रिपोर्टआइतवार, जेठ २७, २०७५

फिलिपिन्सको माओवादी युद्धः लड्दालड्दै ५० वर्ष

रामेश्वर बोहरा

फिलिपिन्समा करीब ४५ हजारको ज्यान लिइसकेको माओवादी विद्रोहले ५० वर्षमा पनि गन्तव्य पहिल्याउन सकेको छैन ।

फिलिपिन्समा युद्धरत न्यू पिपल्स आर्मी (एनपीए) का लडाकु । तस्वीरः एएफपी

अमेरिकाको अन्तरिक्ष कार्यक्रम (नासा) को मानव सहितको यान चन्द्रमामा अवतरण गरेर फर्केको ५० वर्ष पूरा हुँदैछ । चन्द्रमाको सतहमा नील आर्मस्ट्रङले पहिलो मानव पाइला राख्नुभन्दा केही महीना अघि दक्षिण पूर्वी एशियाली मुलुक फिलिपिन्समा माओवादीहरूले सशस्त्र संघर्षबाट सत्ता प्राप्त गर्न ‘जनयुद्ध’ शुरू गरेका थिए ।

धनी र गरीबबीच अचाक्ली ठूलो खाडल रहेको टापुहरूको यो मुलुकमा निरन्तर युद्ध लडिरहेका माओवादीहरूले ५० वर्षमा न सत्ता–प्राप्तिको लक्ष्य पूरा गर्न सकेका छन् न त युद्ध त्याग्न ।

गएको पाँच दशकमा नासाले चामत्कारिक प्रगति गरेको छ । अमेरिकीहरू मंगल ग्रहमा समेत बस्ती बसाउने सुरसारमा जुटिसके । ४५ हजार भन्दा बढी ज्यान गइसकेको फिलिपिन्सको माओवादी विद्रोह भने अझै ‘छापामार युद्ध’ मै छ ।

फिलिपिन्स स्वयम् पनि अहिले एशियामा तीव्र आर्थिक–वृद्धि हासिल गरिरहेको मुलुकमा गणना हुन्छ, एशियाकै पुरानोमध्येको फिलिपिनी माओवादी विद्रोहको गन्तव्य भने अन्योलमै छ ।

युद्ध–वार्ता–युद्ध
सन् १९४२ मा जापानले उपनिवेश बनाएपछि त्यस विरुद्ध लड्न शुरू भएको गुरिल्ला युद्ध (हुक्कलाहप विद्रोह) सँगै फिलिपिन्समा कम्युनिष्ट आन्दोलन शुरू भएको हो । सन् १९५४ मा स्वतन्त्र नहुँदासम्म फिलिपिन्सको आफ्नै मजबूत सैन्य संगठन थिएन ।

त्यही कारण, स्वतन्त्रतापछिको सरकारले अमेरिकाको सैन्य सहयोग लिएर कम्युनिष्ट विद्रोहमाथि दमन शुरू गर्‍यो । त्यो दमन खेप्न विद्रोहीहरू पहाडी भूभागमा केन्द्रित भए । फिलिपिन्समा ‘माओवादी जनयुद्ध’ को औपचारिक चरण भने सन् १९६९ मा शुरू भएको मानिन्छ ।

सन् १९६९ सम्ममा भूमिगत रूपमै निकै शक्तिशाली बनेको ‘कम्युनिष्ट पार्टी अफ फिलिपिन्स’ (सीपीपी)को उद्देश्य ‘कम्युनिष्ट रिभोलुसन’ नै थियो । ‘न्यू पिपल्स आर्मी’ (एनपीए) सीपीपीको महत्वपूर्ण सैन्य ‘विङ’ थियो ।

तर, सीपीपीको प्रभावकारिता नदेखिएको भन्दै सन् १९६९ मा अलग हुने निर्णय गरेको एनपीएले पार्टीको सिद्धान्तका रूपमा रहेको ‘माक्र्सवाद–लेनिनवाद’ को साटो ‘माक्र्सवाद–लेनिनवाद–माओवाद’ अँगाल्ने निधो गर्‍यो । अनि शुरू भयो– रक्तरंजित छापामार युद्ध ।

त्यसको तीन वर्षमा राष्ट्रपति फर्डिनान्ड मार्कोसले ‘मार्शल ल’ लागू गरेपछि फिलिपिन्समा हिंसा आकाशियो । सन् १९८६ मा पहिलो पटक युद्धविराम र वार्ताको थालनी नहुँदासम्म यो सिलसिला चलिनै रह्यो ।

