विश्वकप विशेषशनिवार, जेठ २६, २०७५

विश्वकप फूटबलः साना मुलुकबाट आश्चर्यको अपेक्षा

हिमालखबर

ज्ञानेन्द्र आचार्य

सेनेगल, आइसल्याण्ड, मोरक्को, ट्युनिसिया, इजिप्ट र पनामा विश्व फूटबलका यस्ता नयाँ र साना मुलुक हुन्, जसबाट उपाधिभन्दा आश्चर्यको अपेक्षा गरिएको छ ।

विजयको उल्लासः दर्शकसँग भाइकिङ सेलिब्रेसनमा रमेको आइसल्याण्ड टोली ।

विश्वकपका खेलहरू त्यो बेला झनै रोचक बन्छन् जब कमजोर ठानिएका देशका टोलीले प्रभावशाली टोली विरुद्ध अप्रत्यासित जित हासिल गर्छन् । सन् २००२ को विश्वकपमा त्यस्तै भयो, वास्तै नगरिएको सेनेगलले पहिलो खेलमै डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पराजित गर्‍यो ।

विश्वकपमै पहिलो पटक छनोट भएको सेनेगलसँगको हार यति भारी पर्‍यो कि फ्रान्स समूह चरणबाटै बाहिरियो । विश्वकपको त्यो संस्करणमा सेनेगलको क्वार्टर फाइनल र सहआयोजक दक्षिण कोरियाको सेमिफाइनलसम्मको यात्रा धेरैका लागि अनुमान विपरीतका परिणाम थिए ।

बलिया राष्ट्रहरूका लागि स्तब्ध पार्ने यस्ता घटना खोतल्दै जाने हो भने सन् १९६६ को विश्वकपमा उत्तरकोरियाको उदाहरण पनि लिन सकिन्छ । प्रतियोगिताकै दाबेदार इटालीलाई पाखा लगाउँदै उत्तरकोरिया विश्वकपको क्वार्टर फाइनल पुगेको थियो । सन् १९९० मा क्यामरुनले अर्जेन्टिनालाई हराउनु पनि कुनै प्रत्यासित नतिजा थिएन ।

विश्वकपको २१औं संस्करण यही १४ जून (३१ जेठ) बाट रुसमा शुरु हुँदैछ । र, अहिले विश्वकपका लागि छनोट ३२ राष्ट्र लक्ष्य अनुसार तयारीमा जुटेका छन् । केही दाबेदार टिमलाई प्रमुख खेलाडीको चोटले सताएको छ भने केहीलाई टिमको तालमेल कसरी सशक्त बनाउने भन्ने चिन्ता छ ।

ब्राजिल नेइमारलाई समयमै पूर्णतः फिट देख्न चाहन्छ, साबिक विजेता जर्मनीलाई कप्तान म्यानुअल नोयरको चोटले पिरोलेको छ । अर्जेन्टिनालाई विश्वकपमा छनोटमा झैं समन्वय अभावमा नराम्रो पराजय भोग्नुपर्ला कि भन्ने डर छ ।

स्पेन, फ्रान्स लगायत उपाधिका प्रत्यासीहरू पुरानो लय ब्युँताउन चाहन्छन् । तर विश्वकपमा छनोट हुनु नै ठूलो उपलब्धि ठान्ने साना र नयाँ राष्ट्रको क्षमता पनि कम आँक्न मिल्दैन । यहाँ ‘साना’ भन्नाले भू–आकार मात्रै नभएर सानो/उदाउँदो अर्थतन्त्र एवं विश्व फूटबलमा यसअघि दरिलो उपस्थिति नदेखाएका राष्ट्रका अर्थमा प्रयोग गरिएको छ ।

समूह विभाजनका आधारमा यो विश्वकपका कुनै पनि समूह ‘ग्रुप अफ डेथ’ भन्ने खालका छैनन् । तर दोस्रो चरण आइपुग्दा भने ‘ग्रुप–डी’ लाई सबैभन्दा कठिन मानिएको छ, जहाँ अर्जेन्टिना, क्रोएसिया, नाइजेरिया र आइसल्यान्ड छन् । यीमध्ये आइसल्यान्डले पहिलो पटक विश्वकप खेल्दैछ ।

तर आइसल्यान्डको क्षमताबारे सबै जानकार छन् । आइसल्यान्ड यूरोपेली क्षेत्रको छनोट अन्तर्गत क्रोएसियाकै समूहमा थियो । र, समूह विजेता बन्दै उसले विश्वकपमा सोझै प्रवेश पाएको हो । तीन लाख ३४ हजार जनसंख्या भएको यो मुलुकले दुई वर्षअघिको यूरो कपमा क्वार्टर फाइनलमा इङ्गल्यान्डलाई पाखा लगाउँदै सनसनी मच्चाएको थियो ।

सानाका समस्या
विश्वकपमा छनोट हुने हालसम्मकै सानो देश आइसल्यान्डले पहिलो सहभागितामै कम्तीमा एउटा ‘जायन्ट किलिङ’ को लक्ष्य लिएको छ, जसको शिकार दुई पटकको विश्वविजेता अर्जेन्टिना पनि हुनसक्छ । जित पश्चात दर्शकसँग खुशी साट्ने उनीहरूको तरिका पनि गज्जबको छ, जसलाई ‘भाइकिङ सेलिब्रेसन’ भन्ने गरिन्छ ।

