ब्लगबुधवार, जेठ ३०, २०७५

न्यू योर्कमा बज्राचार्य मुकुट

कनकमणि दीक्षित

पञ्चबुद्ध सुसज्जित यी पाँच मुकुट (‘मुखः’) ले आजसम्मको बज्रयान निरन्तरता प्रस्तुत गरिरहेछन् ।

विश्वकै महत्वपूर्ण मानिएको संग्रहालय हो, न्यू योर्क शहरको ‘द मेट्रोपोलिटन् म्यूजियम अफ् आर्ट’ (‘द मेट’) । यहाँ बेलाबखत नेपाली सामग्री पनि पुग्ने गर्छन्, कुनै सही रास्ताबाट त कुनै गलत बाटो गरी ।

एक दशकअघि म्युजियमको भण्डारमै पुगेका इतिहासविद् डा. रमेश ढुंगेलले नेपालबाट लापता पारिएका कैयन् मूर्तिको बारेमा पुस्तक नै प्रकाशित गरे । झण्डै चार दशकअघि भिक्षु कृष्णमानले आफ्नो निजी पहलमा नौमती बाजाको पूरै सेट ‘द मेट’ लाई सौगातस्वरुप दिएका थिए ।

डिसेम्बर २०१८ सम्म ‘द मेट’ ले एक उत्कृष्ट र सनसनी नै ल्याउने खालको प्रदर्शनी गर्दैछ, जसको शीर्षक छ, ‘क्राउन्स् अफ् द बज्र मास्टर्स – रिचुअल आर्ट अफ् नेपाल ।’ यो प्रस्तुति तयार पारेका हुन्, म्युजियमका दक्षिण र दक्षिणपूर्व एशियाली विभाग प्रमुख जन् गायले ।

यी तिनै जन् गाय हुन् जसले गत महीना पुरातत्व विभागसँगको सहकार्यमा ‘द मेट’ बाट चोरी भएका दुइटा मूर्ति (शाक्यमुनि र उमामहेश्वर) नेपाल फिर्ता ल्याएका थिए ।

‘बज्र मास्टर्स’ को प्रदर्शनीका लागि म्युजियमको एउटा पूरै कक्ष छुट्याइएको छ, जहाँ स्पटलाइट मुनि राम्ररी डिस्प्ले भएका उपत्यकाका बज्राचार्य गुभाजुहरुले लगाउने मुकुट (‘मुखः’) हरू टलक्क टल्केका छन् । दिनहुँ हजारौंले नेपालमण्डलको प्राचीन संस्कृति र बज्रयान आध्यात्मका प्रतीक यी मुकुटहरू नियाल्छन् ।

गहिरो अध्ययन सहित यो प्रस्तुति तयार पार्ने जन् गाय आफैं रोमाञ्चित देखिन्छन्, विषयवस्तुसँग । यी मुकुटहरूको परम्परागत अर्थ के हो ? दक्षिणएशियाको इतिहाससँग यिनीहरूको सम्बन्ध के छ ? र बज्रयान बुद्धमार्गीहरूको जगेर्ना नेपालमण्डल (उपत्यका) मा कसरी हुन पुग्यो ? प्रश्नहरु उब्जिन्छन् ।

बुद्धमार्गी बज्रयान हाँगो आजको बिहार, बंगाल र उडिसा क्षेत्रसँगै नेपालमा ८औं शताब्दीतिर शुरु भएर करीब चार–पाँच शताब्दी एकदमै अगाडि बढ्यो । १२औं शताब्दीको शुरुआततिर विभिन्न कारणले गंगा मैदान र उडिसामा बज्रयान ओरालो लाग्यो ।

त्यतिबेला बज्रयानको आश्रय थलो बन्न पुग्यो नेपालमण्डल । “र, आज पनि बज्रयानको केन्द्रविन्दु रहेको छ काठमाडौं उपत्यका” जन् गाय भन्छन्, “उपत्यकाका बज्राचार्य समुदायले धेरै पुरानो यो परम्परालाई निरन्तरता दिएका छन् र उनीहरूको पूजाआजामा प्रयोग हुने मुकुटहरूले पनि बज्रयानसँग हामीलाई जोडेको छ ।”

यी मुकुट लाम्चो आकारका छन्, निधारदेखि शिखरशैलीको बनावट छ । सुनको लेप लागेको पित्तलको ‘बेस’ मा विभिन्न आकार कुँदिएका छन्, मुख्यतः पञ्चबुद्ध (वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अमिताभ र अमोघसिद्धि) का स–साना मूर्तिहरू । हरेक मुकुट बेग्लाबेग्लै बान्कीका भए पनि मणि र पुष्पकमलको आकारबाट सुसज्जित छन् भने हरेकको टुप्पामा बज्र रहेको छ ।

जन् गायको भनाइमा एजन्ता र एलोराको भित्तामा कुँदिएका चित्रहरूमा राजारजौटाहरूले जुन खालको मुकुट लगाएको देखिन्छ, यसैको निरन्तरता हुन सक्छ आज हामीमाझ रहेका बज्राचार्य मुकुटहरू । यसैगरी विभिन्न देवदेवीका मूर्तिहरूमा देखिने ‘क्राउन’ हरूको निरन्तरताको रुपमा पनि बुझ्नुपर्ने हुन्छ यी मुकुटहरूलाई ।

“विभिन्न पूजाआजा, चाडपर्वमा गुभाजुहरूले मुकुट लगाउँदाको क्षणसम्म ‘बोधिसत्व’ को अनुभूति र प्रतिनिधित्व गरेको बुझिन्छ”, भन्छन् जन् गाय । जबकि, बुद्ध भगवान (शाक्यमुनि र मैत्रय लगायत) का शिरमा मुकुट लगाइएको पाइँदैन । बोधिसत्वको मूर्तिमा यस्तो पाइनुमा भने, “शायद बोधिसत्वलाई आम मानिस र श्रद्धालु नजिक देखाउन राजारजौटाहरूले लगाउने मुकुट प्रयोग हुने परम्परा बस्न गयो”, भन्छन् अनुसन्धानकर्ता गाय ।

‘द मेट’ मा प्रदर्शित यी पाँच मुकुट कुन बाटो भएर यहाँ आइपुगे, विचारणीय छ । सन् ११४५ को भनेर एउटा मूर्तिमा अंकित छ । दुइटा मूर्ति म्युजियमको तिब्बती कलाको संग्रहमा फेला पारे अनुसन्धानकर्ता गायले– जसलाई लडाकूले लगाउने मुकुट ठानिएको रहेछ । यो प्रस्तुतिको दौरानमा मात्र बज्राचार्य मुकुट भन्ने बुझियो ।

आज काठमाडौं उपत्यकाका बज्राचार्यहरूले प्रयोग गर्ने मुकुटहरूले एक हजार वर्षभन्दा लामो दक्षिण एशियाली र नेपाली इतिहास समेटेका छन् । बज्राचार्य मुकुटको यो प्रदर्शनी नेपाल ल्याइए ऐतिहासिक यो सम्बन्ध बुझ्न अझै सहज हुनेथियो ।

प्रतिकृया दिनुहोस