सरकारसँग वार्ता गर्ने पहिलो टोलीको नेतृत्व सतुर अकम्पोले गरेका थिए । भूमिगत विद्रोह त्यागेर खुला राजनीतिसँगै पत्रकारितामा समेत सक्रिय सतुर अहिले ‘नेशनल डेमोक्रेटिक फ्रन्ट अफ दि फिलिपिन्स’ (एनडीएफपी) मा आबद्ध छन् ।

‘माक्र्सवाद–लेनिनवाद–माओवाद’ कै सिद्धान्त अँगालेको यो फ्रन्टले ‘माओवादी जनयुद्ध’ लाई समर्थन गर्ने फिलिपिन्सका सबैजसो कम्युनिष्ट घटकको छाता संगठनको काम गरिरहेको छ । विद्रोहीका तर्फबाट सरकारसँग वार्ता गर्ने भूमिकामा पनि एनडीएफपी नै छ ।

गएको वैशाख अन्तिम साता राजधानी मनिलाको केजन सिटीस्थित घरमा भेट्दा ७९ वर्षीय सतुरले पहिलो वार्ताकाल सम्झ्ँदै हिमाल सँग भने, “हामी परिवर्तन र दीर्घकालीन शान्तिको आशा सहित वार्तामा बसेका थियौं, तर सरकारले युद्धविरामकै बीच नरसंहार गरेपछि वार्ता भंग भयो ।”

त्यसपछि सन् १९९२ मा भएको वार्ता पनि सफल भएन । सन् १९९५ मा शुरू भएको वार्ता सन् १९९८ मा ‘मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्ने’ सम्झाैतामा पुग्यो । तर, वार्ताका सहजकर्ताहरूकै हत्या भएपछि त्यो सम्झाैता भंग भयो ।

सन् २००१ पछि सरकार र एनडीएफपीबीचको वार्तामा नर्वेले सहजकर्ताको भूमिका निभाइरहेको छ । यसबीचमा युद्धविराम हुने र तोडिने क्रम जारी छ । माओवादी विद्रोहको राजनीतिक समाधान गरी दीर्घकालीन शान्ति स्थापना गर्ने नारा लगाएर राष्ट्रपति बनेका रोड्रिगो दुतेर्ते पद सम्हालेपछि बदलिएका छन् । उनी भन्न थालेका छन्, “म शान्ति चाहन्छु, तर संविधानको उल्लंघन र मेरा सुरक्षाकर्मीमाथिको आक्रमण मलाई सह्य छैन ।”

फेरि युद्धमै !
कुनै बेला फिलिपिन्सको धेरै भू–भागमा प्रभाव जमाएको माओवादी विद्रोह अहिले मिन्दनाऊ प्रान्तमा केन्द्रित छ । माओवादी विद्रोहका क्रममा सुरक्षाकर्मी, विद्रोही र सर्वसाधारण समेत गरी करिब ४५ हजार जना मारिएको फिलिपिनी सेनाको आँकडा छ ।

मृतक संख्या योभन्दा धेरै भएको गैर–सैनिक क्षेत्रको अनुमान छ । राष्ट्रपति दुतेर्ते त्यही मिन्दनाऊको टापु शहर डेबाओमा चार कार्यकाल मेयर थिए । राष्ट्रपति निर्वाचनमा उनले आफू ‘माओवादीको मित्र’ र ‘समाजवादी नेता’ भएको बताउँदै विद्रोहको राजनीतिक समाधान खोज्ने बाचा गरेपछि माओवादीहरूको समेत समर्थन पाए । सतुर भन्छन्, “तर, राष्ट्रपति बनेपछि उनले आफू राष्ट्रिय सेनाको कमाण्डर पनि भएको र आफ्ना सिपाहीलाई मार्ने कुरा सह्य नहुने बताउन थाले ।”

विना पूर्व शर्त शान्ति वार्ताको कडी जोड्ने इच्छा देखाएका माओवादी विद्रोहीहरू राष्ट्रपति दुतेर्तेका सल्लाहकार जिसस डुरेजाले एक अन्तर्वार्तामा ‘वार्ता शुरू हुनुअघि अर्को पक्षले कुनै आक्रमण गर्न नहुने र जबर्जस्ती चन्दा असुली बन्द गरिनुपर्ने’ बताएपछि बिच्किएका छन् ।

दुतेर्तेका प्रवक्ता ह्यारी रोकले ‘राष्ट्रपतिले विद्रोहीहरूले संयुक्त सरकारमा सहभागी हुने योजना त्याग्नुपर्छ भन्ने चाहेको’ बताएपछि माओवादीहरूले अरू ‘५० वर्ष लड्न तयार रहेको’ धम्की दिन थालेका छन् ।

