अमेरिका जान लागेका म्याग्दीका १३ जना नाइजेरियामा अलपत्र
अमेरिका जानका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् ।
दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै नाइजेरिया पुगेका म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका युवाले दिएको जानकारीअनुसार दलालले नाइजेरियामा पुर्याएका म्याग्दीका १३ सहित २३ जना नेपाली युवालाई लागोसको एक होटलमा बन्धक बनाएका छन्।
करीब २२ महिना अगाडि हवाई र पदैल यात्रा गरी नाइजेरिया पुगेका युवाले घरपरिवारमा सम्पर्क गरेपछि घटना सार्वजनिक भएको होटलमा रहेका युवाले पठाएको विवरणमा उल्लेख छ । नाइजेरियन दलालसँगै रहेका नेपाली दलालले समेत युवालाई होटलबाट बाहिर आउन नदिएको नाम उल्लेख नगरिदिन अनुरोध गर्दै ती युवाले जानकारी दिएका छन् ।
बन्धक बनाइएका युवा नाइजेरियाबाट अमेरिकातर्फ प्रस्थान गर्ने भएकाले पनि आफ्नो नामसहित पासपोर्टको विवरणसमेत सार्वजनिक नगर्न अनुरोध गरेका छन् ।
अवैध मार्गबाट करीब रु ३५ लाख खर्च गरी अमेरिका पुग्न चाहने युवाले विभिन्न देशका तस्करले तोकेको ठाउँमा मोटो रकम बुझाउनुपर्छ । सम्झौताअनुसार रकम बुझाउन नसक्नेलाई होटलमै बन्धक बनाएर राखिएको ती युवाले बताएका छन् ।
नेपालबाट पठाउने एजेण्टलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली एजेण्टलाई पक्राउ गरेपछि थप जानकारी लिने प्रयास भइरहेको परिवार स्रोतलाई उद्धृत गर्दै अमेरिकामा रहेका एक म्याग्देलीले जानकारी दिए ।
उनले आफू पनि हिँडेर आएको बताउँदै बाटो जोखिमपूर्ण भए पनि नेपालीको आकर्षण नघटेको बताए ।
बन्धक बनाइएका युवाले विभिन्न अन्तर्राष्ट्रियस्तरका रेमिट् कम्पनीमार्फत परिवारबाट रकम मगाइरहेका छन् । भारत, ब्राजिल, इथोपिया, बोलिभिया, पेरू, इक्वेडर, पानामा हुँदै करीब १२ देशका समुद्र र जंगलको कठोर यात्रा पार गरी मेक्सिकोमा पुगेपछि तस्करले अन्तिम सेटिङ गरेबापत रकम माग्ने गर्छन् ।
-रासस