टिप्पणीसोमवार, जेठ २८, २०७५

‘विकास’ को बलमिच्याइँ

चन्द्रकिशोर

विकासको लागि अपनाइएको पारामा परिवर्तन अत्यावश्यक छ ।

देवाही गोनाही नगरपालिका, रौतहटका नगरप्रमुख धर्मेन्द्र पटेलसमक्ष सडक विस्तारले धरहरी गाउँमा पारेको समस्याबारे जानकारी गराउँदै वडा–७ का वडाध्यक्ष अनिल झा । तस्वीरः चन्द्रकिशोर

गाउँ देहातमा अहिले पनि यस्ता मान्छेहरू भेटिन्छन् जो आफ्नो कुरा अथ्र्याउन कुनै लोककथा वा आहान प्रयोग गर्छन् । तिनै आहान मार्फत उनीहरू गम्भीर कुरालाई पनि बडो सहज र सरल शब्दमा प्रस्तुत गरिदिन्छन् । तर त्यो बुझ्न तपाईंले स्थानीय समाजको परिवेश जानेको हुनुपर्छ ।

बाराको सिमरौनगढमा आफ्नो आँप बगैंचाको रखवाली गरिरहेका एक किसानले यस्तै एउटा लोककथा सुनाए, जसबाट अहिलेको हाम्रो विकास बुझ्न सजिलो हुन्छ । विकास के हो ? कसलाई चाहिएको छ विकास ? यो कुरा बुझ्न ती किसानको लोककथा सुनौं ।

राजाले एउटा भव्य पोखरी खनाउने भएछन् । आदेश पाएपछि हर्ताकर्ताहरू काममा जुटे । समस्या यो आयो कि पोखरी बनाउने भनिएको स्थानमा एउटा फकिरको झाेपडी परेछ । सिपाहीहरूले फकिरलाई झाेपडी कतै अन्तै सार्न आदेश दिए ।

तर जति दबाब दिंदा पनि फकिरले झाेपडी भत्काउने सुरसार देखाएनन् । अन्तिम पटक ताकेता गर्न पुगेका सिपाहीहरूलाई फकिरले भनेछन्, “पहिला मलाई यो राज्यको कुनै जान्नेबुझ्ने व्यक्तिसँग कुरा गराऊ ।”

आखिरमा राजा आफैं फकिर छेउ पुगेर पोखरीको महत्वबारे व्याख्या सुनाए । राजाको लामो व्याख्या सुनिसकेपछि फकिरले भने, “तपाईंलाई आफ्नो दरबार जति प्यारो छ, मलाई यो झाेपडीको त्यति नै माया छ । तपाईंलाई आफ्नो दरबारमा निद्रा लाग्छ कि लाग्दैन, मलाई थाहा छैन, तर म यही झाेपडीमा गहिरो निद्रा सुत्छु । यस्तो आनन्ददायी झाेपडीलाई म कहाँ र कसरी सारुँ ?”

राजाले फेरि पोखरी बनेपछि राज्य कसरी लोककल्याणतिर लम्कन्छ भन्ने बेलीविस्तार लगाए । यो सुनेपछि गम्भीर भएका फकिरले भने, “लोककल्याणको लागि पोखरी खनाउन थालिएको हो र यसबाट राज्यलाई भलो हुन्छ भने म आफ्नो झाेपडीको बलिदान दिन राजीखुशी तयार छु । त्यसबापत तपाईंसँग कुनै मुआब्जा पनि माग्दिनँ । राज्यको एउटा नागरिक भएको नाताले मलाई इज्जतपूर्वक यो कुरा भनिएको भए अहिले तपाईं स्वयम् यहाँसम्म कष्ट गर्नुपर्ने थिएन ।”

राजाले कुरो बुझेर आफ्ना हर्ताकर्ता र सिपाहीहरूबाट भएको अशिष्टताको लागि माफी मागे । फकिरले आफ्नो झाेपडी अन्तै सारे । त्यो ठाउँमा विशाल पोखरी बन्यो ।

तराई–मधेशका गाउँतिर अहिले जताततै सडक विस्तार भइराखेको छ । यस वर्षको बजेट खर्च गर्न सबै स्थानीय तहलाई हतारो छ । यसको लागि सबभन्दा सजिलो तरिका भएको छ– सडकमा माटो पुर्ने काम । पहिला भन्दा नयाँ के हुँदैछ भने सडकलाई चौडा पनि पारिंदैछ ।

निर्वाचित जनप्रतिनिधि नभएको समयमा सडकमा माटो पुर्ने काम त हुन्थ्यो, तर चौडातिर ध्यान दिइँदैनथ्यो । अहिले चौडा समेत गरिंदा दुवैतर्फ घरहरू भत्काउने काम पनि भएको छ । विकास घरमै ठोक्किन आइपुग्दा कतिले विना मुआब्जा आफ्नो नम्बरी जग्गा छाड्नु परेको छ ।

कम घडेरी हुनेहरूको उठिबास भएको छ । विकासले टोकिदिएका घरहरू मर्मत गर्न पनि गाह्रो छ । एक त सबैसँग त्यसको लागि आवश्यक स्रोत छैन । अर्को, गाउँहरू युवाविहीन भएकोले जनशक्ति नै छैन ।

पर्साका दलित अधिकारकर्मी शिवनारायण रामले निर्वाचितहरू आएपछि घर कोतरिने र विस्थापित हुनेमा दलित धेरै परेको बताए । हिजो कर्मचारीतन्त्रले विकासको नाममा गर्न नसकेको साहस अहिलेका निर्वाचितहरूले गरेको उनको भनाइ छ । किनारामा पारिएका भुईं सतहको मान्छे वा सामान्यजन जे भनिए पनि त्यो वर्गका अगुवा रामले जब ‘हो, हामी गरीब छौं, तर हाम्रो पनि इज्जत छ’ भने म भित्रैदेखि हल्लिएँ ।

विकास कसैको दया–माया या दान होइन, जनताको अधिकार हो । र, यो जबर्जस्ती थोपर्न मिल्ने चिज पनि होइन । तर, भई के राखेको छ भने कतिपय ठाउँमा मनपरी तरिकाले डोजर चलाउने गरिएको छ । सडकलाई गाउँको आवश्यकता भन्दा बढी चौडा गरिंदैछ । त्यसको पछाडि धेरैजसो ठाउँमा छोटो समयमै ठूलो बजेट सक्ने चलखेलको चाहना त कतै मिचेर पीर पार्ने पूर्वाग्रहले काम गरेको देखिन्छ ।

कथामा राजा विवेकी हुनाले फकिरले विकासका नाममा अपमानित हुनुपरेन, तर मधेशका गाउँघरमा अहिले जताततै विकासका पीडितहरू भेटिन्छन् ।

जुन स्थानीय तहलाई आफ्नो मानियो, त्यसले नै बलजफ्ती गर्दा धेरैको चित्त कुँडिएको छ । विकास ल्याउन हतारिएकाहरूले जनतालाई अपमानित गरिरहेका छन् । आजका जनप्रतिनिधिले त हिजोको बलमिच्याइँको शैली छाड्नुपर्ने होइन र ?

प्रतिकृया दिनुहोस