केही महीना अघि फ्रेन्च समाचार संस्था, एएफपीका संवाददाता सेसिल मोरेलाले लिएको अन्तर्वार्तामा ७० वर्षीय विद्रोही नेता जैम पद्विला (कमरेड डिएगो) ले आफूहरूसँग अरू १०० वर्ष लड्न परे पनि धान्ने युवा समूह भएको बताएका थिए ।

फिलिपिन्सका ‘मोस्ट वान्टेड’ उनले राष्ट्रपति रोड्रिगो दुतेर्तेको शान्ति वार्ता भंग गर्ने धम्कीप्रति आफूहरूलाई कुनै चासो नभएको पनि बताएका थिए । “हामी शान्ति वार्ताको निरन्तरता चाहन्थ्यौं, तर सरकार लड्न तयार भयो” एनपीएको महत्वपूर्ण सैन्य विङका कमाण्डर पद्विलाले भनेका थिए, “५० वर्षदेखि लडिरहेकै छौं, अरू ५० वर्ष लड्नु परे के फरक पर्छ र !”

फिलिपिन्सका माओवादीहरूले ‘जनयुद्ध’ शुरू गरेपछिका सात वर्ष चीनबाट आर्थिक सहयोग पाए । त्यो सहयोग बन्द भएपछि उनीहरूले व्यवसायीहरूसँग बलपूर्वक ‘क्रान्तिकारी कर’ असुली गर्न थाले ।

उनीहरूले ठूल्ठूला पावर प्लान्टदेखि स–साना सुँगुर फार्म र स्थानीय राजनीतिक कार्यकर्ताबाट समेत दुई प्रतिशत ‘क्रान्तिकारी कर’ उठाउँदै आएका छन् । विद्रोहीहरूले प्रत्येक वर्ष दुई अर्ब पेसो (रु.४ अर्बभन्दा बढी) ‘क्रान्तिकारी कर’ उठाउने गरेको फिलिपिनी सेनाको आँकडा छ । ग्रामीण इलाकामा केन्द्रित विद्रोहीहरूले किसानलाई खेतीपातीमा सघाउने हुँदा उनीहरूलाई समाप्त पार्न सजिलो छैन ।

फिलिपिन्सको गरीबी माओवादी विद्रोहको अर्को आधारभूमि हो । तीव्र आर्थिक वृद्धि हासिल गरिरहेको मुलुक भए पनि प्रत्येक पाँचमा एक जना फिलिपिनोको दैनिक आय एक अमेरिकी डलरभन्दा कम रहेको सरकारकै तथ्यांकले बताउँछ ।

अर्थात्, दुई करोड २० लाखभन्दा बढी फिलिपिनो गरीबीको रेखामुनि छन् । एक समय माओवादी विद्रोहमा सामेल भएकी फिलिपिन सेन्टर फर इन्भेस्टिगेटिभ जर्नालिज्म (पीसीआईजे) की कार्यकारी निर्देशक मलु मंगहस सरकारको नीतिले विद्रोहीलाई सघाउ पुर्‍याइरहेको संकेत गर्छिन् । “गरीबीको समस्यामा सरकारलाई कुनै चासो छैन” उनी भन्छिन्, “राष्ट्रपति चीनबाट पैसा ल्याएर बेरोजगारी हटाउने सपना बाँड्नमै तल्लीन छन् ।”

माओवादीहरू टुट्दै गएको शान्ति प्रक्रियालाई जोड्न अग्रसर होलान् या युद्धकै बाटोमा जालान् ? पूर्व विद्रोही नेता सतुर यो कुरा अब राष्ट्रपति दुतेर्तेमै निर्भर रहने बताउँछन् ।

राष्ट्रपतिले चुनावताका गरेको बाचा अनुसार सामाजिक–आर्थिक रूपान्तरण र राजनीतिक तथा संवैधानिक सुधारमा रुचि देखाए आशावादी हुन सकिने उनले बताए । “फिलिपिन्सको विद्रोह ५० वर्ष बित्दा पनि उपलब्धिबाट धेरै टाढा छ” सतुर भन्छन्, “सँगै, पार्टी नेतृत्व र कार्यकर्तामा युद्धलाई निरन्तरता दिनुपर्छ भन्ने सोच पनि कायमै देखिन्छ ।”

पढ्नुहाेस् ।

फिलिपिन्समा लोकतन्त्रः पहिलो निशाना प्रेस

प्रतिकृया दिनुहोस