दक्षिण अफ्रिकालाई पराजित गर्दै विश्वकपमा छनोट भएपछि सेनेगल टोली ।

पनामा पनि विश्वकपका लागि नयाँ नाम हो । तर आइसल्यान्ड झैं पनामाबाट खेलप्रेमीले आशा गरेका छैनन् । पनामाको ‘ग्रुप जी’ बाट इङ्गल्यान्ड र बेल्जियमको दोस्रो चरण पुग्ने सम्भावना बलियो छ । त्यसैले उसको ध्यान कम्तीमा एक जित अर्थात् ट्युनिसिया विरुद्धको अन्तिम खेलमा केन्द्रित छ ।

त्यसो त ट्युनिसिया पनि विश्वकपमा बलियो टिम होइन । तर उससँग चार पटक विश्वकप खेलेको अनुभव छ । तर, कुनै संस्करणमा पनि समूह चरण पार गर्न सकेको छैन । यसपटक फिफा वरियतामा १४औं स्थानमा उक्लिएका उनीहरू पनामाका अतिरिक्त इङ्गल्यान्ड वा बेल्जियमलाई हराउँदै दोस्रो चरणसम्म पुग्ने जोडबलमा छन् ।

यसपटक २० वर्षपछि मोरक्कोले विश्वकपमा पुनरागमन गर्दैछ । त्यसकारण पनि उनीहरू दोस्रो चरण पुग्ने तर्क गरिराखेका छन् । तर यो समूह ‘बी’ मा पूर्व विश्वकप विजेता स्पेन र यूरो कप जितेको पोर्चुगल बाधक बन्न सक्छन् । तर, सन् १९९८ मा मोरक्कोलाई झन्डै समूह चरण पार गराएका मुस्तफा हाजी अहिले टिमका सहायक प्रशिक्षक छन् । उनको अनुभव हालका जोशिला खेलाडीलाई काम लाग्नेमा युभेन्टस्बाट व्यावसायिक फूटबल खेलिरहेका कप्तान मेहदी बेनासिया ढुक्क छन् ।

मोरक्कोले इरानको बाधा पनि छिचोल्नुपर्ने छ । एशियाबाट विश्वकपमा छनोट पहिलो टोली इरानले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको छ । छनोट चरणमा दुई गोल मात्र खाएको थियो । त्यो पनि अन्तिम खेलमा, जतिबेला उसले विश्वकप खेल्ने तय भइसकेको थियो । तर, इरान पनि समूह चरणभन्दा अघि कहिल्यै बढेको छैन । यसका लागि सबैभन्दा राम्रो मौका उसले अघिल्लो विश्वकपमा पाएको थियो ।

तर, अर्जेन्टिनासँगको अन्तिम खेलको अन्तिम मिनेटमा लियोनेल मेस्सीले गरेको गोलसँगै त्यो सपना तुहियो । इरान यसपटक भने चुक्न चाहँदैन । र, यसमा स्ट्राइकर सरदार अजमौन नायक बन्न सक्ने उनीहरूको अनुमान छ । रुसमै व्यावसायिक फूटबल खेल्ने अजमौन त्यहाँको हावापानी र मैदानसँग परिचित पनि छन् ।

च्याम्पियन्स लिगको फाइनलमा मोहम्मद सालह घाइते हुनु इजिप्टको लागि टाउकोदुखाइ बनेको छ । लिभरपुललाई प्रिमियर लिगमा चौथो र च्याम्पियन्स लिगमा फाइनल पुर्‍याउन उत्कृष्ट प्रदर्शन गरेका सालह यस वर्ष प्रिमियर लिगका ‘प्लेयर अफ द सिजन’ पनि चुनिएका छन् । त्यसकारण पनि समूह चरण पार गर्न सक्ने इजिप्टको सम्भावना धेरै हदसम्म सालहमै भर पर्छ । इजिप्टको समूह (ए) मा उरुग्वे, रुस र साउदी अरेबिया छन् ।

पेरु पनि ३६ वर्षपछि विश्वकप खेल्दैछ । तर, विश्वकप अघि नै कप्तान पाब्लो ग्वेरेरो डोपिङका कारण प्रतिबन्धमा पर्नुले टोलीलाई ठूलो धक्का दिएको छ । फ्रान्स, अष्ट्रेलिया र डेनमार्क भएको ‘सी’ समूहबाट शीर्ष दुईमा पर्नु पेरुका लागि ‘फलामको चिउरा’ जस्तै हो । तर विश्वकप छनोट हुनसक्ने टिमले जित्न पनि सक्ने भन्दै समर्थकहरू हौस्याउन छाडेका छैनन् ।

सेनेगल सन् २००२ मा जस्तै अनपेक्षित नतिजा निकाल्ने दाउमा छ । यसका लागि कोलम्बिया, जापान र पोल्यान्डमध्ये कुनै दुईलाई पछि पार्नुपर्नेछ । यसका लागि टोलीसँग यूरोपमा चम्केका खेलाडी पनि छन् । पुरानो अनुभवले पनि सेनेगलले दोस्रो चरण तय गरे आश्चर्य हुने देखिन्न ।

स्वाभाविक हो, ठूला र बलिया टोली उपाधिकै लागि खेल्छन् । अनुभवी टोलीको दृष्टि कम्तीमा दोस्रो चरणमा पुग्ने हुन्छ । तर, विश्वकपमा नवप्रवेशीको सपना कम्तीमा एक खेल र त्यो पनि सके बलियो टोलीलाई हराउने हुने गर्छ । यसका साथै उनीहरू विश्व फूटबल इतिहासमा यस विश्वकपमा यस्तो छाप छोड्न चाहन्छन् जसले आउँदा खेलाडीलाई हौसला र प्रेरणा प्रदान गर्न तथा फूटबलप्रेमीको मन जित्न सकोस् ।

प्रतिकृया दिनुहोस