाटन सत्रमा करिब ५ सय डान्सर, जिम्न्यास्ट र ट्रयाम्पोलोनिस्टले आफ्नो कला प्रस्तुत गर्नेछन् । पप गायक रोबी विलियम्स र रुसी युवा कलाकार आइडा गारिफुलिनको विशेष प्रस्तुति समेत हुनेछ ।
‘रंगशालामा उपस्थित ८० हजार दर्शक र विश्वका करौडौं दर्शकको अगाडि प्रस्तुति दिन पाउँदा म आफूलाई भाग्यमानी सोचिरहेको छुँ,’ गायक विलियम्सले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग भनेका छन् ।
सन् १९९० को इटली विश्वकपमा भाग लिइसकेका ओपेरा गायक प्लेसिडो डोमिङले पनि उदघाटन सत्रमा आफ्नो कला प्रदर्शन गर्नेछन् । उनलाई लुसियानो पाभारोटी र जोस कारेरासले साथ दिनेछन् । पेरुका हुँवा डिएगो फ्लोरेजको पनि प्रस्तुति हुनेछ ।
आजको खेलमा आयोजक रुस साउदीभन्दा बलियो मानिन्छ । तर, विश्वकप तयारीका क्रममा इटलीसँग अभ्यास खेल खेलिसकेको साउदीलाई उसले कमजोर भनेको आँकेको छैन ।
चिलीलाई २०१६ मा कोपा अमेरिकाको उपाधि दिलाउने स्पेनिस प्रशिक्षक हुँवा आन्टोनियो पिजीले विगत ६ महिनादेखि साउदीको टिम सम्हालेका छन् । अर्जेन्टिनामा जन्मिए पनि स्पेनबाट फुटबल खेलेका पिजीको आगमनपछि अल–अख्दर टिममा धेरै सुधार देखिन्छ । साउदीको विश्वकपमा
अहिलेसम्मको उत्कृष्ट प्रदर्शन भनेको १९९४ को विश्वकप हो । अमेरिकामा आयोजित उक्त विश्वकपमा साउदी दोस्रो चरणमा प्रवेश गरेको थियो।
जारी विश्वकपमा रुस फिफा वरियतामा सबैभन्दा पछाडिको टिम हो । फिफा वरियतामा ६६ औं स्थानमा रहेको रुस सन् २००८ को युरो च्याम्पियनसिपमा सेमिफाइनल प्रवेश गरेको थियो । त्यसयता रुसले बलियो प्रदर्शन गर्न सकेको छैन ।
अहिले रुसको योजना विश्वकपको सेमिफाइनलसम्म पुग्ने मात्र देखिन्छ । चेल्सीका पूर्व फुलब्याक योरी झिरकोभ रुसी टिमको सबैभन्दा प्रोफाइल खेलाडी मानिएका छन् ।
आयोजक देशको नाताले विश्वकप खेल्ने अवसर पाएको रुसले गत अक्टुबरमा दक्षिण कोरियालाई ४–२ गोलले हराएको थियो ।
त्यसैले आजको खेलमा रुसले जित्ने अनुमान फुटबल पण्डितहरुको छ । तर, यस वर्ष खेलिएको ४ वटा मैत्रीपूर्ण खेलमध्ये कुनै खेल पनि रुसले जित्न सकेको छैन ।